Matra Education आइतबार, साउन १० २०८३

पढ्दै कमाउने वातावरण नभएर बिदेसिने बढे, राज्यले स्वदेशमै अवसरको सिर्जना गर्न सक्नुपर्छ

पढ्दै कमाउने वातावरण नभएर बिदेसिने बढे, राज्यले स्वदेशमै अवसरको सिर्जना गर्न सक्नुपर्छ

  • मात्र एजुकेशन
  • शुक्रबार, चैत्र २९ २०८१


काठमाडौँ- पूर्व परराष्ट्र मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेपालमा पढ्दै कमाउने वातावरण नभएर बिदेसिने बढेको बताएका छन्। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले बिहीबार आयोजना गरेको नीति बहस कार्यक्रम ‘एडुक्लेभ ३.०’ अन्तर्गत आयोजित एक प्यानल छलफलमा उनले यस्तो बताएका हुन्।

‘शिक्षाको भविष्य; राजनीतिक प्रतिबद्धता र अन्तर्राष्ट्रिय युगमा नीतिगत मार्गहरू’ भन्ने शीर्षकमा गरिएको उक्त छलफलमा ज्ञवालीका अलावा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार, ‘बडि एण्ड डाटा’ की कार्यकारी निर्देशक डा देवान राई र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई सहभागी थिए। उक्त सत्रलाई प्रसिद्ध सञ्चारकर्मी प्रमोद न्यौपानेले सहजीकरण गरेका थिए।

पूर्व मन्त्री ज्ञवालीले बसाइसराइ मानवको अन्तर्निहित गुण भएको भन्दै शिक्षाका लागि बिदेसिनुलाई नकारात्मक रूपमा मात्रै हेर्न नहुने धारणा राखे। चीनमा विश्व प्रतिष्ठित विश्वविद्यालयहरू रहेको भए पनि त्यहाँ बाट पनि अध्ययनका लागि ठुलो सङ्ख्यामा विद्यार्थीहरू बिदेसिने गरेको दृष्टान्त दिँदै उनले बिदेसिने क्रमलाई अन्यथा ठान्नुभन्दा उनीहरूले प्राप्त गरेको ज्ञानलाई नेपाल ल्याएर कसरी सदुपयोग गर्ने भन्नेमा ध्यान दिनुपर्ने बताए।

नेपालमा पढ्दै कमाउँदै गर्ने वातावरण नभएका कारण कमाइका लागि बिदेसिने धेरै भएको उल्लेख गरेका उनले एनओसि लिएर वर्क पर्मिट जसरी जाने चलन बढ्दै गएको प्रति चिन्ता व्यक्त गरे। उनले भने, “देश खत्तम भो भनेर बनाउन खोजिएको भाष्यले पनि छुटेकाहरूलाई म खत्तम नै हो कि भन्ने महसुस हुन थालेको छ। विदेश जानेहरूले त्यहाँको प्रगति देखाउने तर सङ्घर्ष नदेखाउने गरेका छन् । त्यसैले तपाईँ परामर्श व्यवसायीहरूले विदेशको यथार्थ विद्यार्थीहरूलाई देखाइदिनुपर्छ।” यसरी बिदेसिने लहर बढिरहेको समयमा कठोर कानुन बनाएर पनि विदेश जानेलाई रोक्न नसकिने भन्दै उनले विश्वमा आइरहेका नीतिगत परिवर्तनहरूले नेपाली विद्यार्थीहरू अप्ठ्यारोमा परेको भए त्यसको समाधान खोज्न तिर राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताए।

रास्वपा प्रमुख सचेतक परियारले हाम्रो शिक्षा नीतिले एउटा ठुलो समूह रोक्न नसकेको तथ्य स्विकार्नु पर्ने धारणा राखे। आफ्नै छनोटले विदेश जानेलाई जान दिनुपर्ने भए पनि यहाँ गरी खानै नपाएर जानेहरू बारे राज्य जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो । शिक्षा र समृद्धिको अन्तरसम्बन्ध बारे चर्चा गर्दै परियारले अगाडी भने, ” विश्वमा जति पनि देश बनेका छन्, ती विदेश गएकालाई फर्काएरै बनेका छन्। शिक्षाले समृद्धि ल्याउँछ भन्ने नै राज्यले बुझ्न नसक्नु हाम्रो सबैभन्दा ठुलो समस्या भयो। यो समस्याको समाधानका लागि तीन वटा सुधार आवश्यक देख्छु; शिक्षा प्रणाली र पद्धति पुनर्संरचना गर्ने, शिक्षामा हस्तक्षेप नगर्ने गर्नुपरे सुधारका लागि मात्रै गर्ने र कर्मचारीतन्त्रमा सुधार ल्याउने।” परियारले नेपालको शिक्षामा राजनीतिकरण भएको भन्ने सुनिने गरेको भन्दै त्यो राजनीतिकरण नभई विकृति करण भएको उल्लेख गरे।

अर्की प्यानलिस्ट डा राईले उन्नत कुरा सिकौँ र राम्रो अवसर लिऊँ भनेर विद्यार्थीहरू बिदेसिने गरेको बताइन् । त्यस्तै व्यक्तिगत विकासको उद्देश्य राखेर र यो बिदेसिने भिडमा म छुट्छु कि भनेर पनि जाने गरेको उनको भनाइ थियो । डा राईले फर्किने कुरा पनि व्यक्तिको आफ्नो अवस्थामा निर्भर गर्ने र फर्किनेहरूलाई यहाँ चुनौती नै चुनौती रहने बताइन्। विदेश बाट सम्भावना नै सम्भावना देखेर आए पनि नेपाल आएपछि चुनौती मात्र हुने उनले बताइन्। यो अवस्था सुधारका लागि युवा जनशक्तिलाई शिक्षित गर्ने र सबैले जिम्मेवारी बोध गरेर जानुपर्ने उनको धारणा थियो।

इक्यान अध्यक्ष भट्टराईले नेपाली विद्यार्थी कसरी रोक्ने र विदेशी विद्यार्थी कसरी आकर्षित गर्ने भन्नेमा राज्यको दृष्टिकोण नभएको बताए।राजनीतिक दलहरू र नेतृत्वमा यस्तो गम्भीर विषयको बुझाइ अलि व्यापक हुनुपर्ने र अन्तर्राष्ट्रिय शिक्षाको बजारलाई उनीहरूले बुझ्न सक्नुपर्ने उनको भनाई थियो। भट्टराईले भने, “आजको विद्यार्थी स्मार्ट छ र स्मार्ट जोनमा उभिन चाहन्छ। उ हरेक दिन आफूलाई हिजो भन्दा राम्रो बनाउन चाहन्छ। यहाँ पढ्ने सँगै काम गर्ने अवसर छैन। त्यही कारण उ यहाँ बस्न रुचाउँदैन।” डायस्पोरालाई नेपालको विकासमा संलग्न गराउन नसक्नु पनि आजको हाम्रो कमजोरी भएको उनले उल्लेख गरे। कक्षा १२ पछि नै सबै विदेश जानू हुँदैन भन्ने आफूहरूको पनि बुझाइ रहेको बताएका भट्टराईले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित बनाउन २७ वर्ष अघि देखि इक्यानले खेल्दै आएको भूमिकाको पनि चर्चा गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड