नेपाल सरकारका पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेर बहादुर तामाङ्गले विहानी कक्षा सञ्चालन विद्यालय शिक्षामा सुधारको मार्ग हुनसक्ने बताएका छन् ।
आज शिक्षा पत्रकारहरुसँगको अनौपचारिक छलफलमा पूर्वमन्त्री तामाङ्गले हालको विद्यालय शिक्षाको समय परिवर्तन गरेर जाडो याममा बिहान ८ बजेदेखी दिउँसो २ बजेसम्म र गर्मी याममा बिहान ७ बजेदेखी दिउँसो बजेसम्म बनाउन सकिने बताए ।
पूर्वमन्त्री तामाङ्गका अनुसार विद्यालय विहान संचालन गरी दिवा खाजाको सट्टा दिवा खाना संचालन गर्न सकिने तथा कक्षागत रुपमा विद्यार्थीहरुलाई खानाको जिम्मेवारी दिन सकिने र यसलाई विद्यार्थीको जिम्मेवारीको रुपमा दिँदा उनीहरुमा परिवारमा सहयोग गर्न सक्ने वातावरण निर्माण हुनेछ । उहाँले शिक्षकले दिउँसोबाटै विद्यालयबाट छुट्टी पाउँदा कृषि वा अन्य व्यावसायिक कर्म गर्न सक्ने समय हुने र शिक्षकको विद्यालय नियमितता प्रभावकारी हुने योजना सुनाए ।
विहानी कक्षा संचालन गर्दा शहरी क्षेत्रमा अफिस समयको जाम पूर्ण रुपमा हट्ने भएकोले विद्यालय शिक्षाको सुधारको लागि विहानी कक्षा सबैभन्दा उपयुक्त हुने दावी तामाङ्गको छ ।
पूर्वमन्त्री तामाङको विद्यालय शिक्षा सुधार योजनाको पूर्णपाठ
विद्यालय शिक्षाको समय परिवर्तन गरेर जाडो याममा बिहान ८ बजेदेखी दिउँसो २ बजेसम्म र गर्मी याममा बिहान ७ बजेदेखी दिउँसो बजेसम्म गरौं ।
म यहाँ यसरी समय परिवर्तन गर्दा हुने फाईदाहरु प्रस्तुत गर्न चाहन्छु ।
१. हरेक अभिभावक र बालबच्चाहरु बिहान ढिलोमा ५ बजे नै उठिसक्नेछन् । बालबच्चालाई तयारी गरी खाजा खुवाएर ६ बजे नै विद्यालय पठाएपछि अभिभावकहरु बिहानको पुजापाठ, व्यायाम आदि कार्यक्रम गर्न र घरमा गर्नुपर्ने कृषि वा अन्य अफिसियल काम गर्न पनि पर्याप्त समय मिल्नेछ । बिहान चाँडो उठ्नु भनेको त्यसैपनी स्वास्थको लागि राम्रो त हुने नै भयो ।
२. बालबच्चालाई दिवा खाना विद्यालयमा नै सामुहिक मेसमा गर्ने । अहिले दिवा खाजाको व्यबस्था सरकारले गरेको छ । त्यसमा अलि थप गरेर व्यवस्थापन गर्न सकिन्छ । त्यसमा अभिभावकबाट पनि उठाउन सकिन्छ । निम्न र गरिव परिवार छनौट गरि त्यस्ता परिवारलाई सरकारले व्यवस्थापन गर्नेगरी व्यवस्थापन गर्ने । यसरी सामुहिक रुपमा खाना खुवाउने ब्यबस्थाले जातीय छुवाछुत अन्त्य हुनेछ । कक्षा अनुसार ५ देखि १० कक्षा सम्मका विद्यार्थीहरुलाई एक÷एक दिन सामुहिक रुपमा खाना बनाउने काममा लगाउने (एक महिनामा एक कक्षालाई ४ दिन मात्र पर्नेछ) । यसले सामुहिक रुपमा काम सिक्नेछ । काम प्रतिको दायित्वबोध बढ्नेछ । यसलाई बालश्रम नभन्नुहोला । किनकी विद्यालयहरुमा स्काउट ट्रेनिङको नाममा अहिलेपनि यस्तै व्यावहारिक ज्ञान सिकाउने गरिन्छ । विद्यालयबाटै श्रमप्रतिको सम्मान र लगाव बढ्ने भएपछि एक जिम्मेवार पुस्ताको निर्माण हुनेछ । छुवाछुत मुक्त समाज निर्माणसमेत हुनेछ ।
३. शिक्षकहरु अनिवार्य विद्यालयमा उपस्थित हुनेछन् । ग्रामीण क्षेत्रका शिक्षकहरु आफ्नो घरायसी कृषि पेशामा संलग्न हुँदा विद्यालयमा कम उपस्थित हुन्छन् भन्ने जनगुनासो रहेको छ । दिउँसो एक बजेपछी आफ्नो घरको काम गर्न पर्याप्त समय हुने हुँदा सबै शिक्षक विद्यालयमा आफ्नो काममा लाग्ने दर बढ्नेछ । साथै सहरी क्षेत्रका शिक्षकहरुलाई पनि एक बजेपछि आंशिक समय (एबचत त्ष्mभ) वैकल्पिक पेशा गर्ने अवसर पाउनेछन् । सरकारले आयोजना गर्ने शिक्षक तालिमहरु पालिकाभित्र र सहरी क्षेत्रमा दिउँसो दुई बजेपछि मात्र आयोजना गर्दा विद्यालयबाट शिक्षकले बिदा लिनुपर्दैन ।
४. विद्यालयलाई व्यावसायिक कृषि सिकाउने थलोको रुपमा विकास गर्ने र व्यावसायिक तालिमको केन्द्र बनाउने । दुई बजेपछी खाली हुने विद्यालय भवनलाई व्यावसायिक तालिमको केन्द्र बनाउने । ८–१२ सम्मका विद्यार्थी र गाउँका अन्य व्यक्तिहरुलाई व्यावसायिक तालिम दिने संस्थाको रुपमा विद्यालय भवनलाई प्रयोग गर्ने । यसो गर्दा समाजका हरेक नागरिक तालिम प्राप्त दक्ष जनशक्तिको रुपमा विकास हुनेछ ।
५. नैतिक शिक्षा विद्यालयमा अनिवार्य राख्ने । जसले देशप्रती जिम्मेवार नैतिकवान नागरिकको जन्म हुनेछ । अराजक, उत्श्रृंखल र गैर जिम्मेवार नागरिकको साटो स्वाभिमानी, जिम्मेवार र नैतिकवान नागरिक आजको आवश्यकता हो ।
६. तीन वर्ष यो लागू गरेर हेरौं, पक्कै शिक्षाको गुणस्तर र शिक्षित नागरिकको नैतिकता जाँचेर हेरौं । म दावी गर्दछु कि पक्कै सुधार हुनेछ ।
शेर बहादुर तामाङ
पुर्व मन्त्री तथा स्थायी कमिटी सदस्य
नेकपा (एमाले)