काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ४९औँ दीक्षान्त समारोह २०८० साल पुस २ गते सोमबार आयोजना गर्ने भएको छ। आज एक सूचना जारी गर्दै त्रिविले यसबारे जानकारी दिएको हो।
उक्त समारोह दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना गर्ने तयारी विश्वविद्यालयले गरेको छ। समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ-आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान ८:०० बजेदेखि १०:०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने र तोकिएको स्थानमा बसिसक्नु पर्ने सूचनामा उल्लेख छ। विद्यावारिधि र दीक्षान्त पदक / पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरू सबभन्दा अगाडि आफ्नो नाम तोकिएको सिटमा बस्नुपर्ने त्रिविले जनाएको छ।
सूचना अनुसार त्रिविले मङ्सिर २४ गतेदेखि मङ्सिर ३० गतेसम्म बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खु बाट गाउन / स्कार्फ वितरण गर्नेछ। त्यस्तै दीक्षान्त समारोहमा भाग लिन अनलाइन फर्म भर्दा प्राप्त गरेको गाउन कलेक्सन फर्म अनिवार्य लानुपर्ने बताइएको छ।

