काठमाडौँ- आगामी माघ १५ गते बाट त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवाका लागि विद्यार्थीले बल्खु धाउन नपर्ने भएको छ। विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको माघ २ गते बसेको बैठकले यी सेवाहरू अनलाइनबाट दिने निर्णय गरे सँगै अब परीक्षा नियन्त्रण कार्यालय, बल्खु धाउनुपर्ने बाध्यता हट्ने भएको हो।
विश्वविद्यालयले जारी गरेको सूचनामा परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूले दिने सेवाहरू अनलाइन मार्फत गरिने र त्यसका लागि कागजात पेस गर्ने र शुल्क तिर्ने व्यवस्था पनि अनलाइनमै गर्न लागिएको जनाइएको छ।
सबै प्रक्रिया पुरा भएपछि विश्वविद्यालयले ट्रान्सक्रिप्ट लगायतका कागजात जारी गर्ने र त्यसलाई हुलाक मार्फत विद्यार्थीको घरमै पुर्याउने व्यवस्था गरेको बुझिएको छ। विश्वविद्यालयले भने सूचनामा यस सम्बन्धी केही खुलाएको छैन। थप जानकारी माघ १० गते वेबसाइट मार्फत दिने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरेको छ।