Matra Education आइतबार, साउन १० २०८३

तिन दिन सम्म चल्ने पाँचौँ रिलायन्स विज्ञान प्रदर्शनी मेला सुरु

तिन दिन सम्म चल्ने पाँचौँ रिलायन्स विज्ञान प्रदर्शनी मेला सुरु

  • मात्र एजुकेशन
  • बुधबार, माघ २८ २०८२


कार्यक्रम उद्घाटन सत्रको तस्बिर

काठमाडौँ- सरस्वतीनगर,चाबहिल स्थित रिलायन्स एजुकेसन नेटवर्कले आयोजना गरेको तिन दिने विज्ञान प्रदर्शनी मेला सुरु भएको छ। बिहीबार रिलायन्स कलेज परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बिच प्रदर्शनीको उद्घाटन गरिएको हो। मेलामा ७७ वटा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी स्टलहरूमा प्रदर्शन गर्ने तयारी गरिएको छ। त्यस बाहेक ‘आर्ट’ ‘फेस पेन्टिङ’ तथा फुड स्टलहरू पनि कार्यक्रमको आकर्षणको रूपमा रहेका छन्।

विद्यार्थीहरूको प्रतिभालाई उजागर गरी उनीहरूलाई राष्ट्रको असल अनि सभ्य नागरिक बनाउने रिलायन्सको उद्देश्य रहेको र सोही अनुरूप पठनपाठन सँगै विभिन्न अतिरिक्त क्रियाकलापलाई अघि बढाउने क्रममा प्रदर्शनी मेला आयोजना गरिएको रिलायन्स प्रशासनले जनाएको छ। सिकाई प्रणालीमा सृजनशीलता ल्याउँदै वैज्ञानिक खोज, अन्वेषण र प्रयोगमा आधारित उक्त विज्ञान प्रदर्शनीमा करिब ५००० विद्यार्थीहरू लाभान्वित हुने रिलायन्सको अपेक्षा छ।

रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रको औपचारिक कार्यक्रममा प्रसिद्ध भौतिकशास्त्री एवम् वैज्ञानिक प्रा डा उदयराज खनाल प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा रिलायन्सका संस्थापकहरू, रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गतका संस्थाका प्रमुखहरू, शिक्षक/शिक्षिकाहरू, विभिन्न आमन्त्रित विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकहरू र विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो।

संस्कार सहितको शिक्षामा जोड दिँदै आएको रिलायन्सले कार्यक्रमको सुरुवात ध्यान बाट गरेको थियो। कलेजका सञ्चालक तथा संस्कृति विभाग प्रमुख दामोदर निरौलाले २ मिनेटको ध्यान गराएका थिए।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै रिलायन्स एजुकेसन नेटवर्कका सह-प्रधानाध्यापक नन्दु कुमार कुशवाहले विज्ञान प्रदर्शनीमा स्वागत गर्न पाउँदा आफू हर्षित भएको उल्लेख गरे। उनले कार्यक्रम एउटा भेला मात्रै नभई सिर्जनात्मकता, कल्पना र ज्ञानको तिर्खाको उत्सव भएको बताए। रिलायन्सको यो प्रदर्शनीमा आगन्तुकहरूले विज्ञान जीवित भएर आएको देख्ने उनले उल्लेख गरे। विज्ञान र प्रविधिको प्रयोग गरेर समस्याको समाधान गर्न, नयाँ सिर्जना गर्न र हाम्रो संसारलाई अझै राम्रो बनाउन भए गरेका कामहरू प्रदर्शनीमा देखिने उनको भनाई थियो। उनले विज्ञानलाई नयाँ रूपमा हेर्नका लागि सबैलाई रिलायन्समा आमन्त्रण गरे।

रिलायन्स साइन्स एन्ड आइटी क्लबको संयोजनमा हुँदै गरेको उक्त कार्यक्रम बारे आफ्नो धारणा राख्दै क्लबका अध्यक्ष अनिश घिमिरेले रिलायन्समा आफूहरूले क्लब मार्फत गर्व गर्न लायकका कामहरू गर्दै आएको उल्लेख गरे। उनले विज्ञान प्रदर्शनी एउटा सिपको प्रदर्शन मात्र नभई विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा आफ्नो ज्ञानको दायरा बढाउने अवसर पनि भएको धारणा राखे। घिमिरेले सुनिश्चित भविष्यको बाटो तय गर्ने यात्राको प्रक्रियाका रूपमा कार्यक्रमलाई चित्रित गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै रिलायन्सका सञ्चालक तथा वरिष्ठ चार्टर एकाउन्टेन्ट राजु कुमार सिवाकोटीले प्रविधि बिना जीवन नचल्ने स्थितिमा आजको विश्व पुगिसकेको धारणा राखे। प्रविधिको प्रयोग बाट मानव जीवनमा आएको परिवर्तन बारे चर्चा गरेका उनले रिलायन्स बाट अध्ययन पुरा गरेका विद्यार्थी आज विश्वका विभिन्न भाग पुगेर सफल र स्तरीय जीवनयापन गरिरहेको बताए।

कार्यक्रममा प्रमुख अतिथि खनालले आफूलाई आमन्त्रण गरेकोमा धन्यवाद दिए । विज्ञान तिर नवयुवालाई लगाउन सकिन्छ कि भनेर यस्ता कार्यक्रममा आफू सहभागी हुने गरेको उनले उल्लेख गरे। प्रमाणित ज्ञान नै विज्ञान भएको बताएका उनले विज्ञान र आविष्कारको विकास क्रमको चर्चा गरे। खनालले सहभागी विद्यार्थी, आयोजक विद्यालय र अन्य सबैको प्रगतिको कामना गरे।

कार्यक्रमका सभापति थापाले कलेजमा रहेको धेरै क्लबहरू मध्य साइन्स एन्ड आइटी क्लबले नियमित गर्ने कार्यक्रम विज्ञान प्रदर्शनी भएको बताए । उनले ५००० भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने यो उपत्यका व्यापी कार्यक्रममा सिर्जना, अन्वेषण र शिक्षण सिकाइको संयुक्त रूप देखिने उल्लेख गरे। शिक्षाको लक्ष्य भनेको नै ज्ञानलाई बिस्तार गर्ने हो भन्ने धारणा राखेका थापाले आजको पुस्ताका विद्यार्थीलाई प्रतिस्पर्धा र चुनौती उतिकै रहेको हुँदा बढी सिर्जनात्मक हुनु जरुरी रहेको बताए। आजको विश्व तीव्र रूपमा विज्ञान तथा प्रविधिका कारण रूपान्तरण भइरहेको हुँदा आगोको आविष्कार बाट सुरु भएको विज्ञान आज रोबर्ट र एआई सम्म आइपुगेको उनको भनाई थियो। आज डिग्रीको भन्दा बढी मूल्य सिर्जनात्मक र अन्वेषण क्षमताको भएको हुँदा सबैले त्यसमा ध्यान दिनुपर्ने भन्दै उनले उद्घाटन सत्रको औपचारिक कार्यक्रम समापन गरे।

रिलायन्सले यो तिन दिने विज्ञान प्रदर्शनीको समापन आगामी फागुन १ गते गर्ने तयारी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड