काठमाडौँ- सरस्वतीनगर,चाबहिल स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले आयोजना गरेको तिन दिने विज्ञान प्रदर्शनी मेला सुरु भएको छ। बिहीबार विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बिच प्रदर्शनीको उद्घाटन गरिएको हो। मेलामा ३० वटा विज्ञान सम्बन्धी स्टलहरू तथा १० वटा सूचना प्रविधि सम्बन्धी स्टलहरूमा प्रदर्शन गर्ने तयारी गरिएको छ। त्यस बाहेक ‘आर्ट’ ‘फेस पेन्टिङ’ तथा फुड स्टलहरू पनि कार्यक्रमको आकर्षणको रूपमा रहेका छन्।
विद्यार्थीहरूको प्रतिभालाई उजागर गरी उनीहरूलाई राष्ट्रको असल अनि सभ्य नागरिक बनाउने रिलायन्सको उद्देश्य रहेको र सोही अनुरूप पठनपाठन सँगै विभिन्न अतिरिक्त क्रियाकलापलाई अघि बढाउने क्रममा प्रदर्शनी मेला आयोजना गरिएको रिलायन्स प्रशासनले जनाएको छ। सिकाई प्रणालीमा सृजनशीलता ल्याउँदै वैज्ञानिक खोज, अन्वेषण र प्रयोगमा आधारित उक्त विज्ञान प्रदर्शनीमा करिब ४००० विद्यार्थीहरू लाभान्वित हुने एकेडेमीको अपेक्षा छ।
रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रको औपचारिक कार्यक्रममा युवा वैज्ञानिक तथा आइडिया स्टुडियो नेपालमा संस्थापक डा छिरिङ लामा प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा रिलायन्सका संस्थापकहरू, रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गतका संस्थाका प्रमुखहरू, शिक्षक/शिक्षिकाहरू, विभिन्न आमन्त्रित विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकहरू र विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो।

संस्कार सहितको शिक्षामा जोड दिँदै आएको रिलायन्सले कार्यक्रमको सुरुवात ध्यान बाट गरेको थियो। कलेजका सञ्चालक तथा संस्कृति विभाग प्रमुख दामोदर निरौलाले २ मिनेटको ध्यान गराएका थिए।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै रिलायन्स एजुकेसन नेटवर्कका सह-प्रधानाध्यापक नन्दु कुमार कुशवाहले विज्ञान प्रदर्शनीमा स्वागत गर्न पाउँदा आफू हर्षित भएको उल्लेख गरे। उनले कार्यक्रम एउटा भेला मात्रै नभई सिर्जनात्मकता, कल्पना र ज्ञानको तिर्खाको उत्सव भएको बताए। रिलायन्सको यो प्रदर्शनीमा आगन्तुकहरूले विज्ञान जीवित भएर आएको देख्ने उनले उल्लेख गरे। विज्ञान र प्रविधिको प्रयोग गरेर समस्याको समाधान गर्न, नयाँ सिर्जना गर्न र हाम्रो संसारलाई अझै राम्रो बनाउन भए गरेका कामहरू प्रदर्शनीमा देखिने उनको भनाई थियो। उनले विज्ञानलाई नयाँ रूपमा हेर्नका लागि सबैलाई रिलायन्समा आमन्त्रण गरे।
रिलायन्स साइन्स एन्ड आइटी क्लबको संयोजनमा हुँदै गरेको उक्त कार्यक्रम बारे आफ्नो धारणा राख्दै क्लबका अध्यक्ष मुकुन्द खनालले रिलायन्समा आफूहरूले क्लब मार्फत गर्व गर्न लायकका कामहरू गर्दै आएको उल्लेख गरे। उनले विज्ञान प्रदर्शनी एउटा सिपको प्रदर्शन मात्र नभई विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा आफ्नो ज्ञानको दायरा बढाउने अवसर पनि भएको धारणा राखे। खनालले सुनिश्चित भविष्यको बाटो तय गर्ने यात्राको प्रक्रियाका रूपमा कार्यक्रमलाई चित्रित गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै रिलायन्सका सञ्चालक तथा वरिष्ठ चार्टर एकाउन्टेन्ट राजु कुमार सिवाकोटीले प्रविधि बिना जीवन नचल्ने स्थितिमा आजको विश्व पुगिसकेको धारणा राखे। कोभिडको समयमा प्रविधिको प्रयोग मार्फत भएको शिक्षण सिकाई प्रक्रियाको उदाहरण दिएका उनले रिलायन्स बाट अध्ययन पुरा गरेका विद्यार्थी आज विश्वका विभिन्न भाग पुगेर सफल र स्तरीय जीवनयापन गरिरहेको बताए। प्रमुख अतिथि लामाको परिचय गराएका उनले डा लामको उपस्थितिले कार्यक्रममा हौसला र उत्साह थपेको बताए।

कार्यक्रममा प्रमुख अतिथि लामाले कार्यक्रममा उपस्थित भएर विद्यार्थीहरूको सुन्दर सिर्जनात्मकता अवलोकन गर्ने अवसर प्रदान गरेकोमा आयोजक प्रति आभार व्यक्त गरे। आफू औपचारिक कार्यक्रमहरूमा त्यति धेरै नपुग्ने भए पनि विद्यार्थीहरूले दिएको आमन्त्रण भने नछुटाउने गरेको उनले उल्लेख गरे। रिलायन्सले ट्यालेन्टमा लगानी गरेर देशका लागि नै गौरव गर्ने वातावरण बनाएको लामाको भनाई थियो। नेपालको अन्वेषण पश्चिमी समाजको जस्तो नभएको र यसमा नेपाली संस्कृति अनिवार्य मिसिने गरेको धारणा राखेका उनले आधुनिक शिक्षा सँगै योग, ध्यान जस्ता विषयहरूमा जोड दिएकोमा रिलायन्स परिवारलाई विशेष धन्यवाद दिए। आफ्नो बाल्यकालको स्मरण गरेका लामाले कसरी आविष्कारहरू दैनिक जीवन सँग सम्बन्धित हुनुपर्छ भन्ने उदाहरण पेस गरे। उनले आफूले जिन्दगीमा सिकेको एउटै कुरा आफूमा विश्वास गर भन्ने रहेको भन्दै दरिलो आत्मविश्वास कायम गर्न र लगन साथ अघि बढ्न विद्यार्थीलाई सुझाव दिए। विज्ञान तथा आइटीमा नवीन काम गर्ने विद्यार्थीलाई आवश्यक परे सहयोग गर्न आफू तयार रहेको भन्दै त्यसको प्रतिबद्धता पनि कार्यक्रममा व्यक्त गरे।

कार्यक्रमका सभापति थापाले कलेजमा रहेको धेरै क्लबहरू मध्य साइन्स एन्ड आइटी क्लबले नियमित गर्ने कार्यक्रम विज्ञान प्रदर्शनी भएको बताए । उनले ३५०० भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने यो उपत्यका व्यापी कार्यक्रममा सिर्जना, अन्वेषण र शिक्षण सिकाइको संयुक्त रूप देखिने उल्लेख गरे। शिक्षाको लक्ष्य भनेको नै ज्ञानलाई बिस्तार गर्ने हो भन्ने धारणा राखेका थापाले आजको पुस्ताका विद्यार्थीलाई प्रतिस्पर्धा र चुनौती उतिकै रहेको हुँदा बढी सिर्जनात्मक हुनु जरुरी रहेको बताए। आजको विश्व तीव्र रूपमा विज्ञान तथा प्रविधिका कारण रूपान्तरण भइरहेको हुँदा आगोको आविष्कार बाट सुरु भएको विज्ञान आज रोबर्ट र एआई सम्म आइपुगेको उनको भनाई थियो। आज डिग्रीको भन्दा बढी मूल्य सिर्जनात्मक र अन्वेषण क्षमताको भएको हुँदा सबैले त्यसमा ध्यान दिनुपर्ने भन्दै उनले उद्घाटन सत्रको औपचारिक कार्यक्रम समापन गरे।
रिलायन्सले यो तिन दिने विज्ञान प्रदर्शनीको समापन आगामी १२ गते गर्ने तयारी गरेको छ।