Matra Education बुधबार, भाद्र २४ २०८३

टेक्सास स्कुलमा विद्यालय निर्वाचन, यस्तो आयो अन्तिम मत परिणाम

टेक्सास स्कुलमा विद्यालय निर्वाचन, यस्तो आयो अन्तिम मत परिणाम

  • मात्र एजुकेशन
  • आइतबार, असार ८ २०८२


काठमाडौँ- सिफलमा रहेको टेक्सास इन्टरनेसनल स्कुलमा विद्यालय निर्वाचन सम्पन्न भएको छ। आइतबार विद्यालय परिसरमा आयोजित मतदान कार्यक्रम मार्फत विद्यालयले विद्यार्थीहरूकै मतमा आधारित रहेर विभिन्न पदमा नेतृत्व गर्ने विद्यार्थीहरूको छनोट गरेको हो।

विद्यालयले निर्वाचन मार्फत स्कुल क्याप्टेन, स्कुल भाइस–क्याप्टेन र ४ सदनको क्याप्टेन, भाइस–क्याप्टेन छनोट गरेको हो। निर्वाचन अधिकृत तथा विद्यालयका संयोजक लेखराज घिमिरेका अनुसार विगत केही वर्ष अघि देखि थालिएको यो अभ्यास मतदान प्रक्रिया, आफ्नो अधिकार, प्रजातन्त्र तथा नेतृत्व शैली बारे प्रयोगात्मक रूपमै सिकाउन उपयोगी देखिएकाले त्यसलाई निरन्तरता दिइएको हो। विद्यालय निर्वाचन भए पनि सबै प्रक्रिया पुरा गरेर देशकै निर्वाचन जस्तो गरिएको उनको भनाई छ।

मुख्य निर्वाचन अधिकृत समेत रहेका टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ व्यवहारिक ज्ञान दिनका लागि यस किसिमको कार्यक्रम गर्ने गरिएको बताउँछन्। उनले प्रयोगात्मक र व्यवहारिक ज्ञान सधैँ विद्यालयको प्राथमिकतामा पर्ने हुँदा यो कार्यक्रम त्यसैको निरन्तरता भएको प्रतिक्रिया दिए। विद्यार्थीहरूले सामाजिक विषयमा पढ्दै आएको लोकतन्त्र र निर्वाचन प्रणाली बुझाउन कार्यक्रम सफल हुने उनको विश्वास थियो। विद्यार्थीहरूकै सहभागिता र मुख्य भूमिकामा निर्वाचनका सबै प्रक्रिया सम्पन्न भएको हुँदा उनीहरूलाई कुनै पद प्राप्तिको संघर्ष र त्यो सँगै आउने जिम्मेवारी बोध गराउनु पनि विद्यालय निर्वाचनको उद्देश्य भएको उनको भनाइ छ।

को को भए निर्वाचित ?
बिहान ११ बजे देखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न गर्दै विद्यालयले मतगणना समेत गरेर आजै अन्तिम मत परिणाम सार्वजनिक गरेको छ। कार्यक्रम संयोजक तथा विद्यालयका एकेडेमिक कोअर्डिनेटर अपूर्व सुवेदीका अनुसार निर्वाचनबाट स्कुल क्याप्टेनमा कक्षा १० मा अध्ययनरत सन्दिप भट्ट निर्वाचित भएका छन् भने स्कुल भाइस–क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत नन्दनी अधिकारी विजयी भएकी छिन् ।

त्यस्तै ४ सदनको क्याप्टेन र भाइस-क्याप्टेनको लागि ब्लु हाउस क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत सैन सिंह ठकुरी र भाइस क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत प्रिसा सापकोटा विजयी भएकी छिन् । ग्रिन हाउसको क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत निर्जल अधिकारी विजयी हुँदा भाइस–क्याप्टेनको पद लिन कक्षा ८ की आरोही लुइँटेल सफल भएकी छिन्। रेड हाउस क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत निर्युक्त राज पौडेल विजयी भएका छन् भने भाइस क्याप्टेनमा कक्षा ७ मा अध्ययनरत ज्योत्स्ना बुढाथोकी विजयी भएकी छिन् । यस्तै एल्लो हाउस क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत प्रत्युसा रावल र भाइस–क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत संकेत भट्टराई विजयी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड