काठमाडौँ- चाबहिलमा रहेको टेक्सास मन्टेश्वरी स्कुलले दीक्षान्त समारोह सम्पन्न गरेको छ। आइतबार बिहान विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बिच टेक्सास मन्टेश्वरीले कक्षा युकेजी पास गरेका २६ जना विद्यार्थीहरूलाई दीक्षित गरेको हो। टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्क द्वारा सञ्चालित टेक्सास मन्टेश्वरीले बालबालिकाहरूको चौतर्फी विकासका लागि विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ।
कार्यक्रममा बालबालिकाहरूलाई केकको मिठो स्वाद सहित प्रोत्साहनका लागि दीक्षित भएको प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो। हालसम्म टेक्सास मन्टेश्वरीमा पढेका विद्यार्थीहरूबाट कुनै गुनासो नआएको र मन्टेश्वरीलाई अझै विस्तारित गर्ने योजनामा रहेको विद्यालय प्रशासनले जनाएको छ।
दीक्षान्त समारोहमा टेक्सास एजुकेसन नेटवर्कका अध्यक्ष भेषराज पोखरेल, ‘चिफ अफ एकेडेमिक्स’ प्रा. डा. गोविन्द प्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रधानाध्यापक डा श्याम सुन्दर श्रेष्ठ, सह-प्रधानाध्यापक युवराज बस्नेत ‘बिजनेस डेभलपमेन्ट डिरेक्टर’ नारायण पोखरेल, विद्यालय संयोजक लेखराज घिमिरे सहित प्रशासकहरू तथा शिक्षक कर्मचारीहरूको आतिथ्य रहेको थियो। कार्यक्रममा आफ्ना छोराछोरीको सफलतामा रमाउन उक्त मन्टेश्वरीमा कक्षा युकेजी अध्ययनरत बालबालिकाका अभिभावकहरू समेत उपस्थित थिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै टेक्सासका प्रधानाध्यापक श्रेष्ठले बालबालिकाहरूलाई राम्रो गरियो र मेहनत गरियो भने सम्मानित हुन पाइँदो रहेछ भन्ने भाव जगाउनका लागि कार्यक्रम आयोजना गरिएको बताए। साना बालबालिकालाई स्कुल सम्म ल्याउनु र उनीहरूलाई त्यसप्रति आकर्षित गर्नु ज्यादै चुनौतीपूर्ण काम रहेको उल्लेख गरेका उनले शिक्षकहरूले त्यसका लागि अत्यन्तै मेहनत गर्ने गरेको बताए। श्रेष्ठले टेक्सास अब छिटै नयाँ भवनमा सरेर नयाँ शिक्षण शैलीका साथ आउन लागेको उल्लेख गर्दै प्रत्येक बालबालिकालाई जीवनमा सफल बनाउने प्रतिबद्धता गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै टेक्सास इन्टरनेसनल स्कुलका विद्यालय संयोजक घिमिरेले उपस्थितिका लागि सबै अभिभावक प्रति आभार व्यक्त गरे। सबै अभिभावकको साथ र सहयोगले टेक्सास आजको स्थानसम्म आइपुगेको र अब झनै बृहत् रूपमा जान लागेको उल्लेख गरेका उनले भोलिका दिनमा पनि उस्तै साथको अपेक्षा रहेको बताए। घिमिरेले टेक्सास मन्टेश्वरीको विशेषता बारे समेत चर्चा गरे।
कार्यक्रम समापन गर्दै टेक्सासका प्रबन्ध निर्देशक बाखुले टेक्सास मन्टेश्वरीले बालबालिकाहरूको भविष्यको जग बसालिदिएको उल्लेख गरे। मन्टेश्वरी देखि मास्टर्स सम्म नै उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको टेक्सासले विश्वका नवीनतम शिक्षण विधि अवलम्बन गर्दै आएको उनको भनाई थियो। बाखुले यस्ता कार्यक्रमले बालबालिकामा उत्साह र उमङ्ग भर्ने र नयाँ किसिमको सिकाई पनि प्रदान गर्ने बताए।
मन्टेश्वरी देखि मास्टर्स सम्मको कक्षाहरू सञ्चालन गरिरहेको टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्क चाबहिलमा रहेको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा परिचित छ।

