काठमाडौँ- टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी, मित्रपार्कमा आयोजित ‘टेक्सास बाइट्स फेस्टिभल २०२५’ उत्साहपूर्वक सम्पन्न भएको छ। कलेजको होटेल म्यानेजमेन्ट (बिएचएम) विभागद्वारा आयोजित यो कार्यक्रम स्वाद, संगीत र सृजनशीलताको उत्कृष्ट संयोजन बन्दै सम्पन्न भएको हो।
फेस्टिभलमा विद्यार्थीहरूले आफ्ना सीप प्रस्तुत गर्ने अवसर पाएका थिए भने आगन्तुकहरूले विभिन्न परिकारको स्वाद लिनुका साथै सांगीतिक प्रस्तुतिको आनन्द समेत उठाए। कार्यक्रमको मुख्य आकर्षणको रूपमा नेपाली सांगीतिक क्षेत्रमा चर्चित ब्यान्ड ‘द एलिमेन्ट्स’ ले बेजोड प्रस्तुति दिएका थिए। ब्यान्डको प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाउँदै सम्पूर्ण कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।
विद्यार्थीहरूले तयार गरेका खानाका स्टलहरूमा नेपाली परिकारदेखि अन्तर्राष्ट्रिय फ्युजन स्वादसम्मका व्यञ्जन प्रस्तुत गरिएको थियो। यस अवसरमा बिएचएमका विद्यार्थीहरूले व्यवस्थापन, आतिथ्य सत्कार र ग्राहक सेवा सम्बन्धी व्यावहारिक अनुभव प्राप्त गर्ने मौका पाएका थिए ।
फेस्टिभलमा कलेज प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक तथा बाह्य दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। सहभागीहरूले कार्यक्रमको व्यवस्थापन, वातावरण र प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए।
टेक्सास कलेजले यस प्रकारका कार्यक्रममार्फत विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी, प्रयोगात्मक सिकाइ र नेतृत्व क्षमताको विकासमा समेत जोड दिँदै आएको छ।
यो कार्यक्रमको उद्घाटन कलेजका अध्यक्ष भेषराज पोखरेलको सभापतित्वमा सम्पन्न एक औपचारिक कार्यक्रम बाट गरिएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायव उपरीक्षक (डिएसपी) शुकदेव खनाल रहेका थिए। कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, क्याम्पस प्रमुख श्याम सुन्दर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रम पश्चात् मात्र एजुकेसनलाई प्रतिक्रिया दिँदै टेक्सासका क्याम्पस प्रमुख श्रेष्ठले टेक्सासले सिकाइलाई किताबको २ पाना र कक्षाकोठाको ४ भित्तामा सीमित राख्दैन भन्ने प्रमाण यस्ता कार्यक्रमले पेस गर्ने बताए। बिएचएम पढ्दै गरेका विद्यार्थीहरूकै व्यवस्थापनमा यति ठुलो कार्यक्रम सम्पन्न हुन सक्नुले नै टेक्सासले आफ्ना विद्यार्थीलाई जीवनोपयोगी सिप कसरी दिन्छ भन्ने प्रमाणित गरेको उनको भनाई थियो। श्रेष्ठले आयोजक बिएचएमका विद्यार्थी, अझै विशेष छैटौँ सेमेस्टरका विद्यार्थी प्रति आभार प्रकट गरे।