काठमाडौँ- चाबहिल स्थित टेक्सास इन्टरनेसनल कलेजले उत्कृष्ट आइटी कलेजको उपाधि जितेको छ। अस्ट्रेलियाको अस्ट्रेलिया नेशनल युनिभर्सिटी, क्यानबेरामा आयोजित एक कार्यक्रममा कलेजले उक्त उपाधि हात पारेको हो । कलेज रिडर्स म्यागेजिनद्वारा आयोजित उक्त कार्यक्रममा उत्कृष्ट शैक्षिक संस्था तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। टेक्सासको प्रतिनिधित्व गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठले उक्त अवार्ड ग्रहण गरेका थिए।
उत्कृष्ट आइटी कलेजको उपाधि प्राप्त गरे पश्चात् मात्र एजुकेसन सँगको टेलिफोन संवादमा श्रेष्ठले खुसी व्यक्त गरे। सम्पूर्ण टेक्सास परिवारका लागि यो गर्वको क्षण भएको भन्दै उनले भने, “यो अवार्ड हाम्रो शिक्षक र विद्यार्थीहरूको अथक परिश्रमको प्रमाण हो। हामीले आइटी शिक्षा क्षेत्रमा विश्वस्तको शिक्षा प्रदान गर्दै आएका छौँ र यस प्रकारको अन्तर्राष्ट्रिय पहिचानले हामीलाई अझ सशक्त बनाएको छ।” उनले थपे, “हामी भविष्यमा पनि प्रविधि शिक्षामा नयाँ उचाइहरू हासिल गर्न निरन्तर प्रयासरत रहनेछौँ।”
यो अवार्डको छनोट प्रतिष्ठित निर्णायक मण्डलद्वारा गरिएको थियो, जसको अध्यक्षता मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक बहादुर शाक्यले गरेका थिए। निर्णायक मण्डलले नेपालका विभिन्न कलेजहरूको आइटी शिक्षा, नवप्रवर्तन र विद्यार्थीहरूको सफलतालाई आधार मानेर मूल्यांकन गरेको बताइएको छ।
यो सम्मानले टेक्सास कलेजलाई आइटी शिक्षामा नेपाल र अन्तर्राष्ट्रिय स्तरमा एक अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ, जसले भविष्यमा शिक्षा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास दिलाएको छ।
