Matra Education मंगलबार, भाद्र २३ २०८३

टेक्सास कलेजको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, व्यवस्थापन र प्रविधिमार्फत दिगो विकासमा जोड

टेक्सास कलेजको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, व्यवस्थापन र प्रविधिमार्फत दिगो विकासमा जोड

  • मात्र एजुकेशन
  • आइतबार, भाद्र २१ २०८३


काठमाडौँ – चाबहिलस्थित टेक्सास इन्टरनेशनल कलेजको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। ‘२१औँ शताब्दीमा दिगोपन, समृद्धि र भावी पुस्ताका लागि व्यवस्थापन तथा सूचना प्रविधिको प्रयोग’ विषयक उक्त कार्यक्रम आइतबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको हो। सम्मेलनमा व्यवस्थापन, सूचना प्रविधि, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, दिगोपन, सामाजिक–आर्थिक विकास तथा शिक्षासँग सम्बन्धित विषयमा अनुसन्धानमूलक छलफल र कार्यपत्र प्रस्तुति गरिएको थियो।

सम्मेलनको उद्घाटन सत्र टेक्सास इन्टरनेशनल कलेजका अध्यक्ष भेषराज पोखरेलको अध्यक्षतामा तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. खड्गबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. तीर्थराज खनियाँले विशेष अतिथिका रूपमा शुभकामना मन्तव्य दिएका थिए। अस्ट्रेलियाको स्विनबर्न विश्वविद्यालयका प्रा. डा. सियन वाट्सले विशेष सम्बोधन गरेका थिए।

उद्घाटन सत्रमा भारतीय प्रविधि संस्थान रुड्कीका प्रा. डा. सन्तोष रंगनेकर, भारतीय प्रविधि संस्थान दिल्लीका प्रा. डा. सूर्यप्रकाश सिंह तथा दक्षिण कोरियास्थित आईटीएएमका अध्यक्ष प्रा. नाम्जे चोले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए। कार्यक्रममा पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा. डा. बालचन्द्र लुइँटेल, डिजिटल शासन तथा तथ्याङ्क विज्ञ भोजराज घिमिरे लगायतको सहभागिता रहेको थियो।

सम्मेलनको सुरुवातमा नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि अतिथिहरूलाई खादा प्रदान गर्नुका साथै राष्ट्रिय गान र दीप प्रज्वलनमार्फत औपचारिक कार्यक्रम अघि बढाइएको थियो। टेक्सास इन्टरनेशनल कलेजका प्राचार्य डा. श्यामसुन्दर श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने अध्यक्ष भेषराज पोखरेलले सम्मेलनको विषयवस्तु र उद्देश्यबारे प्रकाश पारेका थिए।

सम्मेलनका विभिन्न सत्रमा व्यवस्थापन, वित्त, दिगोपन तथा सामाजिक–आर्थिक विकास, सूचना प्रविधि, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, डिजिटल रूपान्तरण, शिक्षा, संस्कृति, स्वास्थ्य तथा अन्तरविषयक अनुसन्धानसँग सम्बन्धित विषय समेटिएका थिए। नेपाल तथा विदेशका अनुसन्धानकर्ताहरूले आफ्ना अध्ययन तथा अनुसन्धानमा आधारित कार्यपत्र प्रस्तुत गरेका थिए।

प्राविधिक सत्रमा नेपालको डिजिटल अर्थतन्त्र, वित्तीय डिजिटल रूपान्तरण, हरित आपूर्ति शृङ्खला, दिगो व्यवसाय, कृत्रिम बौद्धिकताका लागि पूर्व तयारी, साइबर सुरक्षा, डिजिटल बैंकिङ, तथ्याङ्क व्यवस्थापन, मेसिन लर्निङ, डिजिटल विभाजन र सूचना प्रविधिको पहुँचलगायत विषयमा प्रस्तुति गरिएको थियो।

शिक्षा तथा अन्तरविषयक अनुसन्धानअन्तर्गत भविष्यका लागि तयार शैक्षिक संस्था निर्माण, डिजिटल रूपान्तरण, शिक्षक क्षमता विकास, अङ्ग्रेजी भाषा शिक्षणमा प्रविधिको प्रयोग, अभिभावकत्व र डिजिटल पदचिह्न, विद्यार्थीको शैक्षिक व्यवहार, स्वास्थ्य तथा कार्यस्थल सुरक्षा, सांस्कृतिक संरक्षण र दिगो पर्यटनलगायत विषयमा पनि कार्यपत्र प्रस्तुत भएका थिए।

तीन वटा समानान्तर सत्र सञ्चालन गरिएको सम्मेलनमा ४० भन्दा बढी अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत भएका थिए। प्रत्येक सत्रपछि सत्राध्यक्षको टिप्पणी तथा प्रश्नोत्तरसमेत गरिएको थियो। सहभागी अनुसन्धानकर्ताहरूले व्यवस्थापन र प्रविधिलाई दिगो विकास, आर्थिक समृद्धि तथा भावी पुस्ताको आवश्यकतासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। पहिलो सत्रको समापन टेक्सासका ‘चिफ अफ एकेडेमिक्स’ प्रा डा गोविन्द प्रसाद आचार्यले गरेका थिए।

दिउँसोका सत्रमा डिजिटल आपूर्ति शृङ्खला, साइबर सुरक्षामा मानव तथा कृत्रिम बौद्धिकताको भूमिका, दिगो शैक्षिक संस्था, साना तथा मझौला उद्यममा कृत्रिम बौद्धिकताको तयारी, अङ्ग्रेजी भाषा शिक्षणमा सूचना प्रविधिको प्रयोग, डिजिटल वित्तीय साक्षरता, डेटा संरक्षण, डिजिटल बैंकिङ, सांस्कृतिक पुनर्जागरण तथा दिगो पर्यटनलगायत विषयमा थप कार्यपत्र प्रस्तुत गरिएको थियो।

समापन सत्रमा टेक्सास इन्टरनेशनल कलेजका अनुसन्धान अध्यक्ष प्रा. डा. सतीशकुमार ओझाले समापन मन्तव्य दिएका थिए भने कलेजका प्रबन्ध निर्देशक जितेन्द्रकुमार बाखुले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा सहभागीहरूबिच अनुभव आदानप्रदान तथा सञ्जाल विस्तारका लागि अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो।

सम्मेलनले २१औँ शताब्दीको बदलिँदो परिवेशमा व्यवस्थापन र सूचना प्रविधिलाई दिगोपन, समृद्धि र भावी पुस्ताको हितसँग जोड्न अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक समाधानलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ। नेपालसहित विभिन्न देशका अनुसन्धानकर्ता तथा विज्ञहरूको सहभागिताले सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरमा ज्ञान र अनुभव आदानप्रदान गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा अघि बढाएको आयोजकले जनाएको छ।

सम्मेलनपछि मात्र एजुकेसनसँग कुरा गर्दै टेक्सास इन्टरनेशनल कलेजका प्राचार्य डा. श्यामसुन्दर श्रेष्ठले भने, “२१औँ शताब्दीमा व्यवस्थापन र सूचना प्रविधि दिगो विकास, समृद्धि र भावी पुस्ताको भविष्यसँग जोडिएका महत्त्वपूर्ण आधार हुन्। यस सम्मेलनमार्फत नेपालसहित विभिन्न देशका विज्ञ तथा अनुसन्धानकर्ताबिच ज्ञान, अनुभव र अनुसन्धान आदानप्रदान गर्ने अवसर मिलेको छ। यस्ता सहकार्यले नयाँ सोच र नवप्रवर्तनलाई अघि बढाउँदै नेपालको शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने हाम्रो विश्वास छ।”

उनले टेक्सासले शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमलाई निरन्तरता दिने बताए। “व्यवस्थापन र प्रविधिको सही प्रयोगमार्फत दिगो र समृद्ध समाज निर्माणमा शिक्षण संस्थाले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्,” श्रेष्ठले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड