काठमाडौँ- चाबहिल स्थित टेक्सास इन्टरनेसनल सेकेण्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० मा सहभागी भई उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ। आइतबार गौशालाको अनुपम फुडल्यान्डमा आयोजित एक औपचारिक कार्यक्रमका बिच स्कुलले ‘एसइई ब्याच २०८०’ लाई सम्मान गरेको हो। ४६ जना विद्यार्थीले टेक्सास बाट परीक्षा दिएकोमा यो पटक एउटा ‘बि प्लस’ र अरू सबै ‘ए’ र ‘ए प्लस’ को नतिजा प्राप्त गरेको थियो।
टेक्सस इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेटवर्कका अध्यक्ष भेस राज पोखरेल, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु सहित टेक्सस इन्टरनेसनल स्कुल/ कलेज सँग सम्बन्धित शिक्षक/शिक्षिका/कर्मचारी/ प्रशासकहरू सहित टेक्ससमा कक्षा १० पढ्दै गरेका र सोही विद्यालय बाट एसइई उत्तीर्ण विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
उपस्थित विद्यार्थीलाई स्वागत गर्दै टेक्सस इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक तथा कार्यक्रमका सभापति श्याम सुन्दर श्रेष्ठले उत्कृष्ट नतिजा सहित एसइई उत्तीर्ण भएकोमा विद्यार्थीहरूलाई बधाई दिए। यो सफलता बाट मेहनत गरे सफल भइन्छ भन्ने सन्देश लिएर अघि बढ्न सुझाव दिएका उनले आफूमा विश्वास, भगवानमा भरोसा र काममा मेहनत गरे सधैँ सफलता हात पर्ने धारणा राखे। अबको शैक्षिक गन्तव्य छनोटले विद्यार्थीको भविष्य निर्धारण गर्ने हुँदा उचित परामर्श लिएर, बुझेर मात्रै प्लस टु छनोट गर्न उनले सुझाव दिए। श्रेष्ठले आफ्ना विद्यार्थीलाई टेक्ससले आमाले जस्तै माया दिने हुँदा आफ्नै विद्यालयमा प्लस टु पढ्न चाहे विशेष छात्रवृत्ति प्रदान गरिने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा बोल्दै ‘एसइई ब्याच २०८०’ की विद्यार्थी प्राप्ति देवकोटाले आफ्नो सफलताको श्रेय सम्पूर्ण विद्यालय परिवारलाई दिँदै धन्यवाद दिइन्। उनले आफूहरूलाई सिकाउन मेहनत गर्नुहुने शिक्षक शिक्षिकाहरू सबै विशेष सम्मानको हकदार भएको भन्दै देखाएको बाटोमा लागिरहने संकल्प गरिन्। टेक्ससले शैक्षिक रूपमा मात्रै नभई आध्यात्मिक र सांस्कृतिक रूपमा पनि पूर्ण मानव बनाएको उनको भनाई थियो।
त्यस्तै अर्का विद्यार्थी विशाल काफ्लेले आफूले सानै देखि टेक्ससमा पढेको स्मरण गर्दै एसइई सम्मको यो यात्रा रोमाञ्चक रहेको अनुभव सुनाए। उनले विद्यालयमा आफूलाई सबैले धेरै माया गरेको हुँदा काठमाडौँकै सबैभन्दा राम्रो स्कुल टेक्सस हो भन्ने आफ्नो बुझाइ रहेको बताए। काफ्लेले टेक्सासमा अध्ययन गर्दाको क्षण सदा स्मरणीय रहने उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै टेक्सास नेटवर्कका अध्यक्ष पोखरेलले गुरु पूर्णिमाको पावन अवसरमा कार्यक्रम राखेको उल्लेख गर्दै उत्कृष्ट नतिजा हासिल गर्न सघाउने र जीवनभर मेहनत गर्ने सबै गुरुहरू प्रति सम्मान व्यक्त गरे। प्लस टु अध्ययनका लागि विषय र शैक्षिक संस्था छनोट बारे महत्त्वपूर्ण सुझावहरू दिएका पोखरेलले टेक्सास अरू कलेजहरूको भिडमा कसरी फरक छ भन्ने चर्चा गरे। टेक्सासमा प्लस टु पढ्दा युके डिग्री पनि सँगै लिएर ‘डबल सर्टिफिकेट’ पाइने हुँदा पनि विद्यार्थीहरूले टेक्सास छान्नुपर्ने उनको भनाई थियो। देशभरको नतिजा ४८% हुँदा टेक्सासको १००% हुनुले पनि संस्थाको बारेमा आफैँ धेरै बोलिसकेको पोखरेलको भनाई थियो।
कार्यक्रममा बोलेका शिक्षक तथा प्रशासनका अन्य प्रतिनिधि वक्ताहरूले पनि विद्यार्थीलाई उत्कृष्ट नतिजाका लागि बधाई र आगामी यात्राका लागि शुभकामना दिए। नयाँ शैक्षिक यात्रामा अझै धेरै चुनौतीहरू हुने हुँदा सही निर्णय लिएर आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन सबै वक्ताहरूको साझा सुझाव थियो। कार्यक्रममा ‘एसइई ब्याच २०८०’ लाई मायाको चिनो सहित सम्मान गरिएको थियो।
कार्यक्रमको अनौपचारिक सत्रमा टेक्ससका विद्यार्थीका प्रतिभाले भरपुर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। विद्यालयका शिक्षिकाहरूले प्रस्तुत गरेको नृत्यले कार्यक्रमलाई अझै आकर्षक बनेको थियो।
कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै टेक्सासका स्कुल संयोजक लेखराज घिमिरेले विद्यार्थी, अभिभावक र शिक्षक/शिक्षिकाहरूको साझा मेहनतका कारण विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्न सकेको बताए। उनले हिजो भन्दा आज नतिजा सुधारिएको र आज भन्दा भोलि अझै राम्रो हुने विश्वास व्यक्त गरे। एसइई पछिको अध्ययनका लागि निर्णय लिनु अघि अध्ययन गरेर, बुझेर मात्रै लिन उनको सुझाव थियो। टेक्सास आफ्नो क्षेत्रमा आज सर्वाधिक लोकप्रिय रहेको उल्लेख गरेका घिमिरेले २१ औ शताब्दीको प्रतिस्पर्धात्मक विश्वमा अब्बल साबित हुनसक्ने जनशक्ति टेक्सासले उत्पादन गर्ने भनाई राखे। उनले उपस्थितिका लागि सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे।
यहाँ क्लिक गरेर कार्यक्रमका थप तस्बिरहरू हेर्न सकिन्छ।