Matra Education बुधबार, भाद्र २४ २०८३

टेक्सास इन्टरनेसनल कलेजको स्वागत कार्यक्रम सम्पन्न

टेक्सास इन्टरनेसनल कलेजको स्वागत कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, भाद्र १४ २०८२


काठमाडौँ- टेक्सास इन्टरनेशनल कलेजद्वारा आयोजित स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । शुक्रवार गट्ठाघर स्थित जर्मन होम्स हस्पिटालिटिमा आयोजित एक औपचारिक कार्यक्रमका बिच टेक्सासले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई कलेजमा स्वागत गरेको हो ।

टेक्सास इन्टरनेसनल कलेजका अध्यक्ष भेस राज पोखरेलको सभापतित्व तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कुम: सागर एन्ड ब्यान्डको विशेष प्रस्तुति रहेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा आमन्त्रित थिए। कार्यक्रममा टेक्सास कलेजका चिफ अफ एकेडेमिक्स प्रा डा गोविन्द प्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ सहित अन्य सञ्चालकहरू तथा कलेजका शिक्षक/शिक्षिका र विद्यार्थीहरूको व्यापक उपस्थिति रहेको थियो ।

उपस्थित विद्यार्थीलाई स्वागत गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले टेक्सास छनोट गरेर विद्यार्थीले उपयुक्त निर्णय गरेको बताए । मन्टेश्वरी देखि मास्टर्स सम्म पढाई हुने शैक्षिक संस्था भएका कारण टेक्सासले आफ्ना विद्यार्थीको बिदाइ मास्टर्स पछि मात्रै गर्ने उनको भनाई थियो । ४०० भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेको र आफ्ना विद्यार्थी सफल भए मात्रै उनीहरूले आफ्नो जित भएको सम्झने भन्दै श्रेष्ठले सफलताको भर्‍याङका रूपमा कलेजलाई लिन सुझाव दिए । जीवनमा सफल मात्रै नभई असल बन्न सके मात्रै इतिहासमा नाम रहने भन्दै उनले त्यसका लागि विद्यार्थीको चौतर्फी विकास हुनुपर्ने र टेक्सासको उद्देश्य त्यही भएको बताए । उनले विद्यार्थीको टेक्सासको पढाई अर्थपूर्ण रहने विश्वास सहित सबैलाई टेक्सास परिवारमा स्वागत गरे।

कार्यक्रममा शुभकामना दिँदै कलेजका अध्यक्ष पोख्रेलले विद्यार्थीहरूले गुणस्तरीय शिक्षा हासिल गर्नका लागि एक मात्र सही गन्तव्य टेक्सास इन्टरनेशनल कलेज रहेको बताए । केही समय अघि मात्रै प्रकाशित भएको कक्षा १२ को नतिजामा सहभागी विद्यार्थीहरूले ‘ए’ र ए प्लस सहित उत्कृष्ट नतिजा दिएकोमा उनले खुसी व्यक्त गरे। टेक्सास कलेज भनेको आफूहरू नभई त्यहाँ अध्ययनरत विद्यार्थीहरू र उनीहरूको व्यवहार भएको भन्दै कलेजले नारा जस्तै आफ्ना विद्यार्थीलाई पूर्ण मानव बनाउने उनले बताए। उनले सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिए।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले आफ्नो विद्यार्थी जीवन र त्यति बेलाको शिक्षा प्राप्त गर्दाको कठिनाइ स्मरण गर्दै अहिलेका विद्यार्थीले पढाइको राम्रो अवसर पाइरहेको उल्लेख गरे। उनले उच्च शिक्षा लिने विद्यार्थीहरूले आफ्ना आमाबुबा, गुरु, विद्यालय र देशलाई माया गर्नुपर्नेमा जोड दिए। प्रत्येक विद्यार्थीमा आफूले देश निर्माण गर्ने सपना र संकल्प देखेको भन्दै उनले भारत र चिन जस्ता विशाल देशहरूको बिचमा रहेको नेपाल अब शैक्षिक हब बन्नुपर्ने धारणा राखे। निजी शिक्षा क्षेत्र यति बेला आफ्नो लगानी गुम्ने हो कि भन्ने चिन्तामा रहेको बताएका उनले आफूहरूले कानुनको भाषा मात्रै लेखेको र लगानी सुरक्षण गर्ने कानुन बनाउने विश्वास दिलाए। शिक्षा क्षेत्रको इज्जत निजी क्षेत्रले धानेको र उत्कृष्ट नतिजा यसकै कारण आउने गरेको उनले उल्लेख गरे। पौडेलले सबै विद्यार्थीलाई सफलताको शुभकामना दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै हाल कक्षा १२ मा अध्ययनरत दुई जना विद्यार्थीहरूले कलेज बारे आफ्नो धारणा राखेका थिए । उनीहरूले आफूहरूलाई पनि कलेजमा स्वागत हुँदै गर्दा के होला ? कस्तो होला ? भन्ने कौतुहलता रहेको र पढाई सुरु गरेपछि सोचे भन्दा अझै स्तरीय शिक्षा कलेजबाट पाएको हुँदा ढुक्क हुन नव आगन्तुक विद्यार्थीलाई सुझाव दिए । टेक्सास कलेज छनोट गर्नु आफूहरूको सबैभन्दा महत्त्वपूर्ण निर्णय भएको उनीहरूको भनाई थियो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि टेक्सास कलेज गुणस्तरको पर्याय बनेकै कारण निरन्तर सफलताको यात्रातिर लम्किरहेको धारणा राखे । आज टेक्सास कलेजका उत्पादनहरू हरेक क्षेत्रमा सफल हुनु नै यसको प्रमाण भएको उनीहरूको भनाइ थियो ।

कलेजले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई मायाको चिनो द्वारा सम्मान गरेको थियो भने उत्कृष्ट नतिजा निकाल्न योगदान गरे बापत शिक्षक शिक्षिकाहरूलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमको अनौपचारिक सत्रमा अतिथि कलाकारहरूले विशेष प्रस्तुति दिएका थिए भने टेक्सासका विद्यार्थीका प्रतिभाले भरपुर गायन, नृत्य, नाटक आदि प्रस्तुतिले कार्यक्रमलाई रोचक र अर्थपूर्ण बनाएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड