Matra Education बिहिबार, मंसिर ३ २०८३

टर्कीका विद्यालयमा मन्त्री पोखरेल: बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

टर्कीका विद्यालयमा मन्त्री पोखरेल: बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

  • मात्र एजुकेशन
  • सोमबार, कार्तिक ३० २०८३


काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले टर्कीका विद्यालयमा अपनाइएको बालमैत्री, प्रकृतिमैत्री तथा प्रयोगात्मक शिक्षण अभ्यासबारे चासो राखेका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुगेका मन्त्री पोखरेलले त्यहाँको हरित विद्यालय तथा बालविकास केन्द्रको स्थलगत अवलोकन गरेका हुन्।

एन्टाल्या बसाइका क्रममा टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनले नेपाली समकक्षी पोखरेललाई स्थानीय शैक्षिक संस्थाहरूको अवलोकन गराएका थिए। सो क्रममा दुवै मन्त्रीले एन्टाल्याको मुरातपासा जिल्लास्थित ‘१५ जुलाई सहिद बालविकास केन्द्र’ को भ्रमण गरेका थिए।

अवलोकनका क्रममा मन्त्री पोखरेलले सानै उमेरदेखि बालबालिकालाई प्रकृति, वातावरण संरक्षण र दिगो विकासको अवधारणासँग जोड्ने टर्कीको अभ्यासबारे जानकारी लिएका थिए। उनले विद्यालय परिसरमा सञ्चालित कार्यशाला, बिरुवा उत्पादन क्षेत्र तथा बालबालिकाले तयार पारेका शून्य फोहोर परियोजनाको निरीक्षण गरेका थिए।

त्यस्तै, पुनः प्रयोगसम्बन्धी अभ्यास र मिनी ग्रिनहाउसमा गोलभेँडालगायत तरकारी तथा बिरुवा उत्पादन गर्ने प्रयोगात्मक सिकाइ विधिबारे शिक्षक तथा विद्यालय प्रशासनसँग जानकारी लिएका थिए।

भ्रमणका क्रममा दुवै देशका शिक्षामन्त्रीले शिक्षक तथा अभिभावकसँग संवाद गर्दै पूर्वप्राथमिक र सामुदायिक विद्यालय सञ्चालनका अनुभव, शैक्षिक पूर्वाधारको आवश्यकता तथा अभिभावक र विद्यालयबीचको सहकार्यबारे छलफल गरेका थिए।

कार्यक्रममा टर्कीका सत्तारुढ दल एके पार्टीका प्रान्तीय अध्यक्ष अली चेतिन, प्रान्तीय शिक्षा निर्देशक मेहमेत यासिन एरिस तथा युनेस्को र ओईसीडीलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता थियो। सो अवसरमा बालविकास केन्द्रका विद्यार्थीले परम्परागत टर्किस लोकनृत्य प्रस्तुत गरेका थिए।

मन्त्री पोखरेलले बालबालिकामा सानै उमेरदेखि प्रकृतिप्रतिको प्रेम, शून्य फोहोरको बानी र जलवायु सचेतना विकास गर्न सके नयाँ पुस्तालाई वातावरणमैत्री तथा विपद् उत्थानशील बनाउन सकिने धारणा राखेका थिए।

नेपालमा पनि पूर्वप्राथमिक तथा विद्यालय तहको शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रकृति, व्यवहार र स्थानीय परिवेशसँग जोड्ने प्रयास भइरहेको उनले बताए। टर्कीको अभ्यासबाट नेपाली विद्यालय शिक्षामा उपयोगी हुने विषय सिक्न सकिने उनको भनाइ थियो।

नेपालमा विद्यालयको भौतिक पूर्वाधारको वैज्ञानिक मूल्याङ्कनसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गरी विद्यालय तहको पाठ्यक्रममा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी विषय समेट्ने प्रक्रिया अघि बढाइएको छ।

टर्कीका शिक्षामन्त्रीसँगको भेटघाट, विद्यालय अवलोकन तथा अनुभव आदानप्रदानले नेपालको विद्यालय शिक्षा सुधार र हरित विद्यालय निर्माणका लागि सहयोग पुग्ने विश्वास मन्त्री पोखरेलले व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड