काठमाडौँ- मनास्लु वर्ल्ड कलेजका कार्यकारी अध्यक्ष तथा शिक्षासेवी गेन्द्र लामा बेल्जियममा ‘भिजनरी एजुकेशनल लिडरसिप अवार्ड २०२६’ बाट सम्मानित भएका छन्। शिक्षा क्षेत्रमा करिब दुई दशकदेखि पुर्याउँदै आएको योगदान, दूरदर्शी शैक्षिक नेतृत्व, संस्थागत विकास र विद्यार्थीको सर्वाङ्गीण विकासप्रतिको प्रतिबद्धताको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
कलेज रिडर्सको आयोजनामा नोभेम्बर ४, २०२६ मा बेल्जियमको राजधानी ब्रसेल्सस्थित डबलट्री बाई हिल्टन ब्रसेल्स सिटीमा सम्पन्न ‘नेपाल एजुकेसन अवार्ड्स युरोप २०२६’ समारोहमा लामालाई उक्त अवार्ड प्रदान गरिएको थियो।
मकवानपुरको राक्सिराङमा जन्मिएका लामाले करिब दुई दशकअघि सामान्य शिक्षकका रूपमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए। शिक्षण पेसाबाट सुरु भएको उनको यात्रा विभिन्न चुनौती र संघर्ष पार गर्दै अहिले हजारौँ विद्यार्थीको शैक्षिक भविष्यसँग जोडिएका संस्थाहरूको नेतृत्वसम्म पुगेको छ।
लामा हाल मनास्लु टिम अफ इन्टरप्रेनर्स प्रालिका संस्थापक अध्यक्ष हुन्। उनी मनास्लु वर्ल्ड कलेजका कार्यकारी अध्यक्ष, मनास्लु वर्ल्ड स्कुलका प्रिन्सिपल तथा कुमारी आवासीय माध्यमिक विद्यालय (केब्स स्कुल/कलेज) का अध्यक्षका रूपमा पनि कार्यरत छन्। उनको नेतृत्व र व्यवस्थापनमा रहेका यी शैक्षिक संस्थाहरूमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन्।
शैक्षिक संस्थाहरूको भौतिक तथा संस्थागत विकाससँगै गुणस्तरीय शिक्षा, प्रभावकारी व्यवस्थापन, दक्ष जनशक्ति निर्माण र विद्यार्थीको प्रतिभा पहिचानलाई उनले प्राथमिकतामा राख्दै आएका छन्। संस्थागत सफलता कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव नहुने उनको मान्यता छ। सक्षम नेतृत्व, सामूहिक प्रयास, आपसी विश्वास र प्रभावकारी टिमवर्कलाई उनले सफलताको मुख्य आधार मान्दै आएका छन्।
प्रमाणपत्रभन्दा जीवनोपयोगी शिक्षामा जोड
लामाको शैक्षिक नेतृत्वको प्रमुख विशेषता शिक्षालाई पाठ्यपुस्तक, परीक्षा र प्रमाणपत्र प्राप्त गर्ने माध्यममा मात्र सीमित नराख्नु हो। उनले विद्यार्थीको बौद्धिक, शारीरिक, मानसिक, सामाजिक, भावनात्मक तथा नैतिक विकासलाई शिक्षाको अभिन्न पक्षका रूपमा अघि बढाउँदै आएका छन्।
‘ज्ञान, सीप र संस्कार’ लाई शिक्षाका आधारभूत स्तम्भका रूपमा लिँदै उनले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप, नेतृत्व विकास, व्यक्तित्व निर्माण, खेलकुद, कला, संस्कृति र सामाजिक उत्तरदायित्वलाई पनि महत्त्व दिँदै आएका छन्।
‘हामी किताब मात्र पढाउँदैनौँ, जीवन जिउने कला सिकाउँछौँ’ भन्ने शैक्षिक दर्शन र ‘एक विद्यार्थी, एक सीप’ भन्ने अवधारणा उनको शैक्षिक अभियानका महत्त्वपूर्ण आधार हुन्। विद्यार्थीले शैक्षिक योग्यता हासिल गर्नुका साथै आत्मनिर्भर, आत्मविश्वासी, सृजनशील, अनुशासित र जिम्मेवार नागरिक बन्न सक्नुपर्ने उनको मान्यता छ।
उनको विचारमा शिक्षाको सफलता परीक्षामा प्राप्त अंकमा मात्र मापन हुनुहुँदैन। विद्यार्थीले जीवनका चुनौती सामना गर्न सक्ने क्षमता, व्यावहारिक दक्षता, नैतिक चरित्र र समाजप्रतिको जिम्मेवारी विकास गर्न सक्नु नै शिक्षाको वास्तविक उपलब्धि हो।
लगातार दोस्रो वर्ष युरोपमा अन्तर्राष्ट्रिय सम्मान
लामाले यसअघि सन् २०२५ अक्टोबर १४ मा बेलायतको लन्डनस्थित युनिभर्सिटी अफ ग्रिनविचमा आयोजित ‘नेपाल एजुकेसन अवार्ड्स यूके २०२५’ मा ‘बेस्ट एक्जिक्युटिभ चेयरम्यान अफ द इयर २०२५’ सम्मान प्राप्त गरेका थिए। सोही समारोहमा उनले नेतृत्व गरिरहेको मनास्लु वर्ल्ड कलेजले पनि ‘बेस्ट प्लस टु एकेडेमिक एक्सिलेन्स अवार्ड २०२५’ प्राप्त गरेको थियो।
सन् २०२५ मा बेलायत र सन् २०२६ मा बेल्जियममा शैक्षिक नेतृत्वसम्बन्धी अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुलाई उनको दुई दशक लामो शैक्षिक यात्रा र संस्थागत नेतृत्वको उपलब्धिका रूपमा हेरिएको छ।
अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेपछि लामाले आफ्नो यात्रामा साथ दिने शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, सहकर्मी, लगानीकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सामूहिक मेहनत, विश्वास, सहकार्य र निरन्तरताको प्रतिफलका रूपमा लिएका छन्।
आगामी दिनमा पनि गुणस्तरीय, व्यावहारिक, प्रविधिमैत्री, सीपमूलक र संस्कारयुक्त शिक्षाको प्रवर्द्धन गर्दै विद्यार्थीको सर्वाङ्गीण विकास तथा शैक्षिक संस्थाहरूको दीर्घकालीन विकासमा सक्रिय रहने उनको प्रतिबद्धता छ।