Matra Education बुधबार, भाद्र ३ २०८३

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

  • मात्र एजुकेशन
  • शुक्रबार, साउन २९ २०८३


काठमाडौँ- काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्। नवनियुक्त उपकुलपति बराललाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शुक्रवार मन्त्रालयमा नियुक्ति पत्र प्रदान गरेका छन्।

मन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

गत जेठ १९ गते बसेको काठमाडौँ विश्वविद्यालयको सिनेट बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि मन्त्री पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिको सदस्यमा राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुंगाना तथा काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष एवं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा रहेका थिए।

बराल काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। काठमाडौँ विश्वविद्यालयमै अध्ययन गरेर सोही विश्वविद्यालयको उपकुलपति बन्ने उनी पहिलो व्यक्ति हुन्। उनी विश्वविद्यालयको इन्जिनियरिङतर्फको दोस्रो ब्याचका विद्यार्थी थिए।

उनले काठमाडौँ विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

बरालको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ तथा कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा रहेको छ। उनी उपप्राध्यापक र सहप्राध्यापक हुँदै प्राध्यापक बनेका हुन्।

काठमाडौँ विश्वविद्यालयमै विद्यार्थीका रूपमा अध्ययन गरेका बराल अब सोही विश्वविद्यालयको नेतृत्वमा पुगेका छन्। विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक सुधार, अनुसन्धान विस्तार र अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउने जिम्मेवारी अब उनको नेतृत्वमा रहनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड