काठमाडौँ- कोटेश्वर स्थित कस्मिक इन्टरनेसनल स्कुल/कलेजका निर्देशक तथा शिक्षा सेवी लक्ष्मण घिमिरेलाई ‘वर्ष शिक्षा उद्यमी सम्मान २०२५’ (एजुकेसन इन्टरप्रेनर अफ द इयर अवार्ड २०२५) प्रदान गरिएको छ। शिक्षालय मासिक द्वारा काठमाडौँमा आयोजित ‘सार्क एजुकेसन कन्क्लेभ तथा सम्मान कार्यक्रम’ मा घिमिरेलाई उक्त अवार्ड प्रदान गरिएको हो। कार्यक्रममा दक्षिण एसियाको शिक्षा क्षेत्रका विभिन्न जल्दाबल्दा मुद्धाहरुमा प्यानल छलफल भएको थियो भने शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनालले घिमिरेलाई उक्त सम्मान प्रदान गरेका हुन्। विगत ३ दशक देखि शिक्षा क्षेत्रमा क्रियाशील रहेर योगदान गरेको र शिक्षाका विविध क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा घिमिरेलाई उक्त अवार्ड प्रदान गरिएको शिक्षालय मासिकका प्रधान सम्पादक श्याम तुण्डकारले बताए।
सम्मान ग्रहण पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै घिमिरेले उक्त अवार्ड आफ्नो मात्रै नभई सम्पूर्ण कस्मिक परिवारको भएको र यसले आफूहरूलाई अझै बढी जिम्मेवारी थपेको बताए। ‘दक्षिण एसियाली मुलुकका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी कार्यक्रममा सम्मानित हुन पाउँदा गौरवान्वित भएको छु। यसले शिक्षा क्षेत्रमा अझै निष्ठापूर्वक लाग्न प्रेरणा दिएको छ।’ उनले भने
कार्यक्रममा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश लगायत मुलुकका ख्यातिप्राप्त शिक्षाविद्हरू सम्मानित भएका छन्। यो शिक्षा छलफल कार्यक्रमले सार्क क्षेत्रेको शिक्षाका अवसर र चुनौतीहरू बारे समीक्षा गर्दै शैक्षिक विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएको छ।