काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बोर्ड बैठक बोलाएको छ। अहिले बिहान १० बजे बैठक बसेर नतिजा प्रकाशन सम्बन्धी निर्णय गर्ने बोर्डको तयारी छ। बोर्ड बैठकले उक्त निर्णय गरेमा र कुनै प्राविधिक नआएमा आजै नतिजा प्रकाशन हुनेछ।
गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एक समेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौँ जिल्लामा परीक्षणका रूपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।
देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसइईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन् ।
कक्षा १२ मा २०७८ देखि नै उक्त निर्देशिका लागु भएको छ।