Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ का विद्यार्थीका लागि टेक्सासले सम्पन्न गर्‍यो अभिनन्दन कार्यक्रम

कक्षा १२ का विद्यार्थीका लागि टेक्सासले सम्पन्न गर्‍यो अभिनन्दन कार्यक्रम

  • मात्र एजुकेशन
  • बिहिबार, बैशाख ३१ २०८३


काठमाडौँ- चाबहिलको टेक्सास इन्टरनेसनल कलेजले कक्षा १२ को परीक्षा सकेका विद्यार्थीहरूका लागि अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा आयोजित एक कार्यक्रमका बिच टेक्सासले कक्षा १२ को बोर्ड परीक्षा सम्पन्न गरेका विद्यार्थीहरूलाई उत्कृष्ट नतिजाका लागि शुभकामना सहित सम्मान गरेको हो। कार्यक्रममा विद्यार्थीका प्रतिभाले भरपुर अनौपचारिक कार्यक्रम र सम्मान/ बधाई सहितको औपचारिक कार्यक्रम मुख्य आकर्षणका रूपमा रहेका थिए ।

टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका अध्यक्ष भेषराज पोखरेलको सभापतित्व तथा राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेशका प्रमुख रमाकान्त तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा टेक्सासका प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रधानाध्यापक डा श्याम सुन्दर श्रेष्ठ सहित विभाग प्रमुखहरू तथा अध्यापकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरू समेत उपस्थित रहेका थिए। कार्यक्रममा टेक्सासका प्राध्यापक, विद्यार्थीका अलावा अन्य प्राज्ञिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।

टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक डा श्याम सुन्दर श्रेष्ठले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित सबैलाई कार्यक्रम बारे जानकारी गराए । उनले टेक्सासले स्नातकोत्तर पछि मात्रै बिदाइ गर्ने हुँदा यो कार्यक्रमलाई बधाई तथा शुभकामना कार्यक्रमका रूपमा मात्रै लिन आग्रह गरे। कक्षा १२ को परीक्षा सकेका सबै विद्यार्थीलाई सर्वोत्कृष्ट नतिजाका लागि शुभकामना दिएका उनले सुन्दर कार्यक्रम आयोजनका लागि कक्षा ११ का विद्यार्थीलाई धन्यवाद दिए। श्रेष्ठले सबै विद्यार्थीहरूको शैक्षिक सपना वास्तविकता बन्न सकोस् भन्ने कामना गरे।

विद्यार्थीहरूको तर्फबाट कक्षा ११ कि इशा केसीले स्वागत मन्तव्य राखेकी थिइन् भने कक्षा १२ की सिमोन राईलेले धन्यवाद मन्तव्य राखेकी थिइन्।

स्वस्ति वाचन सहित सुरु भएको औपचारिक कार्यक्रममा कक्षा १२ को अध्ययन पुरा गरेका विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा टेक्सासका प्रबन्ध निर्देशक बाखुले शुभकामना मन्तव्य राखेका थिए। उनीहरूले टेक्सासले कक्षा १२ सम्म विद्यार्थीहरूको सफलताको जग बसाइदिएको भन्दै आगामी शैक्षिक जीवन पनि सफल होस् भन्ने कामना गरे।

कार्यक्रमका प्रमुख अतिथि तिवारीले काठमाडौँकै गरिमामय संस्थाका रूपमा टेक्सास रहेको उल्लेख गरे। प्लस टुमा दुई हजार र समग्रमा ६ हजार विद्यार्थी पढाइरहेको टेक्सासले गुणस्तरीय शिक्षा दिँदै आएको उनले उल्लेख गरे। कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूको भविष्य बल्ल सुरु भएको भन्दै उनले आफ्नो सपना अनुसारको गन्तव्य प्राप्त हुन सकोस् भन्ने शुभकामना दिए। अनुशासन र कडा मेहनतले मात्रै लक्ष्य प्राप्त हुने भन्दै उनले सोही अनुसार काम गर्न विद्यार्थीलाई सुझाव दिए। विद्यार्थीहरू राष्ट्रिय परीक्षा बोर्डका पनि विद्यार्थी भएकाले उनीहरूको सफलतामा बोर्डको सधैँ शुभेच्छा रहने उनले बताए।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति पोखरेलले उपस्थित सबैलाई धन्यवाद दिँदै आफ्ना विद्यार्थीलाई आगामी जीवनका लागि शुभकामना दिए । आफूहरूले बधाई दिँदै गरेका विद्यार्थीलाई राम्रै गर्न सक्यौँ होला भन्ने लागेकाले उनीहरूको आगामी भविष्य पनि राम्रो हुने उनको भनाइ थियो । उनले टेक्सासमा स्नातकोत्तर सम्म पढ्न सकिने हुँदा आफ्नै कलेज रोज्न पनि विद्यार्थीलाई सुझाए।

औपचारिक कार्यक्रम सञ्चालन टेक्सासका एकेडेमिक कोअर्डिनेटर अग्नि लुइँटेलले गरेका थिए। औपचारिक कार्यक्रम पश्चात् पनि विद्यार्थीका विविध प्रतिभाहरू सहितको अनौपचारिक सत्र सञ्चालन गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड