काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स कलेजले स्वागत तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार राष्ट्रिय नाच घर जमलमा आयोजित एक कार्यक्रमका बिच कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागतका साथै अभिमुखीकरण गरेको हो ।
सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रसिद्ध हास्य कलाकार मनोज गजुरेल प्रमुख अतिथिका रूपमा रहेका थिए। ५ पटक सगरमाथा आरोहण गरिसकेका मिङमार तामाङको विशेष आतिथ्य रहेको कार्यक्रममा सामाजिक अभियन्ता समीर जोशी ,कलेजका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जन, प्रधानाध्यापक तारा प्रसाद सुवेदी सहित अन्य प्रशासकहरू, सेन्ट लरेन्समा अध्ययन गरेर आज विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका पूर्व विद्यार्थीहरू तथा विभिन्न क्षेत्रका आमन्त्रित अतिथिहरू सहित कलेजका शिक्षक तथा विद्यार्थीहरूको व्यापक उपस्थिति रहेको थियो ।
निकै आकर्षक स्वागत नृत्य सहित सुरुवात भएको कार्यक्रमलाई कार्यक्रम सञ्चालक एनके खड्काले कलेजको छोटो परिचय सहित औपचारिकता दिएका थिए । विगत २९ वर्षदेखि प्लस टु मा निरन्तर आफूलाई अब्बल साबित गर्दै आएको कलेजले कार्यक्रम मार्फत ३० औँ ब्याचलाई स्वागत गरेको उनको भनाई थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सेन्ट लरेन्सका क्याम्पस प्रमुख महर्जनले नयाँ उद्देश्य र उत्प्रेरणा बोकेर देशभर बाट आएका विद्यार्थीहरूलाई स्वागत गर्न पाउँदा आफू उत्साहित भएको बताए। ३० औँ ब्याच सम्म आइपुग्दा सर्वोत्कृष्ट प्लस टुका रूपमा सेन्ट लरेन्स स्थापित भएको र यो उपलब्धि सबैको मेहनत र सहकार्यले प्राप्त भएको उनले उल्लेख गरे। माध्यमिक शिक्षा परीक्षा पास गरेर आएका विद्यार्थीहरूको अबको यात्रा अझै चुनौतीपूर्ण हुने हुँदा मेहनत गरेर उच्च शिक्षाका लागि आधार बनाउने अठोट लिन उनले विद्यार्थीहरूलाई अपिल गरे। कलेजले प्राप्त गरेको विभिन्न महत्त्वपूर्ण उपलब्धिहरू र पुरस्कारहरूको चर्चा गरेका उनले विद्यार्थीको क्षमता विकास र प्रतिभा प्रस्फुटन गरी प्रगतिको सारथि बन्न सेन्ट लरेन्स तयार रहेको बताए । आजको विश्व सुहाउँदो मानव जनशक्ति उत्पादन गर्ने लक्ष्य कलेजले बोकेको भन्दै विद्यार्थीको भविष्य निर्माणका लागि कलेजले कुनै कसर बाकी नराख्ने उल्लेख गरे।
कार्यक्रममा हाल अध्ययनरत विद्यार्थीको प्रतिनिधित्व गर्दै कक्षा १२ मा अध्ययनरत छात्रा सुरुचि केसीले सेन्ट लरेन्समा अध्ययन गरिरहँदाको आफ्नो अनुभव बाँड्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिन । १ वर्ष अघि आफू पनि के होला? कस्तो होला भन्ने दुबिधा सहित तलको भिडमा बसेको र आज कलेजले आफूलाई गरिरहेको मार्ग निर्देशन बाट पूर्ण रूपमा सन्तुष्ट रहेको उनको भनाइ थियो। कलेजले शिक्षा मात्रै नभई व्यक्तित्व विकासका लागि पनि काम गर्ने र थुप्रै अवसर दिने हुँदा सेन्ट लरेन्स सँगको प्रत्येक दिन अर्थपूर्ण हुने उनले बताइन्।
कलेजमा अध्यापन गराउने शिक्षकहरूको प्रतिनिधित्व गर्दै आफ्नो भनाई राखेका शिक्षक महेश तिम्सिनाले विद्यार्थीहरूको नयाँ यात्रा सुरु भएको र उनीहरूले सेन्ट लरेन्समै आफ्नो भविष्य भेटाउने बताए। कलेजले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्ने बताएका उनले हिजोको दिन र भोलिको चिन्ता छोडेर आजको वर्तमानमा केन्द्रित हुन सुझाए।
कलेजले सेन्ट लरेन्समा अध्ययन गरेर उत्कृष्ट नतिजा पाउन सफल हाल अध्ययनरत विद्यार्थीहरू, सेन्ट लरेन्स बाट अध्ययन गरेर आज विभिन्न क्षेत्रमा स्थापित पूर्व विद्यार्थीहरू, विभिन्न क्लबका नेतृत्वकर्ताहरू र उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरेको थियो। यस क्रममा पूर्व विद्यार्थीहरू बाट डा सञ्जय पण्डित , डा रोशन खड्का, इन्जिनियर शिशिर पन्त, इन्जिनियर प्रफुल्ल गर्तौला, नर्स आकृति घिमिरे, अधिवक्ता सृजा गौतम, सिए शृयश सिंह थापा र बैंकर प्रतिमा सुवेदी सम्मानित भएका थिए। त्यस्तै कीर्तिमानी आरोही निमा तामाङलाई पनि कलेजले सम्मान गरेको थियो।
आफ्नो प्लस टु छनोटको अनुभव बाँड्न मञ्चमा उक्लिएका कक्षा ११ मा भर्खरै भर्ना भएकी छात्र हृदय बस्ताकोटीले अत्यन्तै राम्रो कार्यक्रम मार्फत स्वागत गरेको भन्दै कलेज प्रशासनलाई धन्यवाद दिए । आफ्नो उज्ज्वल भविष्यका लागि लामो र सफल इतिहास भएको कलेज छानेको उल्लेख गरेका उनले सोही मञ्च मार्फत आफूलाई एसइईमा उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण गर्न सफल बनाउने विद्यालय र शिक्षकहरूलाई धन्यवाद दिए । धैर्यता र समर्पण बिना सफल हुन नसकिने धारणा राखेका उनले सेन्ट लरेन्सले आफूहरूलाई शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा बलियो र संवेगात्मक रूपमा सन्तुलित बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा कक्षा ११ मा पढाउने अध्यापकहरू, प्रशासन तथा अन्य कर्मचारीहरूको परिचय विद्यार्थीहरू माझ गराइएको थियो भने सेन्ट लरेन्सको इतिहास, हालसम्मका उपलब्धि र आगामी योजनाहरू पनि प्रस्तुत गरिएको थियो। त्यस्तै प्रधानाध्यापक सुवेदीले विद्यार्थीहरूलाई शपथ खुवाउँदै सेन्ट लरेन्समा स्वागत समेत गरेका थिए।
कार्यक्रमको बिच बिचमा नेपालको विभिन्न भूगोल र संस्कृतिको प्रतिनिधित्व गर्ने सांस्कृतिक नृत्यहरू राखिएको थियो जसले कार्यक्रमलाई अझै विशेष बनाएको थियो। ती प्रस्तुतिहरूमा पनि डोल्पा जिल्लाका नवआगन्तुक विद्यार्थीहरूले प्रस्तुत गरेको डोल्पो नृत्यले सबैको ध्यान खिचेको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा सेन्ट लरेन्स कलेजका अध्यक्ष दंगालले विद्यार्थीले आफ्नो क्षमता चिनेर त्यही अनुसार अघि बढुन् भन्ने कामना गरे। उनले विद्यार्थीको हितका लागि कलेज सधैँ साथमा रहने उल्लेख गरे। उनले ३० औँ ब्याचमा अघिल्ला वर्षको तुलनामा अझ बढी विद्यार्थी र अझ धेरै जिल्लाबाट सहभागिता भएकोमा खुसी व्यक्त गरे। डोल्पाबाट आएको नाच प्रस्तुत गर्ने समूहलाई उदाहरण दिँदै उनले सेन्ट लरेन्सको पहुँच देशका सबै कुनामा फैलिएको प्रस्ट पारे।
विभिन्न आधारहरूले सेन्ट लरेन्स आम कलेजहरू भन्दा फरक भएको उनको दाबी थियो। त्यसलाई पुष्टि गर्न उनले डिआइ नराखिएको, सिंगो सञ्चालक समिति बसेर चलाएको, पैसा लगानी गर्न सक्ने मात्रै नभई पढाउन सक्ने मजबुत एकेडमिक टिमको सञ्चालक समिति रहेको आदि आधारहरू प्रस्तुत गरे। कार्यक्रममा डाक्टर देखि पाइलट सम्म सम्मानित भएको भन्दै उनले भर्खर आएका विद्यार्थीलाई पनि कलेजले त्यस्तै सफल बनाउने प्रतिबद्धता व्यक्त गरे। विद्यार्थीहरू सही यात्रामा रहेको र आफूहरूले उनीहरूलाई गन्तव्यमा पुर्याइछाड्ने उनले बताए। सबै विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना सहित उनले औपचारिक कार्यक्रम समापन गरे
कार्यक्रमको अनौपचारिक सत्रमा अतिथि कलाकार गजुरेलको प्रस्तुति सहित सेन्ट लरेन्सका विद्यार्थीका प्रतिभाले भरपुर विविध प्रस्तुतिहरू देखाइएको थियो।