काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एसइई डान्स च्याम्पियनसिप’ को छैटौँ संस्करण आयोजना हुने भएको छ। हजारौँ नृत्य पारखीहरूलाई उनीहरूको प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्दै आएको यो कार्यक्रमको २०२५ संस्करण आयोजना गर्न लागिएको हो। राजधानीमा हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजकले यस सम्बन्धी जानकारी दिएको हो।
विगतका पाँच संस्करण सफलतापूर्वक सम्पन्न भएको यो कार्यक्रम बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीको आयोजनामा हुने नियमित कार्यक्रम हो। पत्रकार सम्मेलनमा चाबहिल स्थित मनास्लु वर्ल्ड कलेज यस पटकको मुख्य प्रायोजक रहेको र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानसँग सहकार्य गरिएको जानकारी गराइएको थियो।
यो राष्ट्रिय स्तरको नृत्य प्रतियोगिताको अडिसन देशका विभिन्न ठाउँमा गरिने भएको छ। प्रतियोगिताको काठमाडौँ अडिसन जेठ ३ गते मनास्लु वर्ल्ड कलेज चाबहिलमा हुनेछ भने देशका अन्य विभिन्न ठाउँमा अडिसन लिइनेछ । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी असार ७ गते काठमाडौँमा गर्ने आयोजकको तयारी छ।
प्रतियोगितामा पहिलो हुनेलाई एक लाख, दोस्रो हुनेलाई पचास हजार र तेस्रो हुनेलाई तिस हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै उत्कृष्ट २० जना फाइनलिस्टले ट्रफी, प्रमाणपत्र, आकर्षक उपहारहरू र +२ तहसम्मको पूर्ण छात्रवृत्तिको अवसर प्राप्त गर्नेछन्।
प्रतियोगिताको निर्णायक मण्डलमा प्रेम श्रेष्ठ, नारायण रिजाल, रोहिया महर्जन, शान्ति कठायत र रवी पटेल रहेका छन्। मूल्यांकनमा ८०% निर्णायकहरूको निर्णय र २०% भोटिङलाई आधार बनाइनेछ। प्रतियोगिता प्रि-अडिसन, सेमिफाइनल, फाइनल र डिजिटल अडिसन चरणमार्फत सम्पन्न हुने जानकारी कार्यक्रम निर्देशक सरोज गोदारले दिएका छन्।
कार्यक्रमका परिकल्पनाकार तथा अध्यक्ष महेश गोदार देशभरिका विद्यार्थीहरूको नृत्य प्रतिभाको पहिचान, प्रोत्साहन र छात्रवृत्तिको माध्यमबाट अवसर प्रदानका लागि कार्यक्रम आयोजना गर्न लागिएको बताउँछन्। विगतका पाँच संस्करणमा पनि थुप्रै विद्यार्थीले यो प्रतियोगिता मार्फत महत्त्वपूर्ण अवसर पाएको भन्दै त्यसको निरन्तरता यो वर्ष पनि हुने उनले बताए। नृत्यलाई केवल मनोरञ्जन मात्र नभई सांस्कृतिक, शैक्षिक र व्यावसायिक दृष्टिकोणबाट स्थापित गर्ने लक्ष्य समेत कार्यक्रमले लिएको उनको भनाई छ।
कार्यक्रमको मुख्य प्रायोजक मनास्लु वर्ल्ड कलेजका कार्यकारी अध्यक्ष गेन्द्र लामा कलेजको उद्देश्य नै भोलिका लागि नेतृत्वकर्ता उत्पादन गर्नु रहेको हुँदा आफूहरू यस प्रतियोगिता सँग जोडिएको बताउँछन्। अबको शिक्षा व्यक्तिको प्रतिभा चिन्ने र त्यसलाई विकास गर्नेमा केन्द्रित हुनुपर्छ भन्ने आफूहरूको मान्यता रहेको हुँदा देशभरका नृत्य पारखीहरूलाई अवसर दिने यो प्रतियोगिता सँग जोडिएको उनले बताए। प्यासनलाई प्रोफेसनमा बदल्ने महत्त्वपूर्ण अवसर कार्यक्रमले दिने भन्दै उनले सक्रिय सहभागिताका लागि समेत सबैलाई अनुरोध गरे।
छैटौँ संस्करणमा आयोजकले एक विशेष व्यवस्था समेत गर्न लागेको जनाएको छ। यस पटक देखि मञ्चमा देखिने नृत्यलाई त्यहाँ सम्म ल्याउन पर्दा पछाडि बाट भूमिका खेल्ने कोरियोग्राफरहरुलाई आयोजकले सम्मान गर्न लागेको छ। नगर देखि राष्ट्रिय स्तर सम्मका उत्कृष्ट कोरियोग्राफरहरू, चलचित्र तथा म्युजिक भिडियोमा योगदान गरेका र अन्तर्राष्ट्रिय स्तरमा नेपाली नृत्य चिनाएका मध्येबाट उत्कृष्ट कोरियोग्राफरलाई यस पटक सम्मान गरिनेछ।v