Matra Education बुधबार, भाद्र २४ २०८३

एनआरएनए यूकेको अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीको उम्मेदवारी घोषणा

एनआरएनए यूकेको अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीको उम्मेदवारी घोषणा

  • मात्र एजुकेशन
  • आइतबार, असार २९ २०८२


काठमाडौँ- बेलायतमा बसेर लामो समयदेखि सामाजिक, शैक्षिक र श्रमिक हितका मुद्दामा क्रियाशील रहँदै आएका राजेन्द्र पुडासैनीले एनआरएनए यूकेको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। सन् २०२५–२७ कार्यकालको लागि नेतृत्वको आकांक्षा राख्दै उनले आगामी जुलाई २६ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।

नेपाली नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपाली सम्पत्तिको सुरक्षा, गोर्खा सैनिकको समानताका लागि ऐक्यवद्धता, नयाँ पुस्ताको सहभागिता, नेपाली कला–संस्कृतिको प्रवर्द्धन, विद्यार्थी तथा श्रमिक अधिकारको संरक्षणलगायतका एजेन्डालाई उनले प्रमुख प्राथमिकता दिने बताएका छन्। “एनआरएन अभियानलाई एकतामा बाँध्न सके, जटिल लाग्ने मुद्दासमेत समाधान गर्न सकिन्छ,” उनि भन्छन् ।

नेपालको नुवाकोटबाट २५ वर्षअघि बेलायत गएका पुडासैनी हाल लन्डनमा बसोबास गर्छन्। उनी बेलायतको प्रतिष्ठित विश्वविद्यालयबाट एमबीए तथा बीएस्सी अनर्स गरेर हाल १५ वर्षदेखि एनएचएस (नेशनल हेल्थ सर्भिस) मा कार्यरत छन्। विद्यार्थी जीवनदेखि नै नेतृत्वदायी भूमिकामा रहेका उनले नेपालमा सरस्वती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति भएर काम गरेका थिए।

बेलायतमा पनि उनी ट्रेड युनियन आन्दोलनमा अग्रपंक्तिमा छन्। हाल जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थका सचिव रहेका पुडासैनी यती नेपाली एशोसिएसन यूकेका पूर्व महासचिव र प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्षसमेत रहिसकेका छन्। एनआरएनए अन्तर्राष्ट्रिय समिति सदस्यको रूपमा पनि उनले कार्यकाल बिताइसकेका छन्।

२७ जुलाईमा हुने एनआरएनए यूकेको राष्ट्रिय महाधिवेशनअघि हुने यो निर्वाचन बेलायती नेपाली समुदायमा चासोको विषय बनेको छ। “मलाई विश्वास छ, नेपाली समुदायलाई एकताबद्ध बनाउने प्रयासमा मेरो यात्राले सार्थकता पाउनेछ,” पुडासैनी भन्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड