Matra Education सोमबार, साउन ११ २०८३

आरपिमुनको दशौँ संस्करण आयोजना गर्दै रिलायन्स एजुकेसन नेटवर्क

आरपिमुनको दशौँ संस्करण आयोजना गर्दै रिलायन्स एजुकेसन नेटवर्क

  • मात्र एजुकेशन
  • मंगलबार, साउन २७ २०८२


काठमाडौँ– रिलायन्स एजुकेसन नेटवर्कले रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास (आरपिमुन) को दशौँ संस्करण आयोजना गर्ने भएको छ। मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा नेटवर्कले यस बारे जानकारी दिएको हो। यस वर्षको कार्यक्रम आगामी श्रावण २९ गतेदेखि ३१ गतेसम्म बुढानीलकण्ठ–१०, कपनस्थित रिलायन्स पब्लिक स्कुलमा हुने भएको छ।

सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको यो वार्षिक सम्मेलनमा देशका विभिन्न भागका १३ देखि १८ वर्ष उमेर समूहका २०० विद्यार्थी सहभागी भई कूटनीतिक क्षमता, नेतृत्व विकास र अनुसन्धान सीप अभिवृद्धिको अभ्यास गर्नेछन्। विश्वका ज्वलन्त विषयहरू—जलवायु परिवर्तन, कृत्रिम बौद्धिकताले सक्षम हतियारको नियमन, ऐतिहासिक कन्स्ट्यान्टिनोपलको पतन, भ्रष्टाचार निवारण, जनावरका अङ्ग प्रत्यारोपणका जोखिम, दिगो विकास लक्ष्यमा आर्थिक–सामाजिक समावेशिताको भूमिका तथा सशस्त्र द्वन्द्व र शरणार्थी अधिकार संरक्षण—जस्ता विषयमा सात वटा फरक समिति मार्फत छलफल र समस्या समाधानको अभ्यास गरिनेछ।

सम्मेलनलाई संयुक्त राष्ट्रसंघ नेपालले रणनीतिक साझेदारका रूपमा सहयोग गर्नेछ। उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका पूर्व आवासीय समन्वयक तथा आवासीय प्रतिनिधि विश्व वीर पराजुलीले विशेष सम्बोधन गर्नेछन्। यसपटक काठमाडौँ उपत्यका भित्रका १८ र रुपन्देही, चितवन, धनुषा लगायतका जिल्लाका गरी २२ वटा विद्यालय तथा क्याम्पसका विद्यार्थी सहभागी हुनेछन्। सहभागीहरू निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समिति (DISEC), सामाजिक, मानवतावादी तथा सांस्कृतिक समिति (SOCHUM), ऐतिहासिक संकट समिति (HCC), संघीय संसद् नेपाल (FPN), विश्व स्वास्थ्य संगठन (WHO), अन्तर्राष्ट्रिय प्रेस, संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) र संयुक्त राष्ट्र मानव अधिकार परिषद् (UNHRC) गरी ७ वटा र थप एउटा संघीय संसद् नेपाल (FPN) गरी ८ वटा समितिमा कार्यरत हुनेछन्।

पत्रकार सम्मेलनमा आरपिमुनकी महासचिव प्राश्ना थपलियाले विद्यार्थीहरूका लागि यो ठुलो अवसर भएको बताइन्। सञ्चारकर्मीहरूको जिज्ञासा समाधान गर्ने क्रममा उनले आफू पनि पहिले एकदमै लजाउने स्वभावको भएको स्मरण गरिन्। ‘धेरैलाई यसमा करियर हुन्छ भन्ने नै थाहा हुँदैन। यस्ता सम्मेलनहरूमा भाग लिँदै जाँदा आफ्नो भविष्य देखिन्छ र व्यक्तित्व विकासको ठुलो अवसर पाइन्छ।’ उनले भनिन्। जिम्मेवार भएर मात्रै विद्यार्थीहरू यस्ता कार्यक्रममा सहभागी हुने भन्दै उनले थपिन्, ‘डेलिगेट भएर आएपछि जिम्मेवारी हुन्छ। त्यो निभाउनका लागि पुस्तक र कक्षाकोठाको ज्ञानले मात्रै पुग्दैन त्यसैले खोज्ने र सिक्ने बानीको विकास हुन्छ।’ पछिल्लो समय आरपिमुन तिर स्कुलहरूको ध्यान बढ्दै गएको उनले बताइन्।

पत्रकार सम्मेलनमा रिलायन्स पब्लिकका प्रधानाध्यापक वसन्तलाल लामिछानेले पनि आरपिमुनको महत्त्व बारे चर्चा गरेका थिए।

त्यस्तै रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाले शिक्षण संस्थाका रूपमा आफूहरूले पढ्ने र पढाउने काम मात्रै भन्दा पनि चिन्तन गर्ने र नयाँ कामहरू पनि गर्ने गर्दै आएको बताए। संसारलाई शान्त र सुन्दर ठाउँ बनाउने संयुक्त राष्ट्रसंघको प्रयास जस्तै उद्देश्य कार्यक्रमले पनि बोकेको उनले बताए। अन्तर्राष्ट्रिय स्तरमा समेत रिलायन्सको सहभागिता पुगिसकेको उल्लेख गर्दै उनले अब ती देशहरू बाट समेत प्रतिनिधिहरू ल्याउने प्रयास भइरहेको उल्लेख गरे। रिलायन्समा यस्ता प्रतियोगिताहरूमा भाग लिनेले करोडौँको छात्रवृत्ति पाएर विदेशमा अध्ययन गरिरहेको र केही विद्यार्थी संयुक्त रास्ट्रसंघमै पनि कार्यरत रहेको उनले बताए।

सम्मेलन निर्देशक दिलीप नेपालका अनुसार आरपिमुनले सहभागी विद्यार्थीहरूमा विश्व राजनीति, समाज, भूगोल र अर्थतन्त्रबारे गहिरो बुझाइ र व्यावहारिक सीप विकास गराउने लक्ष्य राखेको छ। उद्घाटन कार्यक्रम श्रावण २९ गते बिहीबार बिहान १०:३० बजे र समापन समारोह श्रावण ३१ गते शनिवार दिउँसो ३:०० बजे रिलायन्स पब्लिक स्कुलको सभाहलमै हुनेछ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड