Matra Education बुधबार, भाद्र ३ २०८३

आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स एजुकेसन नेटवर्क

आरपिमुनको एघारौँ संस्करण आयोजना गर्दै रिलायन्स एजुकेसन नेटवर्क

  • मात्र एजुकेशन
  • बिहिबार, साउन २८ २०८३


काठमाडौँ– रिलायन्स एजुकेसन नेटवर्कले रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन (आरपिमुन) को एघारौँ संस्करण आयोजना गर्ने भएको छ। बुधवार आयोजित एक पत्रकार सम्मेलनमा नेटवर्कले यस बारे जानकारी दिएको हो। नेटवर्कले यस वर्षको सम्मेलन आगामी श्रावण २९ गतेदेखि ३१ गतेसम्म बुढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आयोजना गर्न लागेको हो।

२०७२ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको वार्षिक सम्मेलनमा देशका विभिन्न भागबाट १३ देखि १८ वर्ष उमेर समूहका २०० विद्यार्थी सहभागी हुनेछन्। सम्मेलनमा सहभागी विद्यार्थीहरूले कूटनीतिक क्षमता, नेतृत्व विकास तथा अनुसन्धान सीप अभिवृद्धिका लागि अभ्यास गर्नेछन्।

सम्मेलनमा विश्वका जल्दा बल्दा विषयहरूमा विभिन्न आठ वटा समितिमार्फत बहस, वार्ता तथा समस्या समाधानको अभ्यास गरिनेछ। मध्यपूर्वको भू–राजनीतिक अवस्था, जारी इजरायल–अमेरिका–इरान द्वन्द्व तथा त्यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पार्ने प्रभाव, जैविक तथा रासायनिक हतियारको नैतिक नियमन, आर्थिक स्थिरताका लागि क्रिप्टोकरेन्सी तथा डिजिटल भुक्तानीको व्यवस्थापनलगायतका विषयमा विद्यार्थीहरूले छलफल गर्नेछन्।

त्यस्तै द्वन्द्वग्रस्त क्षेत्रमा शरणार्थीको कानुनी संरक्षण, कृत्रिम बौद्धिकतासम्बन्धी वातावरणीय पारदर्शिता पहल तथा स्वच्छ ऊर्जाको भविष्य, मानसिक स्वास्थ्यसम्बन्धी विश्वव्यापी प्रतिक्रियालाई सुदृढ गर्ने विषयमा समेत बहस हुनेछ। नेपालसँग सम्बन्धित सीमा व्यवस्थापनका चुनौती, भन्सार नीतिको पुनरावलोकन तथा जारी अध्यादेशहरूको संवैधानिक वैधता र संसदीय जबाफदेहीताका विषयमा समेत विद्यार्थीहरूले छलफल गर्नेछन्।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (UNSC), निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समिति (DISEC/GA1), आर्थिक तथा वित्तीय समिति (ECOFIN/GA2), सामाजिक, सांस्कृतिक तथा मानवीय समिति (SOCHUM/GA3), संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (UNEP), विश्व स्वास्थ्य संगठन (WHO), नेपालको संघीय संसद् (FPN) र अन्तर्राष्ट्रिय प्रेस कर्प्स (IPC) गरी आठ वटा नमुना समिति रहनेछन्।

कार्यक्रमको उद्घाटन श्रावण २९ गते शुक्रवार बिहान ११ बजे पाकिस्तानका लागि नेपालका पूर्वराजदूत तपस अधिकारीले गर्नेछन्। कार्यक्रममा काठमाडौँ उपत्यकाका १८ तथा रुपन्देही, चितवन, धनुषालगायत उपत्यकाबाहिरका जिल्लाका गरी २२ वटा विद्यालय तथा क्याम्पसका विद्यार्थी सहभागी हुनेछन्।

सम्मेलनले विद्यार्थीहरूमा कूटनीतिक क्षमता तथा नेतृत्व विकास गर्नुका साथै अनुसन्धान क्षमता अभिवृद्धि गर्ने र विश्व समाज, राजनीति, भूगोल तथा अर्थतन्त्रबारे गहिरो बुझाइ विकास गराउने अपेक्षा गरिएको छ।

रिलायन्स एजुकेसन नेटवर्कले विद्यार्थीलाई कक्षाकोठाको ज्ञानभन्दा बाहिर गएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक विषयमा अध्ययन, अनुसन्धान, बहस र समस्या समाधानको व्यावहारिक अभ्यास गराउने उद्देश्यले आरपिमुन आयोजना गर्दै आएको जनाएको छ।

सम्मेलन निर्देशक दिलीप नेपालका अनुसार सम्मेलनको समापन समारोह श्रावण ३१ गते आइतबार दिउँसो ३ः३० बजे रिलायन्स पब्लिक स्कुलको सभाहल, बुढानीलकण्ठ–१०, कपनमा हुनेछ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड