काठमाडौँ- चाबहिलस्थित सेन्ट लरेन्स कलेजको आयोजनामा आइटीमा भविष्य बनाउन चाहने विद्यार्थीहरू लक्षित परामर्श कार्यक्रम सम्पन्न भएको छ। ‘सेप योर फ्युचर इन आइटी’ शीर्षकको कार्यक्रममा कक्षा १२ मा अध्ययनरत तथा हालै उत्तीर्ण विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सेन्ट लरेन्स स्कुल/कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्व तथा त्रिभुवन विश्वविद्यालयको सिडिसिएसआइटि विभाग प्रमुख सर्बिन सायमीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा अतिथिका रूपमा इन्भिजन टेक प्रालिका कार्यकारी अध्यक्ष डा. पवन कुमार शर्मा, अनलिमिटेड क्लाउडका सिइओ एलेन बाइलोचन तुलाधर, इन्फाइनाइट कम्प्युटर सोलुसन्सका सिनियर इन्जिनियर सुरेन्द्र केसी रहेका थिए।
त्यस्तै सेन्ट लरेन्सका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जन, प्रधानाध्यापक तारा प्रसाद सुवेदी, विभिन्न विभागका प्रमुख, शिक्षकहरू तथा विद्यार्थीहरूको उपस्थिति कार्यक्रममा रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधानाध्यापक सुवेदीले विद्यार्थीहरूमा प्रविधिप्रतिको चासो र भविष्यप्रतिको विश्वास जगाउन कार्यक्रम आयोजना गरिएको बताए। “आजको युग आइटीको युग हो, त्यसैले देशमै बसेर पनि सम्मानजनक भविष्य निर्माण गर्न सकिन्छ,” सुवेदीले भने।
कार्यक्रममा अतिथिहरूले विद्यार्थीहरूलाई आफ्ना अनुभव, दृष्टिकोण र व्यावसायिक टिप्समार्फत मार्गदर्शन गरे। सिइओ एलेन तुलाधरले “विद्यार्थीमै देशको आशा र भविष्य देखिन्छ” भन्दै ध्यान केन्द्रित गर्न, आत्मनिर्भर बन्न र सिकाइमा निरन्तरता राख्न आग्रह गरे। “नेपालमै बसेर पनि आइटीमा सफल करियर बनाउन सकिन्छ, विदेशमा देखिने चमक पछाडि नदेखिएको सङ्घर्ष हुन्छ,” उनले थपे।
इन्जिनियर सुरेन्द्र केसीले नेपाली आइटी पाठ्यक्रम अहिलेको प्रतिस्पर्धी विश्वस्तरमा सक्षम रहेको उल्लेख गर्दै विद्यार्थीलाई प्रारम्भिक चरणदेखि नै समस्या समाधानमा केन्द्रित हुन प्रेरणा दिए। “आजैबाट ‘डेभलप’, ‘डेलिभर’ र ‘डिजल्भ’ को अभ्यास सुरु गर्नुस्,” उनको सन्देश थियो।
डा. पवन शर्माले आइटी विषय छनोट, कलेजको भूमिका, सीप विकास, इन्टर्नसिप र प्लेस्मेन्ट लगायत करियरका विभिन्न पक्षमा जानकारी दिए। पढाइपछि के गर्ने भन्ने अन्योल हटाउन यस्ता परामर्श कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा प्यानल छलफल सत्र पनि सम्पन्न भएको थियो जहाँ विद्यार्थी र विज्ञहरूसँग प्रत्यक्ष संवाद तथा प्रश्नोत्तर सत्रको व्यवस्था गरिएको थियो।
क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले कार्यक्रममार्फत विद्यार्थीहरूलाई आइटी क्षेत्रमा अवसर देखाउने प्रयास गरिएको उल्लेख गर्दै, भविष्यमा पनि यस्ता व्यावसायिक कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम समापन गर्दै सभापति दंगालले सूचना प्रविधिको महत्त्व र सम्भावनाको चर्चा गर्दै सहभागी सबै वक्ता, विद्यार्थी तथा सहयोगीलाई धन्यवाद दिए। उनले सेन्ट लरेन्सले स्नातक तहमा समेत गुणस्तरीय आइटी शिक्षा प्रदान गर्दै आइरहेको र अनुसन्धान तथा प्रयोगमा जोड दिइने स्पष्ट पारे।
