काठमाडौँ- गुल्मीकी अन्जु जिसी केही दिन अघिसम्म आफ्नो वैदेशिक अध्ययनको सबै प्रक्रिया पुरा गरेर मात्रै गाउँ फर्किने सोचमा थिइन्। अस्ट्रेलिया जानका लागि आवेदन दिएकी उनी मेडिकल र बायोमेट्रिक्सको मिति नपाएपछि भने गाउँ फर्किन बाध्य भइन्। यी दुवै अस्ट्रेलिया जाने नेपाली विद्यार्थीका लागि अनिवार्य कागजात हुन्। दुखेसो पोख्दै मात्र एजुकेसन सँग अन्जु भन्छिन्, “उति टाढा बाट आइयो काम सकेरै जाउला भन्ने थियो, डेट नपाएकाले फर्किनु पर्ने भयो। फेरी आउन दुई दिनको समय लाग्छ। मलाई त समय र पैसा दुवै बढी खर्च हुने भयो”।
अन्जु त एक प्रतिनिधि पात्र मात्रै हुन्। उनी जस्ता सयौँ विद्यार्थीले भोगिरहेको अहिलेको तितो यथार्थ यही नै हो।
तपाईँले आज भर्खरै प्लस टु वा स्नातक तह पढ्दै गरेको एउटा नेपाली विद्यार्थीलाई उसको भविष्यको योजना बारे सोध्नुभयो भने जवाफमा अधिकांशले विदेश अध्ययन दिने गर्छन्। विशेषगरी सहरी क्षेत्रमा यो लहर अझै बढी छ। खासगरी नेपाली शिक्षा प्रणाली व्यवहारिक नहुनु, नेपाली शिक्षाले विश्व श्रम बजारमा प्राथमिकता नपाउनु, प्रयोगात्मक तथा सिपमूलक शिक्षाको कमी हुनेले यो सङ्ख्यालाई बढाएको छ। त्यस्तै अन्तर्राष्ट्रिय स्तरको डिग्री प्राप्त गर्ने, विश्वको संस्कृति तथा श्रम शैली सिक्ने, उच्च स्तरीय जीवनशैली अपनाउने अभिलासाका कारण पनि नेपाली युवा युवतीहरू बिदेसिने गरेका छन्। यसरी बिदेसिने विद्यार्थीहरूको साझा उद्देश्य चाहिँ पढ्दै कमाउने र भविष्यको सुन्दर मार्गचित्र कोर्ने हुने गरेको छ।
कतिपयले यसरी युवायुवतीहरू बिदेसिनु देशका लागि राम्रो नभएको तर्क पनि गर्छन्। तर देशले उपयुक्त विकल्प दिन नसकेको अवस्थामा नागरिकको स्वतन्त्र मौलिक अधिकार प्रयोग गर्नबाट उसलाई रोक्न नहुने अर्कोथरीको तर्क छ। जे होस् देशमै सोचेअनुसारको शैक्षिक विकल्प दिनबाट चुकेको राज्यले अध्ययनका लागि विदेश जाने प्रक्रिया समेत तनावपूर्ण बनाइदिनु आफैँमा दुखलाग्दो पाटो हो।
त्यसो त विदेश अध्ययन गर्न जाने विद्यार्थीले मेडिकल र बायोमेट्रिक्समा मात्रै समस्या भोगेका होइनन्। तनाव र दुखको यो शृङ्खला पहिलो पाइलाबाटै सुरु हुन्छ। तपाईँले बारम्बार पासपोर्ट बनाउने ठाउँमा थामिनसक्नु भिड भयो भन्ने त सुन्नुभएकै होला। अहिले त पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। परिचयपत्रका लागि न्यूनतम एक महिना र पासपोर्टका लागि थप दुई महिना गरेर ३ महिना त विद्यार्थीले एउटा डकुमेन्टका लागि बिताउनु परिरहेको गुनासो विद्यार्थीहरू गर्छन्।
भाषा कक्षा तयारी गर्ने विद्यार्थीहरूले त्यसपछि भाषा परीक्षा दिनुपर्ने हुन्छ। आफूले भनेको समयमा प्रचलित अङ्ग्रेजी भाषा परीक्षाहरू आइएल्टिएस, पिटीइको डेट नपाउने समस्या अर्को साझा समस्या हो।
परामर्श क्षेत्रलाई बुझेका र यो क्षेत्रमा अनुभव हासिल गरेकाहरू अन्य समस्या भन्दा बढी मेडिकल र बायोमेट्रिक्सले दुख दिएको गुनासो गर्छन्। अन्तर्राष्ट्रिय स्तरमा बायोमेट्रिक्स गर्ने चलन नभएको र सम्बन्धित देश छिर्दा विमानस्थलमै गर्ने गरिएको भएपनि नेपालमा जबरजस्त लादिएको उनीहरूको दाबी छ। एकजना विद्यार्थी बराबर ८,००० शुल्क लिएर पनि चाहेको समयमा राज्यले काम गराउन नसकेको उनीहरूको आरोप छ। त्यस्तै मेडिकलका लागि पनि सिमित ठाउँ तोकिएको हुँदा समस्या उत्पन्न भएको हो।

अस्ट्रेलिया जाने नेपाली विद्यार्थीहरूको बायोमेट्रिक्स गर्ने र जापान जाने विद्यार्थीहरूको आवेदन लिने जिम्मा लिएको भिएफएस ग्लोबलले प्रभावकारी काम गर्न नसक्दा समस्या उत्पन्न भएको व्यवसायीहरूको आरोप छ। परामर्श व्यवसायीहरूका छाता सङ्गठनहरूले समेत पटक पटक भिएफएसलाई यो समस्या जानकारी गराएका छन्। तर समस्या जस्ताको त्यस्तै छ।
केही समयअघि मात्रै आफूहरूले यो समस्या आउन सक्छ भनेर सचेत गराएको स्मरण गर्दै राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) का अध्यक्ष सन्तोष प्याकुरेल भन्छन्,” हामीले यो समस्या आउनसक्छ भनेर सम्बन्धित संस्थालाई भेटेरै सजग गराएका थियौँ। नेका, एका र एरि लगायतका संस्थाहरूको प्रतिनिधि सँग चाहिने जति गर्न सकिन्छ र समस्या आउँदैन भनेर प्रतिबद्धता जाहेर गरेको भएपनि व्यवहारमा त्यो देखिएन”।

अन्जु जिसी आफ्नै विद्यार्थी भएको र यस्तै अन्य १५ जना जति विद्यार्थीहरू टाउनहल बाटै बायोमेट्रिक्स डेटको पर्खाइमा रहेको स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फेकन का महासचिव राजु निरौला बताउँछन्। आफूले संस्थाका तर्फबाट समस्या समाधानका लागि अनुरोध गर्दै पटक पटक इमेलमार्फत अनुरोध गरेको भएपनि सुनुवाइ नभएको उनको गुनासो छ। एकाधिकार कायम रहेका कारण यो समस्या उत्पन्न भएको भन्दै उनी जिम्मा लिएको काम समयमै गर्न नसक्ने जो कोहीलाई पनि राज्यले कारबाही गर्नुपर्ने धारणा राख्छन्।
बारम्बार गुनासो आएपछि मङ्गलवार मात्र एजुकेसन को टिम रिपोर्टिङका लागि विभिन्न ठाउँ पुगेको थियो। केशरमहल स्थित एनओसी लिने ठाउँमा लागेको लामो लाइनबाट विद्यार्थीहरूले निरन्तर गुनासो गरिरहेका थिए भने छायाँ सेन्टर स्थित बायोमेट्रिक्स गर्ने ठाउँमा मेला लागेजस्तो भिड थियो।

भिएफएस ग्लोबलले सन्तोषजनक काम नगरेको आरोप छ नि भन्ने प्रश्न हामीले उक्त संस्थालाई राखेका थियौँ। भिएफएस ग्लोबल कि प्रबन्धकले यो आरोप मात्रै भएको बताइन्। मात्र एजुकेसन सँगको संवादमा उनले बाहिर देखिएको भिड तिर औँल्याउँदै एकैचोटि धेरै विद्यार्थीको चाप भएका कारण समस्या उत्पन्न भएको स्विकारिन्। अस्ट्रेलिया जाने विद्यार्थीको एकैचोटि भिड बढेको भन्दै यो समस्या केही समयका लागि मात्रै रहने उनको तर्क थियो। अहिलेको समस्या समाधान गर्नका लागि र भविष्यमा यस्ता समस्या नआओस् भन्नका लागि संस्था गम्भीर रहेको र प्रभावकारी संयन्त्रको छिटै व्यवस्था गरिने प्रतिबद्धता उनले जनाइन्।
केही समय अघि मात्रै एकजना नेपाली विद्यार्थीले समयमै बायोमेट्रिक्स नगरेका कारण अस्ट्रेलियाको भिसा रद्द भएको थियो। यसमा भिएफएस ग्लोबल वा अन्य कसैको कमजोरी नरहेको भए पनि त्यही कारण भिसा रिजेक्ट हुन सक्छ भन्ने प्रस्ट सन्देश दिएको छ। त्यसैले लाखौँ विद्यार्थीको भविष्यको सवाल रहेको यस्तो संवेदनशील विषयमा सम्बन्धित निकाय गम्भीर बन्नु जरुरी छ।
(विशुद्ध शिक्षा क्षेत्रमा मात्रै कलम चलाउँदै आएको मात्र एजुकेसनले शैक्षिक परामर्श क्षेत्रका विविध आयामहरूलाई अब्रोड स्टडी कोलम मार्फत विशेष प्राथमिकताका साथ प्रकाशन गर्दै आएको छ। तपाईँ यहाँ क्लिक गरेर थप सम्बन्धित समाचारहरू पढ्न सक्नुहुन्छ)।