काठमाडौँ- एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) ले अपेन डायनामिक लिडर अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपाल पर्यटन बोर्डको हल, भृकुटीमण्डपमा आयोजित कार्यक्रम अपेनका करिब ३०० सदस्यहरूलाई सम्मानित गर्दै सम्पन्न भएको हो । अपेनका बागमती प्रदेश अध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण कुमार बोहराको अध्यक्षता तथा नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अपेन केन्द्रीय समितिका अध्यक्ष बद्री प्रसाद दाहालले कार्यक्रमको उद्देश्यबारे प्रस्ट पारे। कोरोना महामारी र यस्तै अन्य चुनौतीहरू सँग निरन्तर जुधेर पनि बालबालिकाको शिक्षाका लागि क्रियाशील भएकाले अपेनका सदस्यहरू यो सम्मानको हकदार भएको उनको भनाइ थियो। देशभर करिब ५००० प्रि-स्कुलहरु रहेको, ७००० लाई प्रत्यक्ष रोजगारी दिएको र विशेष गरी महिला उद्यमी जन्माउने संस्था भएका कारण संस्थाले सामाजिक योगदान पनि गरेको उनले बताए। त्यस्तै नेपालमा महिला बालबालिकाको क्षेत्रमा विभेद भएको भन्दै राज्यले मन्टेश्वरी स्कुलहरूलाई हेर्ने आफ्नो नजर परिवर्तन गर्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा मुख्य आकर्षणका रूपमा रहेका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आफूलाई फरक किसिमको अनुभव भएको बताए। अपेनको कार्यक्रममा देखिएको महिला जागरूकताले नेपाली समाज बिस्तारै परिवर्तन हुँदै छ भन्ने सन्देश दिएको उनको आशय थियो। मानव जीवनको विकासका विभिन्न चरणहरूको महत्त्व र त्यसमा मन्टेश्वरी स्कुलहरूले खेल्ने भूमिकाको चर्चा गर्दै प्रिस्कुलले दिने वातावरणले भोलिको कर्णधारहरूको भविष्य निर्धारण गर्ने उनले बताए। मन्त्री पौडेलले निजी र सरकारी भन्नुको कुनै औचित्य नभएको भन्दै मन्त्रालयले निजीलाई पनि प्रोत्साहन नै गर्ने तर सेवा सुविधामा कन्जुस्याइँ गरे कारबाही गर्ने पनि चेतावनी दिए। अपेनले आफ्ना समस्याहरू प्रतिनिधिमूलक रूपमा मन्त्रालयमा ल्याए समाधानका लागि आफू सधैँ तत्पर रहेको भन्दै उनले स्थानीय सरकार र अभिभावकको संघ सङ्गठन सँग सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रम सफलताको शुभकामना दिएर बाहिरिनु अघि अपेनका केही सदस्यहरूलाई उनले सम्मान पनि गरेका थिए।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि अपेनले बालबालिकाको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै अझ सशक्त भएर प्रस्तुत हुन आग्रह गरे। अपेनका स्थानीय निकाय कमिटीहरू मध्येबाट उत्कृष्ट काम गरेको भन्दै अपेन बुढानीलकण्ठ र अपेन टोखा नगर कमिटीलाई विशेष सम्मान गरिएको थियो। त्यस्तै अपेनको ४ वर्षे कार्यकालमा प्रशंसायोग्य काम गरेको भन्दै अपेन बागमती प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कुमार बोहरालाई अपेन डायनामिक पर्सनालिटी अवार्डबाट सम्मानित गरिएको थियो।
कार्यक्रम अन्त्य गर्दै सभापति बोहराले कार्यक्रम संयोजकका रूपमा भएका कमी कमजोरीको जिम्मेवारी लिँदै केही प्राविधिक त्रुटिहरू हुन गएकोमा क्षमायाचना गरे। अपेन दोस्रो महाधिवेशनमा होमिएको भन्दै उनले सबै सदस्यहरूलाई त्यसको तयारीमा लाग्न पनि अनुरोध गरे। बालबालिकाका लागि सामूहिक गुणस्तर निकाल्न अबको अपेन प्रयासरत रहने भन्दै उनले सबैको साथ र सहयोग रहने विश्वास पनि व्यक्त गरे।

शिक्षामन्त्रीलाई प्रमुख अतिथि बनाइएको कार्यक्रममा व्यवस्थापन केही फितलो हुँदा समस्या उत्पन्न भएको थियो। मन्त्रीको हातबाटै अवार्ड लिन चाहने सदस्य धेरै तर मन्त्रीको समय सीमितताका कारण भिड सम्हाल्न आयोजकलाई मुस्किल परेको थियो। भीडका कारण नाम उदघोस गरेकै कतिपय सदस्यहरूलाई मञ्चमा पुग्न समस्या भएको थियो भने कतिपय सदस्यहरू नाम उदघोस नभए पनि मन्त्रीको हातबाट अवार्ड लिन मञ्चमा पुगेका थिए।
कार्यक्रमपछि मात्र एजुकेसन लाई प्रतिक्रिया दिँदै अपेनका केन्द्रीय सचिव उमानाथ निरौलाले ठुलो कार्यक्रम भएका कारण केही चुनौती आउनु स्वाभाविक भएको प्रतिक्रिया दिए। कतिपय चिजहरूलाई चाहँदा चाहँदै पनि निषेध गर्न नसकिने हुँदा ५% समस्या आएको भए पनि कार्यक्रम भव्य रूपमा सम्पन्न भएको उनको भनाइ थियो। आगामी दिनमा अपेनले ती पक्षहरूमा समेत विशेष ध्यान दिने भन्दै त्यसलाई सकारात्मक रूपमा लिन उनले आग्रह गरे।
मात्र एजुकेसन अपेनको उक्त कार्यक्रमको मिडिया पार्टनरका रूपमा रहेको थियो।