काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन, एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को गोकर्णेश्वर नगर समितिको आयोजनामा एक दिने शिक्षण तालिम सम्पन्न भएको छ। आइतबार गोकर्ण राष्ट्रिय सहिद पार्क जगडोल स्थित युनेस्को हलमा विभिन्न विद्यालयका ६० भन्दा बढी शिक्षक शिक्षिकाहरूको सहभागितामा तालिम सम्पन्न भएको हो।
अपेन गोकर्णेश्वरका अध्यक्ष प्रकाश अधिकारीको सभापतित्वमा सम्पन्न तालिम कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले सुन्दर तालिम आयोजनाका लागि आयोजकलाई धन्यवाद दिँदै गरेका थिए। उनले अपेन सँग सहकार्य गर्न नगरपालिका सधैँ तयार रहेको भन्दै सबैले सिकेको कुरा बालबालिकाहरूमा लागू गर्नुपर्ने उल्लेख गरे ।
उक्त कार्यक्रमकी विशेष अतिथि अपेन केन्द्रकी सचिव सम्जना बस्नेतले पनि अपेन गोकर्णेश्वरको सक्रियता प्रति खुसी व्यक्त गर्दै अव अभिभावक शिक्षामा पनि जोड दिनुपर्ने बताइन् । तालिम कार्यक्रमको प्रशिक्षकको रूपमा सोनी पौडेल तामाङ रहेकी थिइन् भने कार्यक्रम संयोजकको रूपमा सजनी रिजाल थिइन्। कार्यक्रममा गोकर्णेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा , पत्रकार सुवास बराइली लगायतको समेत उपस्थिति थियो ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय निजामती सहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देलले गरेका थिए भने कार्यक्रमको उद्घाटन सत्रमा लामो समय शिक्षा सेवामा व्यतीत गरेर भर्खरै अवकाश लिएका वरिष्ठ शिक्षा सेवी गोविन्द बहादुर श्रेष्ठले यस्तो तालिम देख्दा आफूलाई खुसी लागेको बताएका थिए ।