Matra Education शुक्रबार, साउन १५ २०८३

देवानगञ्ज घटनापछि सामाजिक सद्भाव कायम गर्न अपेनको अपिल

देवानगञ्ज घटनापछि सामाजिक सद्भाव कायम गर्न अपेनको अपिल

  • मात्र एजुकेशन
  • शुक्रबार, साउन १५ २०८३


काठमाडौं— एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज क्षेत्रमा हालै भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा बालबालिकाको मनोवैज्ञानिक सुरक्षालाई प्राथमिकता दिन सबैमा हार्दिक अपिल गरेको छ।

शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा अपेनले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापना गर्न सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको विश्वास व्यक्त गरेको छ।

संस्थाले नेपाल विविध जातीय, धार्मिक, भाषिक तथा सांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै विगतका चुनौतीपूर्ण अवस्थाहरूमा नेपाली समाजले आपसी विश्वास, सहिष्णुता, मेलमिलाप र राष्ट्रिय एकताको बलमा अघि बढेको इतिहास स्मरण गराएको छ। वर्तमान परिस्थितिमा पनि संयमता, धैर्यता, आपसी सम्मान र सहअस्तित्वको भावनालाई अझ सुदृढ बनाउन सबै नागरिकको साझा दायित्व रहेको अपेन को भनाइ छ।

प्रारम्भिक बालविकास तथा विद्यालय शिक्षासँग प्रत्यक्ष रूपमा आबद्ध संस्थाका रूपमा अपेन ले यस्ता घटनाले बालबालिकाको मानसिक, भावनात्मक र सामाजिक विकासमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसतर्फ गम्भीर ध्यान दिन आग्रह गरेको छ।

विज्ञप्तिमा समाजमा फैलिने हिंसा, द्वेष, उत्तेजना, भय र विभाजनकारी सन्देशले बालबालिकाको कोमल मनमा गम्भीर असर पार्न सक्ने उल्लेख गर्दै अभिभावक, शिक्षक, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सबै जिम्मेवार पक्षलाई संवेदनशील, संयमित र उत्तरदायी व्यवहार गर्न आग्रह गरिएको छ। सामाजिक सञ्जालमा उत्तेजना फैलाउने सामग्री तथा सन्देशहरू पोस्ट वा प्रसारण नगर्न पनि संस्थाले अनुरोध गरेको छ।

अपेन ले सबै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, शैक्षिक संस्था, सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता र शान्तिपूर्ण सहअस्तित्वको वातावरण निर्माणमा साझा जिम्मेवारी निर्वाह गर्न आह्वान गरेको छ।

अध्यक्ष कृष्णकुमार बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा आजको पुस्ताले प्रदर्शन गर्ने परिपक्वता, संयमता र जिम्मेवार व्यवहारले भोलिको पुस्ताको सामाजिक संस्कार निर्धारण गर्ने उल्लेख गर्दै बालबालिकालाई शान्ति, मानवता, पारस्परिक सम्मान, करुणा र सहिष्णुताको संस्कार प्रदान गर्नु आजको सबैभन्दा ठूलो राष्ट्रिय दायित्व भएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड