काठमाडौँ – विद्यार्थीहरूमा अभिभावकप्रतिको जिम्मेवारी र कर्तव्य बोध विकास गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका वडा नं. २७ को आयोजनामा तथा अन्नपूर्ण माध्यमिक विद्यालयको संयोजनमा ‘अभिभावकप्रति हाम्रो दायित्व’ विषयक अन्तर–माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
ज्याठा, इनबहाल स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको अन्ना हलमा आज आयोजित प्रतियोगितामा २० विद्यालयका ४० जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामार्फत विद्यार्थीहरूले अभिभावकको योगदान, पारिवारिक मूल्य, जिम्मेवारी तथा सामाजिक उत्तरदायित्वका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।
उक्त वडाका वडाध्यक्ष योगेश कुमार खड्गीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्नपूर्ण माध्यमिक विद्यालयका प्राचार्य चन्द्रप्रकाश राजभण्डारी सहित सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा कान्तिपुर क्याम्पसका निर्देशक कृष्ण नेपाल, शिक्षा पत्रकार तथा मात्र एजुकेसनका सम्पादक रमेश लामिछाने र शिक्षक लिलानाथ चौलागाईं रहेका थिए।
कार्यक्रममा अन्नपूर्ण माध्यमिक विद्यालयका प्राचार्य राजभण्डारीले पछिल्लो समय बढ्दो वैदेशिक पलायनका कारण परिवार र समाजमा देखिएका चुनौतीहरूलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको जानकारी दिए। करियर निर्माणको यात्रामा अभिभावकको भूमिका र योगदानलाई कहिल्यै बिर्सन नहुने सन्देश दिन प्रतियोगिताको विषय छनोट गरिएको उनको भनाइ थियो। उनले प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई शुभकामना दिँदै प्रतिस्पर्धाभन्दा सहभागिता नै महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।
निर्णायक नेपालले विद्यालय स्तरको छनोट पार गर्दै अन्तिम प्रतियोगितासम्म आइपुग्नु नै सहभागीहरूको महत्त्वपूर्ण सफलता भएको बताए। उनले मूल्यांकनका आधार र अंक विभाजनका मापदण्डबारे पनि जानकारी गराएका थिए।
कार्यक्रमका सभापति तथा वडा अध्यक्ष योगेश कुमार खड्गीले यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। उनले वडा कार्यालयको प्राथमिकता विद्यार्थीहरूको क्षमता विकास र सिर्जनशील अभिव्यक्तिलाई प्रोत्साहन गर्नु रहेको बताए।
प्रतियोगितामा अन्नपूर्ण माध्यमिक विद्यालयकी समीक्षा भण्डारी प्रथम हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गर्न सफल भइन्। त्यसै गरी भानु माध्यमिक विद्यालयकी क्रिस्तिका सापकोटा द्वितीय हुँदै ८ हजार रुपैयाँ, टोडलर्स एकेडेमीकी सिवाना ढुंगेल तृतीय हुँदै ६ हजार रुपैयाँ प्राप्त गरिन्।
अन्नपूर्ण माध्यमिक विद्यालयकी सरिश्मा कटवाल र सुवास गुरुकुलकी एलिना बल सान्त्वना स्थान हासिल गर्दै जनही ४ हजार रुपैयाँ पुरस्कारबाट सम्मानित भएका थिए।
आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा अभिभावकप्रतिको सम्मान, जिम्मेवारी र कर्तव्य बोधबारे सकारात्मक चेतना अभिवृद्धि गर्नुका साथै प्रभावकारी अभिव्यक्ति क्षमता विकासमा समेत सहयोग पुर्याएको छ।