Matra Education आइतबार, साउन १० २०८३

कक्षा ११ का नव आगन्तुक विद्यार्थीका लागि टेक्सास कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

कक्षा ११ का नव आगन्तुक विद्यार्थीका लागि टेक्सास कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • बिहिबार, जेष्ठ २८ २०८३


काठमाडौँ– टेक्सास इन्टरनेसनल कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कलेजले करिब ११०० नयाँ विद्यार्थीलाई स्वागत गर्दै कलेजका विविध पक्ष, सेवा–सुविधा तथा पालना गर्नुपर्ने नियमबारे जानकारी गराएको हो।

टेक्सास इन्टरनेसनल कलेजका अध्यक्ष भेस राज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा आध्यात्मिक गुरु तथा जीवन विकास विशेषज्ञ एल.पी. भानु शर्मा र विशेष अतिथिका रूपमा उत्प्रेरक वक्ता डा. रविन कटवाल रहेका थिए। कार्यक्रममा टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका चिफ अफ एकेडेमिक्स प्रा. डा. गोविन्द प्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, क्याम्पस प्रमुख डा श्याम सुन्दर श्रेष्ठ सहित अन्य प्रशासकहरू, विभिन्न विभागका विभाग प्रमुखहरू तथा अध्यापकहरूको उपस्थिति थियो। कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थी सहित अन्य प्राज्ञिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।

स्वस्ति वाचन बाट सुरु भएको कार्यक्रममा गायन, नृत्य सहित अन्य विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू समावेश थिए। कार्यक्रम सञ्चालक तथा टेक्ससका एकेडेमिक कोअर्डिनेटर अग्नि लुइँटेलले कलेजको बारेमा विद्यार्थीलाई जानकारी गराउँदै कलेजमा रहुन्जेल पाउने सेवा सुविधा र पालना गर्नुपर्ने नियमहरूका बारेमा जानकारी गराएका थिए। सँगै अध्यापक परिचय कार्यक्रम पनि राखिएको थियो।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक डा. श्रेष्ठले कार्यक्रमका सहभागी विद्यार्थीलाई स्वागत गर्दै टेक्सासले आध्यात्मिक रूपमा सचेत, तीक्ष्ण विवेकी र सीपयुक्त विद्यार्थी उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए। मन्टेश्वरीदेखि मास्टर्स तहसम्मको शिक्षाका लागि टेक्सास उत्कृष्ट शैक्षिक संस्था रहेको उल्लेख गर्दै उनले कुनै विषयको छनोटले मात्र सफलता सुनिश्चित नगर्ने बताए।

उनले विद्यार्थीको मेहनत, लगनशीलता र विषयप्रतिको सकारात्मक दृष्टिकोणले सफलता निर्धारण गर्ने उल्लेख गर्दै सिकाइका लागि कलेजले आवश्यक वातावरण र अवसर प्रदान गर्ने बताए। विज्ञान र व्यवस्थापन संकायप्रति विद्यार्थीको आकर्षण बढ्दो क्रममा रहेको जानकारी दिँदै उनले कुनै पनि विषय आफैँमा कमजोर नहुने र विद्यार्थीले आफूले रोजेको विषयमा निरन्तर मिहिनेत गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा विद्यार्थीलाई कलेजमा अध्ययनका क्रममा पालना गर्नुपर्ने आचारसंहिता, समय व्यवस्थापन तथा शैक्षिक अनुशासनबारे जानकारी प्रदान गरिएको थियो। कलेजमा अनिवार्य विद्यालय पोसाकमा उपस्थित हुनुपर्ने, कलेज समयभन्दा करिब १५ मिनेट अगावै उपस्थित हुनुपर्ने तथा कलेजले आयोजना गर्ने हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउनुपर्ने विषयमा विद्यार्थीलाई अवगत गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका चिफ अफ एकेडेमिक्स आचार्यले विद्यार्थीहरूलाई माध्यमिक शिक्षा परीक्षा पछिको शैक्षिक यात्रा अगाडी बढाउने सन्दर्भमा महत्त्वपूर्ण सुझावहरू दिए। उनले आधा भन्दा बढी विद्यार्थी असफल भएको परीक्षामा सफलता हात पारेर टेक्सास जस्तो संस्थामा अध्ययन गर्न पाउनु गौरवको कुरा भएको भन्दै बधाई दिए। नयाँ अवधारणा खोज्ने र सिकाइका लागि उत्सुक हुने विद्यार्थीलाई टेक्सासले सधैँ सम्मान गर्ने उल्लेख गरेका आचार्यले संसारका सबै सफल मानिसहरूमा अध्ययन गर्ने साझा बानी हुन्छ भन्ने बुझेर पढ्न सुझाव दिए।

टेक्सासमा कक्षा १२ अध्ययनरत विद्यार्थीहरूले पनि कार्यक्रममा आफ्नो अनुभव बाडेका थिए। उनीहरूले टेक्सास आफ्ना विद्यार्थीको सर्वपक्षीय विकास गर्ने र अपेक्षा पुरा गर्न सक्ने शैक्षिक संस्था भएको धारणा राखे। त्यस्तै कक्षा ११ मा नयाँ भर्ना भएका केही विद्यार्थीहरूले टेक्सास आफ्नो रोजाई किन बन्यो र अपेक्षा के छ भन्ने विषयमा आ-आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा विशेष प्रस्तुति दिएका उत्प्रेरक वक्ता डा. रविन कटवालले विद्यार्थीलाई आफूलाई चिनेर आफ्नो लक्ष्यतर्फ अघि बढ्न प्रेरित गरे। उनले विद्यार्थीले उत्कृष्ट शैक्षिक संस्था छनोट गरेको भन्दै अब अध्ययनमा निरन्तर मिहिनेत गर्ने समय आएको बताए।

शिक्षा मानिसलाई महान् बनाउने सबैभन्दा महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै कटवालले शिक्षा ग्रहण गर्न इच्छाशक्ति आवश्यक पर्ने बताए। उनले अध्ययनप्रतिको प्रतिबद्धता र निरन्तर सिकाइको संस्कृतिले मात्रै विद्यार्थीलाई सफलताको मार्गमा अघि बढाउन सक्ने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि शर्माले विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र लक्ष्य पहिचान गरेर शैक्षिक यात्रा अगाडि बढाउन सुझाव दिए। बजारमा विज्ञान, व्यवस्थापन तथा सूचना प्रविधिजस्ता विषयको माग बढे पनि केवल लोकप्रियताका आधारमा विषय छनोट गर्नु उपयुक्त नहुने उनको भनाइ थियो।

विद्यार्थीले आफ्नो ज्ञान, क्षमता र रुचिअनुसार काम गर्न सके सफलता आफैँ पछ्याउने उल्लेख गर्दै शर्माले अरूको प्रभाव वा बजारको प्रवृत्तिभन्दा आफ्नै सोच र निर्णयलाई प्राथमिकता दिन आग्रह गरे। उनले कसैलाई खुसी बनाउनका लागि गरिने कामभन्दा आफू खुसी भएर गरिने कामले राम्रो परिणाम दिने बताए।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति पोखरेलले आफ्ना विद्यार्थीलाई एसइई सम्मको सफलताको लागि बधाई र आगामी दिनका लागि शुभकामना दिए। टेक्सास छनोट गरेर विद्यार्थीहरूले आफूहरू अब्बल छौँ भनेर प्रमाणित गरिसकेको उल्लेख गरेका उनले विद्यालय जाने उमेर समूहका नौ लाख विद्यार्थी स्कुल बाहिर रहेको अवस्थामा पढ्न पाएको हुँदा ती विद्यार्थी भाग्यमानी भएको टिप्पणी गरे। पोखरेलले कलेज भित्र पालना गर्नुपर्ने नियम, टेक्ससले हालसम्म प्राप्त गरेको सफलता र आगामी योजनाको बारे पनि चर्चा गरेका थिए।

कार्यक्रमको अनौपचारिक सत्रमा चर्चित गायिका रचना रिमालको विशेष प्रस्तुति राखिएको थियो भने टेक्सासका विद्यार्थीका प्रतिभाले भरपुर विभिन्न प्रस्तुतिहरू देखाइएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड