काठमाडौँ- चाबहिल स्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बुधवार कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित एक कार्यक्रमका बिच कलेजले आफ्ना विद्यार्थीहरूका लागि कलेज बारे जानकारी गराएको हो। अभिमुखीकरण कार्यक्रम भए पनि स्तरीय प्रस्तुतिहरू तथा गतिविधिहरूले कार्यक्रम उत्साहजनक बनेको थियो।
मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्प्रेरक वक्ता तथा प्रशिक्षक सौरभ लोहनी,पछिल्लो समय युवाहरु माझ अत्याधिक लोकप्रिय रहेको रकहेड ब्याण्ड, प्रसिद्ध गायक कर्ण राज गिरी, जादुगर राजेन्द्र गिरी ‘गुन्द्रुके’ सहित विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू विशेष अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका क्याम्पस प्रमुख राजन श्रेष्ठ, कार्यकारी निर्देशक कुमार मोक्तान सहित सञ्चालक समिति सदस्यहरू, प्रशासक, शिक्षक, शिक्षिका, कर्मचारी, कक्षा १२ मा अध्ययनरत विद्यार्थी सहित कक्षा ११ मा भर्ना भएका १२०० भन्दा बढी नव आगन्तुक विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजको कक्षा १२ मा व्यवस्थापन विषय अध्ययनरत छात्रा अभियान घिमिरेले मनास्लुको बृहत् परिवारमा नयाँ साथीहरूलाई स्वागत गर्न पाउँदा गौरवको महसुस गरेको बताइन्। एक वर्ष अघि आजका नयाँ विद्यार्थी बसेकै ठाउँमा उत्साह लिएर र धक मानेर आफू बसेको स्मरण गर्दै उनले आज आफ्नो निर्णय सही थियो भन्ने महसुस गरेको बताइन् । जीवनको नयाँ यात्रामा एउटा पाइला चाल्दै गरेका विद्यार्थीहरूले सही निर्णय गरेको र मनास्लु बाट निस्किँदा आफ्नो रुचि र क्षमता भएको क्षेत्रको नेतृत्वकर्ता भएर निस्कने उनले उल्लेख गरिन् । मनास्लुले शिक्षित मात्रै बनाउने नभई सर्वपक्षीय विकास गर्ने र ‘लर्नर’ बाट ‘लिडर’ बनाउने उनको भनाई थियो।
अभिमुखीकरण कार्यक्रम र मनास्लु बारे जानकारी गराउँदै कलेजका क्याम्पस प्रमुख श्रेष्ठले उपस्थित अतिथिहरूलाई उपस्थितिका लागि आभार प्रकट गरे। मनास्लु टिमको एकताले बनेको संस्था भएको हुँदा यसको यात्रा लामो रहेको उनको भनाई थियो। जिपिएले मात्रै व्यक्तिको भविष्य निर्धारण गर्न नसक्ने हुँदा जिपिएले मात्तिने र आत्तिने गर्न नहुने उनले बताए। मनास्लुले आफ्ना विद्यार्थी सँग भएका क्षमतालाई विकास गरेर उसको करियर बनाउन मद्दत गर्ने उल्लेख गरेका श्रेष्ठले विद्यार्थीलाई कुनै दिन आफ्नो रोजाई सही रहेछ भनेर गर्व गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे।
कलेजले मिस्टर एण्ड मिस मनास्लु २०२५ का विजेता क्रमशः रोशिन ढकाल र अस्बिन गुरुङलाई सम्मान पत्र सहित सम्मान गरेको थियो। सम्मान ग्रहण पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै मिस मनास्लु विजेता ढकालले मनास्लु आफ्नो स्मृतिमा सदा रहने बताइन्। एउटा विद्यार्थी मात्रै बनेर छिर्दा देखि मिस मनास्लु र ब्रान्ड एम्बेसडर बन्दा सम्मको यात्रा अविस्मरणीय रहेको उल्लेख गरेकी उनले आफ्नो क्षमताको पूर्ण विकास गरिदिएको भन्दै मनास्लु प्रति आभार प्रकट गरिन्।
सामान्यतया अभिमुखीकरण भन्ने बित्तिकै नियमहरू पढाउने अवसरका रूपमा कलेजहरूले लिने भए पनि मनास्लुले भने राष्ट्रिय रूपमा ख्यातिप्राप्त व्यक्तित्वहरू ल्याएर उत्प्रेरणा दिने, मनोरञ्जन गराउने र सफलताका कथाहरू बाँड्ने अवसरका रूपमा यसलाई प्रयोग गरेको थियो। उत्प्रेरक वक्ता सौरभ लोहनीको विशेष प्रस्तुतिले मनास्लु छिरेको पहिलो दिन नै विद्यार्थीहरूलाई आगामी यात्राका लागि ऊर्जा प्रदान गर्दै तयार पारेको थियो।
त्यस्तै कार्यक्रममा प्रस्तुतिका लागि उपस्थित मनास्लुको आफ्नै ब्यान्ड सहित विभिन्न अतिथि ब्यान्ड तथा कलाकारको प्रस्तुति, र्याप देखि दोहोरी सम्मका संगीतको संयोजन, गायन, नृत्य, जादु लगायत प्रस्तुतिहरूले कार्यक्रमलाई अझै रोचक र अर्थपूर्ण बनाएका थिए। कार्यक्रमको सुरुवातमै प्रस्तुत स्वागत नृत्य वास्तवमै जो कोहीको मन जित्ने खालको थियो। अन्य प्रस्तुतिहरू पनि कुनै व्यावसायिक कलाकारको भन्दा कम थिएनन्। यी सबै पक्षहरूले कार्यक्रमलाई रोचक र उत्साहजनक बनाएको थियो।
कार्यक्रममा कक्षा ११ पढाउने अध्यापकहरूको परिचय विद्यार्थीहरू माझ गराइएको थियो भने सह-प्रधानाध्यापक गोपाल श्रेष्ठले कलेजका बारे जानकारी दिँदै के गर्ने, के नगर्ने लगायत विषयहरूमा अभिमुखीकरण गराएका थिए। श्रेष्ठले मनास्लुको आज सम्मका उपलब्धि र आगामी योजनाहरू पनि विद्यार्थीहरू माझ बाँडे।
कार्यक्रममा विभिन्न परीक्षा तथा गतिविधिहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। उक्त अवसरमा ‘मनास्लु एकेडेमिक अचिभमेन्ट अवार्ड’ अन्तर्गत कक्षा ११ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने शीर्ष १० विद्यार्थीलाई सम्मान गरिएको थियो । विभिन्न संकायका ९९७ विद्यार्थीमध्ये सर्वाधिक अंक प्राप्त गरी कलेज टपर बन्न सफल देवेन्द्र दाहाललाई कक्षा १२ अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति, १० हजार रुपैयाँ नगद पुरस्कार, सम्मानपत्र तथा छात्रवृत्ति कार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कलेजका एकेडेमिक डाइरेक्टर शशी केसीले प्रत्येक वर्ष कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई विभिन्न आधारमा सम्मान गरिँदै आएको बताए । उनले यस्ता पुरस्कार तथा छात्रवृत्तिले विद्यार्थीलाई थप मेहनत गर्न र आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम समापन गर्दै मनास्लु वर्ल्ड कलेजका अध्यक्ष तथा कार्यक्रमका सभापति लामाले मनास्लु गन्तव्यमा पुगेको नभई त्यस तर्फको यात्रामा रहेको उल्लेख गरे। उनले कार्यक्रम सफल बनाउन लाग्ने सबैलाई धन्यवाद दिँदै नव-आगन्तुक विद्यार्थीलाई कलेजमा स्वागत गरे। लामाले कलेजलाई विश्वास गर्ने १२०० भन्दा धेरै विद्यार्थीलाई धन्यवाद दिँदै त्यो विश्वास गुम्न नदिने प्रतिज्ञा गरे। उनले कठिन समयमा सुरु भएको मनास्लु, यसको मिसन-भिजन, झेलेका चुनौती, पाएको सफलता र आगामी लक्ष्य बारे विस्तृतमा चर्चा गरे। मनास्लुको सफलताको श्रेय सिङ्गो मनास्लु टिमलाई जाने उनको भनाई थियो। कार्यक्रम नै कलेजले गर्ने गतिविधिहरूको प्रतिनिधि भएको हुँदा कार्यक्रममा देखिएका जस्तै गतिविधिहरू वर्ष भरी कलेजमा विद्यार्थीहरूका लागि गर्ने बताउँदै उनले कार्यक्रम अन्त्य गरे।