काठमाडौँ – मन्टेश्वरी तथा प्रि–स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) ले जुन ११ मा मनाइने अन्तर्राष्ट्रिय खेल दिवस (International Day of Play) विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाउन आफ्ना प्रदेश, जिल्ला र पालिका समितिहरूलाई आग्रह गरेको छ।
अपेनका केन्द्रीय अध्यक्ष कृष्णकुमार बोहरा द्वारा जारी सूचनामा खेल बालबालिकाको सर्वाङ्गीण विकासका लागि अत्यन्त महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै दिवसलाई उत्सवका रूपमा मनाउन आग्रह गरिएको छ। सूचनाअनुसार अपेन अन्तर्गतका सम्पूर्ण विद्यालय तथा संस्थाहरूले स्थानीय स्तरमा विभिन्न खेलकुद तथा सिर्जनात्मक गतिविधि सञ्चालन गर्नेछन्।
अपेनले बालबालिकालाई आधुनिक खेलसँगै नेपाली ऐतिहासिक तथा परम्परागत खेलहरूसँग पनि परिचित गराउन विशेष जोड दिएको छ। यसअन्तर्गत चुङ्गी, गट्टा, रुमाल लुकाई, बाघचाल, डण्डीबियो, कबड्डीलगायतका परम्परागत खेलहरू खेलाउने र सहभागिता गराउने कार्यक्रम तय गरिएको छ।
त्यस्तै, खेल गतिविधि सञ्चालनका क्रममा सम्बन्धित विद्यालय तथा संस्थामा अपेनको आधिकारिक ब्यानर अनिवार्य रूपमा प्रदर्शन गर्न र कार्यक्रमका तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा साझेदारी गर्दा अपेनको ब्यानर स्पष्ट देखिने गरी पोस्ट गर्न पनि अनुरोध गरिएको छ।
अपेन केन्द्रीय कार्यसमितिले खेलमार्फत बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई थप सुदृढ बनाउन दिवसलाई प्रभावकारी रूपमा मनाउन सबै मातहतका समितिहरू र विद्यालयहरूलाई समन्वयात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
