काठमाडौँ – चाबहिलस्थित टेक्सास इन्टरनेशनल कलेजको आयोजनामा ‘ट्रान्सफर्मिङ हाइयर एजुकेसन प्र्याकटिस इन नेपाल’ विषयक दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। जुन ७ र ८ गते सम्पन्न सम्मेलनमा उच्च शिक्षाको रूपान्तरण, अनुसन्धान–आधारित शिक्षण र शैक्षिक सुधारका विषयमा विस्तृत छलफल गरिएको थियो।
सम्मेलनको उद्घाटन सत्र टेक्सास इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष भेषराज पोखरेलको अध्यक्षतामा तथा विश्वविद्यालय अनुदान आयोग (यूजीसी) का डा. केदारप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले नेपाली कक्षाकोठामा सिकाइ विज्ञानको प्रभावकारी प्रयोगबारे मुख्य प्रस्तुति दिएका थिए।
दोस्रो दिन नेपाल खुला विश्वविद्यालयका प्रा. डा. भोजराज घिमिरे र तान्जानियाको सेन्ट जोन्स विश्वविद्यालयका प्रा. जेम्स डेनियल चिन्देन्ग्वीकेले उच्च शिक्षाको विकास र रूपान्तरण सम्बन्धी विषयमा प्रवचन प्रस्तुत गरेका थिए। कार्यक्रममा शैक्षिक नेतृत्व, नीति निर्माण तथा अनुसन्धान क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा टेक्सासका प्राचार्य डा श्यामसुन्दर श्रेष्ठ, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, एकेडेमिक्स प्रमुख प्रा डा गोविन्दप्रसाद आचार्य लगायत प्रशासक तथा अध्यापकहरूको उपस्थिति रहेको थियो।
सम्मेलनमा प्रमाण–आधारित शिक्षण, अनुसन्धानमुखी कक्षा अभ्यास, संकाय विकास र शैक्षिक उत्कृष्टता जस्ता विषयमा कार्यपत्र प्रस्तुतिका साथै गहन छलफल गरिएको थियो। मुख्य आकर्षणका रूपमा अनुसन्धान प्रशासन र शिक्षणलाई अनुसन्धानसँग जोड्ने विषयमा प्यानल छलफल पनि सम्पन्न भएको थियो।
विभिन्न प्राविधिक सत्रहरूमा मल्टिमिडिया शिक्षण, निरन्तर व्यावसायिक विकास, तथा परम्परागत ज्ञानलाई आधुनिक शिक्षासँग जोड्ने विषयमा कार्यपत्र प्रस्तुत गरिएका थिए। साथै समूहगत छलफलमार्फत सम्मेलनका निष्कर्षहरू संकलन गर्दै यूजीसीलाई सिफारिस समेत गरिएको छ।
सम्मेलनले नेपालको उच्च शिक्षालाई अनुसन्धानमुखी, नवप्रवर्तनशील र विश्वव्यापी प्रतिस्पर्धी बनाउन प्रमाण–आधारित शिक्षण रणनीति, संकाय विकास र शैक्षिक सुधारमा जोड दिएको छ।
सम्मेलनपछि मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सास इन्टरनेशनल कलेजका प्राचार्य डा श्यामसुन्दर श्रेष्ठले भने, “टेक्सासले स्थापनाकालदेखि नै शैक्षिक वातावरण, शैक्षिक उत्कृष्टता र शैक्षिक गतिविधिलाई प्राथमिकता दिँदै आएको छ। हामीले यस सम्मेलनमार्फत नेपालको उच्च शिक्षा प्रणालीलाई स्थानीय आवश्यकता र विश्वव्यापी प्रतिस्पर्धासँग जोड्न सकिने सम्भावित दृष्टिकोणहरू अन्वेषण, साझेदारी र छलफल गर्ने लक्ष्य राखेका छौँ। “आपसी सहकार्य र निरन्तर प्रयासबाट मात्र हामीले शैक्षिक परिवर्तनको परिकल्पना साकार पार्न सक्छौँ भन्ने हाम्रो विश्वास छ।”
श्रेष्ठले नेपालको भविष्य उसको उच्च शिक्षाको गुणस्तरमा निर्भर रहेको र सबै मिलेर समस्या समाधान गर्ने, नवप्रवर्तनशील, समावेशी, अनुसन्धानमुखी तथा विश्वव्यापी रूपमा प्रतिस्पर्धी शैक्षिक संस्थाहरू निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे। उनले टेक्सासले हालसम्म ‘सद्गमया’ पियर–रिभ्यू जर्नलका तीन वटा भोल्युम प्रकाशित गरिसकेको, दुई राष्ट्रिय सम्मेलन तथा ३०औँ आइटीएएम अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको स्मरण गराउँदै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिँदै उच्च शिक्षा र अनुसन्धानको क्षेत्रमा टेक्सास अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।
