काठमाडौँ – मन्टेश्वरी तथा प्रि–स्कुलहरूको छाता संगठन ‘एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) अन्तर्गतका विभिन्न नगर कमिटीहरूले विश्व वातावरण दिवसका अवसरमा विविध जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गर्दै दिवस भव्य रूपमा मनाएका छन्।
हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसको अवसर पारेर अपेनका नगर कमिटीहरूले वृक्षारोपण, सरसफाइ अभियान, वातावरण संरक्षणसम्बन्धी सचेतना कार्यक्रम, बालबालिकामाझ हरियालीको महत्वबारे अन्तरक्रिया तथा समुदायमा वातावरणीय जिम्मेवारीबारे सन्देश प्रवाह गर्ने गतिविधिहरू सञ्चालन गरेका हुन्।
अपेनका अनुसार वातावरण संरक्षण केवल सरकार वा सरोकारवाला निकायहरूको दायित्व मात्र नभई हरेक नागरिकको साझा जिम्मेवारी भएकाले सानै उमेरदेखि बालबालिकामा प्रकृतिप्रतिको माया, संरक्षणको भावना र वातावरणमैत्री व्यवहार विकास गर्न यस्ता कार्यक्रम आयोजना गरिएको हो।
दिवसको अवसरमा अपेन गोदावरी, अपेन कीर्तिपुर, अपेन चाँगुनारायण, अपेन तारकेश्वर, अपेन नागार्जुन तथा अपेन टोखा नगर कमिटीहरूले आ–आफ्ना क्षेत्रमा विभिन्न सिर्जनात्मक तथा सहभागितामूलक कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रमहरूमा प्रि–स्कुल सञ्चालक, शिक्षक–शिक्षिका, अभिभावक तथा बालबालिकाको उल्लेख्य सहभागिता रहेको थियो।
नगर कमिटीहरूले विद्यालय परिसर तथा सार्वजनिक स्थानहरूमा वृक्षारोपण गर्दै हरियाली प्रवर्द्धनको सन्देश दिएका थिए भने कतिपय स्थानमा सरसफाइ अभियान सञ्चालन गरी स्वच्छ वातावरण निर्माणमा समुदायको भूमिका महत्त्वपूर्ण हुने विषयमा जनचेतना फैलाइएको थियो। बालबालिकाहरूलाई वातावरण संरक्षणका आधारभूत अभ्यासबारे जानकारी गराउने उद्देश्यले चित्रकला, सन्देशमूलक प्रस्तुति तथा अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
अपेनका नगर कमिटीका प्रतिनिधिहरूले वातावरणीय चुनौती दिनप्रतिदिन बढ्दै गएको अवस्थामा भविष्यका नागरिकका रूपमा बालबालिकालाई प्रकृतिप्रति जिम्मेवार बनाउनु आवश्यक रहेको बताएका छन्। उनीहरूले जलवायु परिवर्तन, प्रदूषण र हरित क्षेत्रको संरक्षण जस्ता विषयलाई विद्यालय तहदेखि नै व्यवहारिक शिक्षासँग जोड्नुपर्नेमा जोड दिएका छन्।
वातावरण दिवसका अवसरमा नगर कमिटीहरूले सञ्चालन गरेका कार्यक्रमहरूले बालबालिका, अभिभावक तथा समुदायमा वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गरेको भन्दै सहभागीहरूले यस्ता अभियानलाई आगामी वर्षहरूमा अझ व्यापक बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरेका छन्।