Matra Education आइतबार, साउन १० २०८३

टेक्सासको विद्यालय निर्वाचन सम्पन्न, यी हुन् विजयी विद्यार्थीहरू

टेक्सासको विद्यालय निर्वाचन सम्पन्न, यी हुन् विजयी विद्यार्थीहरू

  • मात्र एजुकेशन
  • शुक्रबार, जेष्ठ २२ २०८३


काठमाडौँ- सिफलमा रहेको टेक्सास इन्टरनेसनल स्कुलमा विद्यालय निर्वाचन सम्पन्न भएको छ। शुक्रवार विद्यालय परिसरमा आयोजित मतदान कार्यक्रम मार्फत विद्यालयले विद्यार्थीहरूकै मतमा आधारित रहेर विभिन्न पदमा नेतृत्व गर्ने विद्यार्थीहरूको छनोट गरेको हो।

विद्यालयले निर्वाचन मार्फत स्कुल क्याप्टेन, स्कुल भाइस–क्याप्टेन र ४ सदनको क्याप्टेन, भाइस–क्याप्टेन छनोट गरेको हो।

कार्यक्रम संयोजक तथा विद्यालयका सामाजिक शिक्षक अपूर्व सुवेदीका अनुसार विगत केही वर्ष अघि देखि थालिएको यो अभ्यास मतदान प्रक्रिया, आफ्नो अधिकार, प्रजातन्त्र तथा नेतृत्व शैली बारे प्रयोगात्मक रूपमै सिकाउन उपयोगी देखिएकाले त्यसलाई निरन्तरता दिइएको हो। विद्यालय निर्वाचन भए पनि सबै प्रक्रिया पुरा गरेर देशकै निर्वाचन जस्तो गरिएको उनको भनाई छ।

मुख्य निर्वाचन अधिकृत समेत रहेका विद्यालयका संयोजक लेखराज घिमिरे व्यवहारिक ज्ञान दिनका लागि यस किसिमको कार्यक्रम गर्ने गरिएको बताउँछन्। उनले प्रयोगात्मक र व्यवहारिक ज्ञान सधैँ विद्यालयको प्राथमिकतामा पर्ने हुँदा यो कार्यक्रम त्यसैको निरन्तरता भएको प्रतिक्रिया दिए। विद्यार्थीहरूले सामाजिक विषयमा पढ्दै आएको लोकतन्त्र र निर्वाचन प्रणाली बुझाउन कार्यक्रम सफल हुने उनको विश्वास थियो। विद्यार्थीहरूकै सहभागिता र मुख्य भूमिकामा निर्वाचनका सबै प्रक्रिया सम्पन्न भएको हुँदा उनीहरूलाई कुनै पद प्राप्तिको संघर्ष र त्यो सँगै आउने जिम्मेवारी बोध गराउनु पनि विद्यालय निर्वाचनको उद्देश्य भएको उनको भनाइ छ।

को को भए निर्वाचित ?
बिहान ११ बजे देखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न गर्दै विद्यालयले मतगणना समेत गरेर आजै अन्तिम मत परिणाम सार्वजनिक गरेको छ। मात्र एजुकेसनलाई प्राप्त जानकारी अनुसार निर्वाचनबाट स्कुल क्याप्टेनमा कक्षा १० मा अध्ययनरत प्रणव यादव निर्वाचित भएका छन् भने स्कुल भाइस–क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत प्रिशा सापकोटा विजयी भएकी छिन् ।

त्यस्तै ४ सदनको क्याप्टेन र भाइस-क्याप्टेनको लागि ब्लु हाउस क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत निर्जल श्रेष्ठ र भाइस क्याप्टेनमा कक्षा ७ मा अध्ययनरत शुभम् कुँवर विजयी भएका छन् । ग्रिन हाउसको क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत नीरज कार्की विजयी हुँदा भाइस–क्याप्टेनको पद लिन कक्षा ८ का प्रणव पोखरेल सफल भएका छन्। रेड हाउस क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत विशेष न्यौपाने विजयी भएका छन् भने भाइस क्याप्टेनमा कक्षा ७ मा अध्ययनरत आयुष सिङतान विजयी भएका छन् । यस्तै एल्लो हाउस क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत ऋतिक रोशन शाह र भाइस–क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत उत्कर्ष श्रेष्ठ विजयी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड