काठमाडौँ- सरस्वतीनगर चाबहिल स्थित रिलायन्स कलेजले आयोजना गरेको छैटौँ राष्ट्रव्यापी एसइई खुला निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको छ। कलेजको सभाहलमा बुधवार आयोजित विशेष समारोह मार्फत उनीहरूलाई नगद पुरस्कार तथा छात्रवृत्तिले पुरस्कृत गरिएको हो। देशभरिका सातै प्रदेशका ३७ जिल्लाबाट प्राप्त ४८७ निबन्धमध्ये उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको कलेजले जनाएको छ। विशेष गरी प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्न सफल विद्यार्थी तथा सान्त्वना पुरस्कार पाउन सफल १० जना विद्यार्थी पुरस्कृत भएका हुन्।
कार्यक्रमको सञ्चालन रिलायन्स कलेजका इसिए/सिसिए विभाग संयोजक गोविन्द ढकालले गरेका थिए। सधैँझैँ दुई मिनेटको ध्यानबाट सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य इसिए/सिसिए विभाग सदस्य गजेन्द्र पौडेलले राखे। कार्यक्रममा विभिन्न विजयी विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, विद्यार्थी, अभिभावक, रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक समिति सदस्यहरू तथा अन्य विद्यालयका प्रमुख तथा रिलायन्सका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
मात्र एजुकेसनलाई प्राप्त नतिजा विवरण अनुसार काठमाडौँ जिल्लाको कान्ति भैरव सेकेण्डरी स्कुलका अनुपम भण्डारीले प्रथम स्थान हासिल गर्दै नगद पन्ध्र हजार सहित रिलायन्समै कक्षा ११ पढ्नका लागि भर्ना र ट्युसन फिमा शत प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन्। त्यसै गरी ललितपुरस्थित न्यू क्यासल स्कुलकी विजया लक्ष्मी शर्माले दोस्रो स्थान हासिल गर्दै नगद दश हजार सहित कक्षा ११ अध्ययनका लागि निःशुल्क भर्ना र ९ महिनाको ट्युसन फि छुट प्राप्त गरेकी छन् भने सिन्धुपाल्चोक जिल्लाको तेर्से सेकेण्डरी स्कुलकी राधिका जोतिले तेस्रो स्थान हासिल गर्दै नगद रु ६ हजार सहित कक्षा ११ मा निःशुल्क भर्ना र ६ महिनाको ट्युसन फि छुट प्राप्त गरेकी छन्। सान्त्वना पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूले रिलायन्समा कक्षा ११ पढ्नका लागि दुई महिनाको ट्युसन फि छुट तथा भर्नामा ५०% छुट प्राप्त गरेका छन्।
पुरस्कार ग्रहण गर्दै प्रथम स्थान प्राप्त गरेका अनुपम भण्डारीले प्रतियोगिताले आफूलाई थप आत्मविश्वासी बन्न प्रेरणा दिएको बताए। यस्ता कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिव्यक्त गर्न अवसर प्रदान गर्ने उनको भनाइ थियो।
कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक समिति सदस्य तथा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट राजु कुमार सिवाकोटीले विद्यार्थीकै समग्र विकासका लागि कलेजले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको बताए। पढाइसँगै सीप, प्रतिभा र नेतृत्व विकासमा समेत रिलायन्सले जोड दिँदै आएको उनको भनाइ थियो।
कार्यक्रमको समापन गर्दै कलेजका प्राचार्य रविन्द्र जंग थापाले रिलायन्सले हरेक वर्ष राष्ट्रिय स्तरका कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गरे। विद्यार्थीहरूको लेखन क्षमता, विश्लेषणात्मक सोच तथा व्यक्तित्व विकासका लागि निबन्ध लेखन प्रतियोगिता प्रभावकारी माध्यम बनेको बताउँदै उनले यस्ता कार्यक्रमहरूलाई आगामी वर्षहरूमा अझ व्यापक बनाउँदै लैजाने धारणा राखे।
चाबहिलमा उत्कृष्ट शैक्षिक संस्थाको परिचय बनाउन सफल रिलायन्स इन्टरनेसनल एकेडेमीले प्लस टु का लागि नयाँ भर्ना खुला गरेको छ। प्लस टु मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुनका विषय अध्यापन गराउने यो संस्थाले यो वर्ष बाट सिएको पढाई समेत सुरु गरेको छ। रिलायन्सले स्नातक तहमा बिए, बिबिएस, बिसिए अध्यापन गराउँछ भने स्नातकोत्तर तहमा एमबीएस अध्यापन गराउँछ।