काठमाडौँ- चाबहिल स्थित टेक्सास इन्टरनेसनल सेकेण्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा सहभागी भई उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ। शनिवार मित्रपार्क स्थित गोल्डेन दरबारमा आयोजित एक औपचारिक कार्यक्रमका बिच स्कुलले ‘एसइई ब्याच २०८२’ लाई सम्मान गरेको हो।
टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका नेटवर्कका चिफ अफ एकेडेमिक्स प्रा डा गोविन्द प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा , प्रधानाध्यापक डा श्याम सुन्दर श्रेष्ठ, विद्यालय संयोजक लेखराज घिमिरे, इन्चार्ज राजु पौडेल सहित टेक्सास इन्टरनेसनल स्कुल/ कलेज सँग सम्बन्धित शिक्षक/कर्मचारी/ प्रशासकहरू सहित टेक्सासमा कक्षा १० पढ्दै गरेका र सोही विद्यालय बाट एसइई उत्तीर्ण विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
उपस्थित विद्यार्थीलाई स्वागत गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक डा श्रेष्ठले उत्कृष्ट नतिजा सहित एसइई उत्तीर्ण भएकोमा विद्यार्थीहरूलाई बधाई दिए। यो सफलता बाट मेहनत गरे सफल भइन्छ भन्ने सन्देश लिएर अघि बढ्न सुझाव दिएका उनले आफूमा विश्वास, भगवानमा भरोसा र काममा मेहनत गरे सधैँ सफलता हात पर्ने धारणा राखे। अबको शैक्षिक गन्तव्य छनोटले विद्यार्थीको भविष्य निर्धारण गर्ने हुँदा उचित परामर्श लिएर, बुझेर मात्रै प्लस टु छनोट गर्न उनले सुझाव दिए। श्रेष्ठले आफ्ना विद्यार्थीलाई टेक्सासले आमाले जस्तै माया दिने हुँदा आफ्नै विद्यालयमा प्लस टु पढ्न चाहे विशेष छात्रवृत्ति प्रदान गरिने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा बोल्दै ‘एसइई ब्याच २०८२’ की विद्यार्थी काजोल पोखरेलले आफ्नो सफलताको श्रेय सम्पूर्ण विद्यालय परिवारलाई दिँदै धन्यवाद दिइन्। उनले आफूहरूलाई सिकाउन मेहनत गर्नुहुने शिक्षक शिक्षिकाहरू सबै विशेष सम्मानको हकदार भएको भन्दै देखाएको बाटोमा लागिरहने संकल्प गरिन्। टेक्सासले शैक्षिक रूपमा मात्रै नभई आध्यात्मिक र सांस्कृतिक रूपमा पनि पूर्ण मानव बनाएको उनको भनाई थियो।
त्यस्तै अर्का विद्यार्थी सन्दिप भट्टले टेक्सासमा एसइई सम्मको यो यात्रा रोमाञ्चक रहेको अनुभव सुनाए। उनले विद्यालयमा आफूलाई सबैले धेरै माया गरेको हुँदा काठमाडौँकै सबैभन्दा राम्रो स्कुल टेक्सास हो भन्ने आफ्नो बुझाइ रहेको बताए। पौडेलले टेक्सासमा अध्ययन गर्दाको क्षण सदा स्मरणीय रहने उल्लेख गरे।
टेक्सास नेटवर्कका तर्फबाट चिफ अफ एकेडेमिक्स प्रा डा आचार्यले विद्यार्थीलाई बधाई दिँदै आगामी दिनका लागि सफलताको शुभकामना दिए। नयाँ शैक्षिक यात्रामा अझै धेरै चुनौतीहरू हुने हुँदा सही निर्णय लिएर आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन उनको सुझाव थियो। कार्यक्रममा ‘एसइई ब्याच २०८२’ लाई मायाको चिनो सहित सम्मान गरिएको थियो।
कार्यक्रमको अनौपचारिक सत्रमा टेक्सासका विद्यार्थीका प्रतिभाले भरपुर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै टेक्सासका विद्यालय संयोजक घिमिरेले विद्यार्थी, अभिभावक र शिक्षक/शिक्षिकाहरूको साझा मेहनतका कारण विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्न सकेको बताए। उनले हिजो भन्दा आज नतिजा सुधारिएको र आज भन्दा भोलि अझै राम्रो हुने विश्वास व्यक्त गरे। एसइई पछिको अध्ययनका लागि निर्णय लिनु अघि अध्ययन गरेर, बुझेर मात्रै लिन उनको सुझाव थियो। टेक्सास आफ्नो क्षेत्रमा आज सर्वाधिक लोकप्रिय रहेको उल्लेख गरेका घिमिरेले २१ औ शताब्दीको प्रतिस्पर्धात्मक विश्वमा अब्बल साबित हुनसक्ने जनशक्ति टेक्सासले उत्पादन गर्ने भनाई राखे। उनले उपस्थितिका लागि सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे।