Matra Education आइतबार, साउन १० २०८३

एक्टिभ किड्स गार्डेनको अभिभावक दिवस, व्यवसायिक कलाकारको जस्तो बालबालिकाको प्रस्तुति

एक्टिभ किड्स गार्डेनको अभिभावक दिवस, व्यवसायिक कलाकारको जस्तो बालबालिकाको प्रस्तुति

  • रमेश लामिछाने
  • आइतबार, चैत्र १ २०८२


काठमाडौँ- टोखा-३ स्थित शान्तिबाटिका चोकमा रहेको एक्टिभ किड्स गार्डेनले अभिभावक दिवस सम्पन्न गरेको छ। शनिवार गोंगबु स्थित सौगात पार्टी प्यालेसमा आयोजित एक भव्य कार्यक्रमका बिच शिक्षण सिकाई प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने अभिभावकहरूको सम्मानमा दिवस मनाइएको हो। साना बालबालिकाहरूको फरक र उत्कृष्ट किसिमका प्रस्तुतिहरू प्रदर्शन गर्दै कार्यक्रम सम्पन्न भएको हो।

एक्टिभ किड्स गार्डेन सञ्चालक समितिका अध्यक्ष वासुदेव रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्टेश्वरी तथा प्रि-स्कुलहरुको छाता सङ्गठन अपेनका अध्यक्ष बद्रि प्रसाद दाहाल प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ सहित नगरका विभिन्न वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरू विशेष अतिथिका रूपमा रहेको कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा विद्यालयका विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अभिभावकहरूलाई स्वागत गर्दै विद्यार्थी आरबी अर्यालले अभिभावक दिवसको महत्त्व बारे बताएकी थिइन्। उनले अभिभावकहरूको भूमिकाकै कारण आफूहरूको अस्तित्व रहेको र आजको अवस्थामा आइपुगेको उल्लेख गरिन्।

विद्यार्थीहरूको गायन र नृत्य प्रतिभा मार्फत भरपुर मनोरञ्जन दिँदै अगाडी बढाइएको कार्यक्रममा विभिन्न धर्म, संस्कृति तथा सम्प्रदायको प्रतिनिधित्व गर्दै विद्यार्थीहरू मञ्चमा प्रस्तुत भएका थिए । कार्यक्रम अवधिभर प्रस्तुत गरिएका विभिन्न प्रतिभाहरू सहितको प्रस्तुति मार्फत एक्टिभ किड्स गार्डेनले आफूले दिँदै आएको शिक्षाको प्रतिबिम्ब प्रस्तुत गरेको थियो । विशेस गरी सडक बालबालिका बारे देखाइएको नाटक, समसामायिक विषयको कविता र दोहोरीले सबैको मन जितेको थियो। स- साना बालबालिकाको निर्दोष आवाजमा गायन, नृत्य, कविता, वक्तृत्वकला आदि प्रस्तुत भइरहँदा विद्यालयका अभिभावकहरू उत्साहित देखिन्थे। उनीहरूले आफ्ना बालबालिकालाई राष्ट्रिय कलाकारको झा-झल्को दिने प्रस्तुति दिन सक्षम बनाएको भन्दै विद्यालयलाई धन्यवाद दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी प्रधानाध्यापक शारदा पाण्डेले विद्यालयले वर्ष भरि सिकाएका गतिविधि देखाउने अवसरका रूपमा अभिभावक दिवसलाई लिएको उल्लेख गरिन्। उनले पढाई सँग सँगै बालबालिकालाई आफ्नो संस्कार/संस्कृति प्रति सचेत र समाज तथा राष्ट्र प्रति जिम्मेवार नागरिक बनाउने लक्ष्य विद्यालयले लिएको बताइन्। आजको शिक्षा अभ्यासमा आधारित हुनुपर्छ भन्ने मान्यता बोकेर विद्यालय अगाडी बढिरहेको हुँदा ‘गरेर सिक्ने’ सिद्धान्त अवलम्बन गरिएको उनको भनाई थियो। अभिभावक, विद्यालय र विद्यार्थी तिनै पक्षको उचित सहकार्य बिना शिक्षण सिकाई हुन नसक्ने हुँदा आफ्ना बालबालिकाको लागि उचित समय दिन उनले अभिभावकहरूलाई आग्रह गरिन्।

कार्यक्रममा बोलेका पूर्व विद्यार्थी आरम्भ अधिकारीले आफूले अहिले पढिरहेको विद्यालयमा समेत राम्रो प्रदर्शन गरिरहेको र त्यसको जग एक्टिभ किड्सले बसालिदिएको बताए। उनले विद्यालयमा आउने हरेक विद्यार्थी सक्षम भएर निस्कने धारणा राखे।

अभिभावकहरूको तर्फबाट मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेकी ज्ञानु कार्कीले विद्यालय सँग अभिभावकहरू असन्तुष्ट हुने कुनै ठाउँ नरहेको बताइन्। विद्यालय बाट बाहिरिएका बालबालिकाले नाम चलेका स्कुलहरूमा उत्कृष्ट नतिजा हासिल गर्ने गरेको भन्दै उनले त्यो नै विद्यालयको असली परिचय भएको उल्लेख गरिन्। बालबालिकाहरूलाई संस्कार र अनुशासन सिकाउने कुरामा एक्टिभ किड्स अग्रस्थानमा आउने उनको भनाई थियो। आफ्नो छोराले आज एउटा नाम चलेको स्कुलमा गएर त्यहाँको समेत इज्जत राखेको बताएकी उनले त्यसको जग बसालेको भन्दै सम्पूर्ण श्रेय एक्टिभ किड्सलाई दिइन्। विद्यालय सँग निरन्तर सम्पर्कमा रहन र ढुक्कले आफ्ना बालबालिका पढाउन उनले आम अभिभावकलाई अपिल गरिन्।

विद्यालयलाई शुभकामना दिन मञ्चमा उक्लिएका विशेष अतिथि टोखा नगरपालिकाका उपप्रमुख तामाङले छोटो समयमा गरेको प्रगतिका लागि विद्यालय परिवारलाई बधाई दिए। विद्यालयको अझै बढी प्रगतिको कामना गरेका उनले त्यसका लागि नगरका तर्फबाट गर्नुपर्ने सबै सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए। अबको शिक्षा व्यक्तिमा रहेको प्रतिभा पहिचान गरेर त्यसलाई विकास गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरेका उनले अभिभावकलाई पढ्नु लेख्नु मात्रै सिकाई हो भनेर नबुझ्न आग्रह गरे।

आफ्ना हरेक कार्यक्रमहरूमा सिर्जनात्मकता र रचनात्मक क्षमता प्रदर्शन गर्दै आएको एक्टिभ किड्स गार्डेनले शनिवार पनि त्यसको उत्कृष्ट प्रदर्शन गरेको थियो। विद्यार्थीले अहिलेको बिदेसिने समस्या र पारिवारिक बेमेल बारे वाचन गरेको कविता, बालबालिकाले आज भोगिरहेको समस्या बारे प्रस्तुत नाटक देखि अन्य प्रस्तुतिहरूले बोकेको समसामयिक भावले मञ्चमा त्यसको प्रतिनिधित्व गरेको थियो।

कार्यक्रममा कक्षा तिन उत्तीर्ण गरेका विद्यार्थीहरूलाई दीक्षित समेत गरिएको थियो।

प्रमुख अतिथि भन्छन्; काठमाडौँकै उत्कृष्ट स्कुलहरू मध्ये एक 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले साना बालबालिकाहरूको प्रस्तुति निकै उत्कृष्ट लागेको प्रतिक्रिया दिए। उनले विद्यालयकी प्रधानाध्यापक पाण्डेले आफैँ खटेर सफल नेतृत्व गरिरहेको र त्यसमा शिक्षक/शिक्षिकाहरूको कुशलता अनि मेहनत मिसिँदा छोटो समयमै विद्यालयले लोभलाग्दो सफलता हात पारेको उल्लेख गरे। आफ्नो नाम जस्तै एक्टिभ बालबालिका उत्पादन गरेको भन्दै दाहालले काठमाडौँ उपत्यकाकै केही उत्कृष्ट स्कुल भित्र एक्टिभ किड्स पर्ने बताए। मञ्चमा प्रस्तुत भएका केही प्रस्तुतिहरुको गहिराई बारे चर्चा गरेका उनले विद्यालयले गरेको मेहनत र दिएको संस्कार बाट आफू प्रभावित भएको बताए। अभिभावकहरूको सल्लाह, सुझाव र साथ, सहयोग बिना कुनै पनि शिक्षण संस्था राम्रो हुन नसक्ने भन्दै विद्यालयले गर्ने हरेक गतिविधिमा सरिक हुन उनले अभिभावकहरूलाई आग्रह गरे। दाहालले अपेन केन्द्रीय कमिटी सधैँ विद्यालयको साथमा रहेको भन्दै आगामी दिनमा अझै धेरै प्रगतिको कामना गरे।

कार्यक्रमको अन्त्यतिर अभिभावक र शिक्षकहरुको छुट्टाछुट्टै नृत्यले कार्यक्रमको आकर्षण अझै बढाएको थियो।

कार्यक्रमका सभापति रेग्मीले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए। उनले विद्यालयका शिक्षक/शिक्षिका तथा कर्मचारीहरूको अथक मेहनतका कारण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको भन्दै उनीहरूप्रति आभार व्यक्त गरे। विद्यालयका अभिभावकहरू बाट सधैँ रचनात्मक सल्लाह, सुझावको अपेक्षा रहने बताएका उनले विद्यालय सँग सधैँ नजिक रहन उनीहरूलाई अपिल गरे। रेग्मीले विद्यालयले आउँदा दिनहरूमा रचनात्मक कार्यक्रमहरू अझै गर्दै जाने प्रतिबद्धता सहित कार्यक्रम समापन गरे।

कार्यक्रमलाई कुशल कार्यक्रम सञ्चालक नमिला शाक्यले सञ्चालन गरेकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड