Matra Education आइतबार, साउन १० २०८३

आफ्नो उत्कृष्टता देखाउँदै सेन्ट लरेन्स स्कुलको अभिभावक दिवस सम्पन्न

आफ्नो उत्कृष्टता देखाउँदै सेन्ट लरेन्स स्कुलको अभिभावक दिवस सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, चैत्र १ २०८२


काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स स्कुलले अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ। शनिवार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच स्कुलले अभिभावक दिवस मनाएको हो । एउटा विद्यालयलाई सफल बनाउनका लागि अभिभावकहरूको अहम् भूमिका हुने हुँदा त्यसलाई व्यक्त गर्नका लागि अभिभावकहरू प्रति समर्पित गर्दै दिवस मनाइएको विद्यालय प्रशासनले जनाएको छ।

सेन्ट लरेन्स स्कुलका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालको राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माइला) प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै नेपाल आइडल सिजन-६ की विजेता गङ्गा सोनाम विशेष अतिथिका रूपमा रहँदा प्रोग्रेसिभ एजुकेसन फोरम (पिइएफ) का प्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू सहित अन्य समाजसेवी, शिक्षाकर्मी तथा समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू अतिथिका रूपमा कार्यक्रममा उपस्थित भएका थिए। कार्यक्रममा विद्यालयका प्रशासक, शिक्षक/शिक्षिका, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूको व्यापक उपस्थिति रहेको थियो।

कार्यक्रमलाई औपचारिकता दिँदै स्कुलका सह-प्रधानाध्यापक मुकेश दंगालले स्कुलका विभिन्न गतिविधिहरू बारे उपस्थित अभिभावकहरू माझ जानकारी गराए। उनले यो वर्षको उपलब्धि र आगामी वर्षको योजनाहरू बारे समेत जानकारी दिए।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै सेन्ट लरेन्स स्कुलका निर्देशक तथा कलेजका क्याम्पस प्रमुख प्रिन्सिपल पुरुषोत्तम महर्जनले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए। २०५४ साल देखि +२ बाट सुरु भएको सेन्ट लरेन्सको यात्रामा नेपाल सरकारको नीति अनुरूप स्कुल चाहिले भएपछि ७६ सालबाट स्कुल लेभलको समेत पढाइ सुरु गरेको उनले स्मरण गरे। अभिभावक दिवस भनेको अभिभावकले विद्यार्थीका लागि गरेका सबै त्याग तपस्या बापत विद्यार्थीले आफ्नो क्षमता देखाउने दिन भएको हुँदा यो अभिभावकहरूको दिन भएको उनको भनाइ थियो। जीवनका लागि शिक्षा भन्ने नारासहित विद्यालय अघि बढेको भन्दै उनले आफ्ना विद्यार्थीको सर्वपक्षीय विकासका लागि विद्यालयले अतिरिक्त क्रियाकलाप सहित सबै किसिमका गतिविधिमा जोड दिँदै आएको उल्लेख गरे।

केही समय अघिको जेन्जी आन्दोलन, त्यसपछि देशको अवस्था र शान्तिको खोजी सहितको राष्ट्रभावले भरिएको सुन्दर स्वागत नृत्य सहित सुरुवात भएको कार्यक्रम अवधिभर विद्यार्थीहरूका प्रतिभाले भरपुर विविध प्रस्तुतिहरू राखिएको थियो। बालबालिकाहरूले विभिन्न जातजाति, भाषा संस्कृतिको प्रतिनिधित्व गर्ने भेसभुसामा प्रस्तुत भएर आफ्ना प्रस्तुतिहरू दिइरहँदा उनीहरूका अभिभावकहरू हर्षित र उत्साहित देखिन्थे। कार्यक्रममा गायन, नृत्य, योगा, तेक्वान्दो सहित अन्य विविध मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएको थियो।

कार्यक्रममा वर्षभरी विभिन्न क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने, नियमित उपस्थित हुने र उत्कृष्ट नतिजा पाउने विद्यार्थीलाई विद्यालयले पुरस्कृत गरिएको थियो। यस क्रममा वर्ष विद्यार्थी सम्मान तथा शिक्षक कर्मचारी सम्मान समेत प्रदान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक तारा प्रसाद सुवेदीले सेन्ट लरेन्स स्कुल एउटा संस्था मात्रै नभई ४००० भन्दा बढी सदस्य भएको शैक्षिक परिवार रहेको बताए। विद्यालय विद्यार्थी सङ्ख्याका हिसाबले कम भए पनि गुणात्मक हिसाबले सर्वोत्कृष्ट रहेको बताए। सेन्ट लरेन्स स्कुलले शैक्षिक गतिविधि तथा अतिरिक्त क्रियाकलाप दुवैमा जोड दिँदै आएको उनको भनाई थियो। यो वर्ष विभिन्न विद्यालयमा भएका प्रतियोगिताहरूमा आफ्ना विद्यार्थीले पाएका उपलब्धिहरूको चर्चा गरेका उनले अभिभावकहरूको साथ रहे आगामी वर्ष स्कुललाई अझै उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रमलाई सम्बोधन गरेका विद्यार्थी तथा अभिभावकहरूले क्याम्पस तहमा स्थापित नाम बनिसकेको सेन्ट लरेन्स विद्यालय तहमा पनि त्यही पहिचान कायम गर्ने गरी अगाडी बढिरहेको धारणा राखे। आजको युग सुहाउँदो शिक्षा दिनका लागि प्रयोगात्मक तथा सिपमूलक पद्धति मार्फत शिक्षण सिकाइ गर्दै अर्थपूर्ण काम विद्यालयले गरिरहेको उनीहरूको भनाई थियो। यी अभिभावक तथा विद्यार्थीहरूले सेन्ट लरेन्स स्कुलमा सिकाइको अनुभव सोचे अनुरूप भइरहेको उल्लेख गरे। कार्यक्रममा बोल्ने अन्य सबै वक्ताहरूले पनि सेन्ट लरेन्सले दिँदै आएको गुणस्तरीय र व्यवहारिक शिक्षाको चर्चा गर्दै आगामी दिनमा अझै धेरै सफलताका लागि शुभकामना दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि राईले आफूले पढेको र आफ्नो छोरी अहिले पढिरहेको स्कुल भन्दा सेन्ट लरेन्स स्कुल राम्रो लागेको बताए। एउटा स्कुलको नतिजाले मात्रै भन्दा पनि उसको शैक्षिक विधि, पद्धति र अन्य गतिविधिले उसलाई राम्रो बनाउने बताएका उनले यी सबै पाटोमा सेन्ट लेन्स उत्कृष्ट रहेको बताए। सेन्ट लरेन्सका विद्यार्थीहरूले स्कुलमा लिएको शिक्षाकै जगमा आफ्ना अभिभावक र आफ्नो सपना पुरा गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। व्यवस्थापनको लामो अनुभवका कारण पनि सेन्ट लरेन्सले नवीनतम शिक्षण विधि अवलम्बन गर्ने सकेको बताए। किताबी ज्ञान मात्रै भन्दा पनि पाठ्यक्रम बाहिरको जीवन बुझाउने काम गरिरहेको भन्दै ढुक्क भएर आफ्ना छोराछोरी सेन्ट लरेन्स स्कुलमा पढाउन उनले अभिभावकहरूलाई अपिल गरे।

अतिथि कलाकार सोनामको विशेष प्रस्तुतिले कार्यक्रम मनोरञ्जनात्मक बनेको थियो भने विद्यार्थीहरूको उत्कृष्ट प्रस्तुतिले पनि कार्यक्रम हेर्न लायक बनेको थियो। कार्यक्रमकै अवसरमा ‘सेन्ट लरेन्स एनुअल म्यागेजिन’ को अनावरण गरिएको थियो।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति तथा विद्यालयका अध्यक्ष केशव प्रसाद दंगालले उपस्थित सबै अतिथि तथा अभिभावकहरूलाई धन्यवाद दिए। उनले विद्यालयले संस्कार सहितको शिक्षा दिँदै आएको हुँदा आकारमा सानो भए पनि आफ्नो नारा अनुसारको काम विद्यालयले गर्दै आएको धारणा राखे। विद्यालयले प्रत्येक विद्यार्थीलाई प्रथम बनाएको उनको दाबी थियो। आफ्ना विद्यार्थीको रुचि, क्षमता र प्रतिभा अनुसारको क्षेत्रमा विद्यालयले उनीहरूलाई प्रोत्साहन गरेको हुँदा कार्यक्रममा देखिएको जस्तो कोही गायन, कोही नृत्य, कोही तेक्वान्दो, कोही वाद्यवादन तथा योगामा लाग्ने हुँदा आफ्नो क्षेत्रमा सबै प्रथम भएको उनको भनाइ थियो। सोहिकरण जुन विद्यालयले प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरे पनि सेन्ट लरेन्सले नै ट्रफी ल्याउन सफल भएको उनको दाबी थियो। उनले अभिभावकको निरन्तरको साथ सहयोगकै कारण विद्यालय आज सफलतातिर उन्मुख भएको भन्दै यो साथ निरन्तर रहने अपेक्षा सहित कार्यक्रम अन्त्य गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड