काठमाडौँ- पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले रास्वपालाई असफल हुने छुट नभएको बताएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर-६ बाट विजयी भएका उनले मदताताहरुलाई धन्यवाद दिँदै यस्तो बताएका हुन्।
सोमबार आफ्नो क्षेत्रको मतदाताहरूसँग भेटघाट गर्दै उनले जनताले विश्वास गरेर मत साथै जिम्मेवारी सुम्पिएको भन्दै अब रास्वपालाई असफल हुने छुट नरहेको बताए । मत र विश्वासको कदर गर्दै देशलाई समृद्ध बनाउने पक्षमा लाग्ने प्रतिबद्धता उनले जनाए।
उनले भने,‘जनताले यति विश्वास गरेर मतका साथै जिम्मेवारी सुम्पिनु भएको छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनै पनि हालतमा असफल हुने छुट छैन। तर म के विश्वास दिलाउन चाहन्छु भने तपाईँले दिनुभएको मत वा अपार विश्वासको कदर गर्दै देशलाई समृद्ध बनाउने पक्षमा लाग्ने छौँ।’
रोजगारी सृजना गर्नुपर्ने आज देशको ठुलो चुनौती रहेको भन्दै उनले पार्टीले अबको पाँच वर्षमा १२ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिएको.बताए। संसद्मा रास्वपाको उल्लेखनीय सङ्ख्या भएकाले पुराना काम नलाग्ने कानुन खारेज गर्ने र नयाँ कानुन आवश्यकता अनुसार बनाउन कसैले रोक्न नसक्ने दाबी गरे।
खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका थिए।