Matra Education आइतबार, साउन १० २०८३

पिइएफले वर्षभरि सञ्चालन गरेका प्रतियोगिताहरूमा सेन्ट लरेन्स स्कुल तेस्रो

पिइएफले वर्षभरि सञ्चालन गरेका प्रतियोगिताहरूमा सेन्ट लरेन्स स्कुल तेस्रो

  • मात्र एजुकेशन
  • शनिबार, फाल्गुन १६ २०८२


काठमाडौँ– प्रोग्रेसिभ एजुकेसन फोरम (पिइएफ) ले यस वर्षभरि सञ्चालन गरेका विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमूलक कार्यक्रमहरूमा सेन्ट लरेन्स स्कुल तेस्रो भएको छ। सदस्य विद्यालयहरूले हासिल गरेको समग्र प्रगतिका आधारमा मोक्षदा स्कुल पहिलो, र अनमोल ज्योति स्कुल दोस्रो भएका छन्।

पिइएफ सदस्य विद्यालयहरू बिच आयोजित अन्तर विद्यालय टेबल टेनिस प्रतियोगितामा शुक्रवार सेन्ट लरेन्स स्कुलमा सम्पन्न भएको थियो। सोही कार्यक्रममा यस बारे जानकारी दिइएको हो। फोरम अन्तर्गत यस वर्षको अन्तिम प्रतियोगिताका रूपमा आयोजित उक्त प्रतियोगितामा छात्रातर्फ रुद्रमती पाठशाला र छात्रतर्फ अनमोल ज्योति स्कुलले उपाधि जितेका थिए। छात्रातर्फ मोक्षदा स्कुल दोस्रो र सेन्ट लरेन्स स्कुल तेस्रो भए भने छात्रतर्फ मोक्षदा स्कुल दोस्रो र रुद्रमती पाठशाला तेस्रो स्थानमा रहेका थिए।

फोरमका उपाध्यक्ष मेरमान सुनारको प्रमुख आतिथ्य तथा सदस्य विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा प्रतियोगिता उद्घाटन गरिएको थियो। प्रायोजक विद्यालय सेन्ट लरेन्स स्कुलका अध्यक्ष केशव प्रसाद दंगाल, प्रधानाध्यापक तारा प्रसाद सुवेदी, सह–प्रधानाध्यापक मुकेश दंगाल लगायत उपस्थित थिए। अध्यक्ष दंगाल र प्रमुख अतिथि सुनारले पहिलो खेल खेलेर प्रतियोगिताको शुभारम्भ गरेका थिए।

१० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी तथा रेफ्रीले खेल सञ्चालन गरेका थिए। शुक्रवार साँझ सम्पन्न समापन समारोहमा अखिल नेपाल टेबल टेनिस महासंघका महासचिव कुवेर प्रकाश सिंह, राष्ट्रिय खेलाडी दीक्षा दाहाल लगायतको उपस्थिति रहेको थियो। सेन्ट लरेन्स कलेजका अध्यक्ष दंगाल, क्याम्पस प्रमुख पुरुषोत्तम महर्जन, प्रधानाध्यापक सुवेदी लगायतले विजेताहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।

समारोहमा राष्ट्रिय टेबल टेनिस खेलाडी दाहालले निरन्तर अभ्यास र दृढ इच्छाशक्तिबाट आफू राष्ट्रिय खेलाडी बन्न सफल भएको अनुभव सुनाउँदै विद्यार्थीहरूलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सक्रिय रहन प्रेरित गरिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड