Matra Education आइतबार, साउन १० २०८३

रिलायन्सको पाँचौँ विज्ञान प्रदर्शनी एवं मेला भव्य रूपमा सम्पन्न

रिलायन्सको पाँचौँ विज्ञान प्रदर्शनी एवं मेला भव्य रूपमा सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, फाल्गुन २ २०८२


कार्यक्रम उद्घाटन सत्रको तस्बिर

काठमाडौँ– सरस्वतीनगर, चाबहिलस्थित रिलायन्स एजुकेसन नेटवर्कद्वारा आयोजित पाँचौँ विज्ञान प्रदर्शनी एवं मेला भव्य रूपमा सम्पन्न भएको छ। फागुन १ गते रिलायन्स कलेजको प्राङ्गणमा आयोजित एक भव्य समारोहका बिच उक्त कार्यक्रम समापन गरिएको हो। तीन दिनसम्म सञ्चालन भएको मेलामा ७७ वटा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी स्टलहरू राखिएका थिए भने करिब ५२ वटा विद्यालयबाट ५००० भन्दा बढी विद्यार्थीहरूले अवलोकनात्मक भ्रमण गरेका थिए।

विद्यार्थी केन्द्रित, खोजमूलक तथा सिर्जनात्मक सिकाइ प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त विज्ञान तथा साहित्य मेलाले उपत्यकाभरिका विद्यार्थीहरूलाई वैज्ञानिक सोच, अन्वेषण र प्रयोगात्मक शिक्षासँग जोड्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्र जंग थापाको अध्यक्षतामा सम्पन्न समापन समारोहमा अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. होमबहादुर बानिया प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा रिलायन्सका विभिन्न विभागका प्रमुखहरू, शिक्षक/शिक्षिकाहरू, आमन्त्रित विद्यालयका प्रतिनिधिहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात विज्ञान संकायका संयोजक यादव पाण्डेको स्वागत मन्तव्यबाट गरिएको थियो। त्यसपछि संस्कृति विभाग प्रमुख दामोदर निरौलाले दुई मिनेटको ध्यान गराउँदै मासिक थिमबारे चर्चा गरेका थिए। समापन कार्यक्रम अघि छैटौँ रिलायन्स गायन प्रतियोगिता तथा सूचना प्रविधिसँग सम्बन्धित ह्याकाथन प्रतियोगिता समेत आयोजना गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाले रिलायन्स जस्तो उदाहरणीय संस्थाले यस प्रकारका खोजमूलक तथा विद्यार्थी केन्द्रित कार्यक्रम निरन्तर आयोजना गर्नु अत्यन्त प्रशंसनीय कार्य भएको उल्लेख गरे। उनले यस्ता कार्यक्रमले विद्यार्थीमा वैज्ञानिक दृष्टिकोण विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका सभापति थापाले २०८३ सालमा पनि यही उत्साह र सहभागितालाई कायम राख्दै छैटौँ विज्ञान प्रदर्शनी तथा मेला आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रतिस्पर्धात्मक विश्वमा सिर्जनात्मकता, अनुसन्धान र प्रविधिमैत्री सोच अत्यावश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले भविष्यका सक्षम जनशक्ति तयार गर्न सहयोग पुग्ने धारणा राखे।

विज्ञान प्रदर्शनीको कलेज विधातर्फ ट्रिनिटी कलेज प्रथम भएको थियो भने स्कुल विधातर्फ रिलायन्स इन्टरनेसनल एकेडेमी स्कुल प्रथम भएका थिए। रिलायन्स साइन्स एण्ड आइटी क्लबका सचिव अनुप रायले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा ‘होटेल म्यानेजमेन्ट डिपार्टमेन्ट’ प्रमुख बिबि क्षेत्रीले पनि आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड