Matra Education आइतबार, साउन १० २०८३

स्वागत तथा सम्मानका लागि मनास्लुले गर्‍यो राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम

स्वागत तथा सम्मानका लागि मनास्लुले गर्‍यो राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम

  • मात्र एजुकेशन
  • बिहिबार, माघ २९ २०८२


काठमाडौँ- चुच्चेपाटि चाबहिल स्थित मनास्लु वर्ल्ड कलेजले स्वागत तथा सम्मानका लागि राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम आयोजना गरेको छ। बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक भव्य कार्यक्रमका बिच कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको हो। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेका पाँच जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो भने संस्थाका उत्कृष्ट शिक्षक कर्मचारीहरू समेत सम्मानित भएका थिए। यस्तै मनास्लुले हरेक वर्ष आयोजना गर्ने तिन महत्त्वपूर्ण प्रतियोगिताहरु: ‘मनास्लु आइडल’ , ‘मनास्लु डान्सिङ स्टार’, र ‘मिस्टर एन्ड मिस मनास्लु’ २०८२ को ग्राण्ड फिनाले समेत उक्त अवसरमा सम्पन्न भएको थियो।

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा चर्चित नायिका प्रियंका कार्की, प्रसिद्ध हाँस्य कलाकार बुद्धि तामाङ, शैक्षिक अभियन्ता अभिषेक घिमिरे, सञ्चारकर्मी विश्व लिम्बु, नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बा, समाजसेवी अनन्तराम भेटवाल लगायत विशेष अतिथिका रूपमा रहेका थिए । करिब ३०० भन्दा बढी शैक्षिक संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा रहेको कार्यक्रममा मनास्लुका क्याम्पस प्रमुख राजन श्रेष्ठ, कार्यकारी निर्देशक कुमार मोक्तान सहित बोर्ड अफ डाइरेक्टर, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूको भव्य उपस्थिति रहेको थियो भने शिक्षा क्षेत्र सँग सम्बन्धित विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रममा मनोरञ्जन दिनका लागि तृष्णा गुरुङ एण्ड कोल्याब ब्यान्ड र पछिल्लो समयकी चर्चित गायिका शान्ति श्री परियार उपस्थित रहेका थिए।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै मनास्लुका क्याम्पस प्रमुख श्रेष्ठले विद्यार्थीहरूको क्षमता प्रदर्शन गर्ने र विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरू बाट विद्यार्थीलाई उत्प्रेरित गर्ने अवसरका रूपमा कार्यक्रम आयोजना गरिएको बताए। अबको शिक्षा प्रमाणपत्र मात्रै दिने भन्दा पनि सीपमूलक हुनुपर्ने र मनास्लुले सोही किसिमको काम गर्दै आएको उनको भनाई थियो। श्रेष्ठले विद्यार्थीको सुन्दर भविष्य निर्माणका मनास्लुले कहिल्यै सम्झौता नगर्ने उल्लेख गरे।

विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै स्वागत मन्तव्य राखेकी कक्षा १२ मा कानुन संकाय अध्ययनरत पूर्णिमा रामदान विकले सबैको उपस्थितिले कार्यक्रम भव्य भएको बताइन्। मनास्लुले आधुनिक संसारका चुनौती सामना गर्न सक्ने जनशक्ति उत्पादन गर्ने भएकाले कलेजप्रति गौरव महसुस हुने उनले बताइन्। विभिन्न क्षेत्रका नेतृत्वकर्ताहरू जन्माउने र विद्यार्थीको भविष्य सुरुवात गरिदिने कलेज भएकाले मनास्लुका विद्यार्थी अरू भन्दा फरक भएको उनको भनाई थियो।

कार्यक्रममा आ-आफ्नो क्षेत्रमा अतुलनीय योगदान गरेका पाँच जना विशिष्ट व्यक्तित्वहरूलाई उनीहरूले उक्त क्षेत्रमा खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको थियो। यस अन्तर्गत हास्य कलाकार बुद्धि तामाङलाई मनास्लु कलाकर्मी सम्मान २०८२, सञ्चारकर्मी विश्व लिम्बुलाई मनास्लु सञ्चारकर्मी सम्मान २०८२, राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई मनास्लु खेलाडी सम्मान २०८२, शैक्षिक अभियन्ता अभिषेक घिमिरेलाई मनास्लु शिक्षासेवी सम्मान २०८२ र समाजसेवी अनन्त प्रसाद भेटवाललाई मनास्लु समाजसेवी सम्मान २०८२ प्रदान गरिएको थियो।

यस बाहेक प्रमुख अतिथि श्रेष्ठलाई मनास्लु राष्ट्रिय गौरव सम्मान २०८२ बाट विशेष सम्मान प्रदान गरिएको थियो। त्यस्तै श्रेष्ठले नेपाली कलाकारिता क्षेत्र र समाजलाई दिएको योगदानको कदर गर्दै उनीप्रति समर्पित गायन, नृत्य लगायत प्रस्तुतिहरू देखाइएको थियो। उनको जीवन कहानी समेटिएको एउटा नृत्य मञ्चमा प्रस्तुत भइरहँदा श्रेष्ठले आँखा बाट आँसु रोक्न सकेका थिएनन् भने प्रस्तुतिको अन्त्यमा सिंगो हलले उभिएर प्रस्तुति प्रति सम्मान प्रकट गरेको थियो।

सम्मान ग्रहण पछि कार्यक्रमलाई सम्बोधन गर्दै चर्चित सञ्चारकर्मी लिम्बुले कलेजप्रति आभार व्यक्त गरे। उनले कार्यक्रममा बसेर अवलोकन गरिरहँदा नेपालको भविष्य उपस्थित विद्यार्थीहरूमा देखेको सुनाए। आफ्नो विद्यार्थी जीवनको स्मरण गरेका उनले भोलिका मदनकृष्ण श्रेष्ठहरू कार्यक्रममै देखेको सुनाए। आफ्नो रुचि भएको क्षेत्रमा आजै बाट मेहनत गरेर लाग्न र सफल हुन उनले विद्यार्थीहरूलाई सुझाए।

कार्यक्रमको अनौपचारिक सत्र झनै विशेष बन्न पुगेको थियो। मनास्लुका प्रतिभाशाली विद्यार्थीको प्रस्तुतिले सन्देशमूलक र मनोरञ्जनात्मक बनेको कार्यक्रमलाई शान्ति श्री परियार र तृष्णा गुरुङ एण्ड कोल्याब ब्यान्डको सांगीतिक प्रस्तुतिले तताएको थियो। त्यस्तै प्रियंकाको उपस्थितिले कार्यक्रम झनै रोचक बन्यो। कार्यक्रममा ‘भोइस अफ मनास्लु’ म्यागेजिनको समेत विमोचन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले आफ्नो चर्चित गीत ‘फुल बुट्टे सारी’ गाएर सुनाएका थिए। आफूलाई सम्मानित गरेकोमा कलेजलाई धन्यवाद दिएका उनले आफ्नै बारेको प्रस्तुतिहरू हेर्दा केही बोल्न नसकेको बताए। नेपाली समाज बाट आफूले पाएको माया देखेर छक्क पर्ने गरेको बताएका उनले त्यो माया फिर्ता दिन नसक्ने बताए। भगवानको आशीर्वाद र हरिवंश आचार्यको साथले यहाँ सम्म आइपुगेको बताएका उनले आफ्नो सम्मानमा हरिवशको आधा भाग लाग्ने सुनाए। चुनाव आउन लागेको भन्दै उनले जोस भएको मात्रै होइन होस पनि भएको प्रतिनिधि छान्न अनुरोध गरे।

कार्यक्रम समापन गर्दै सभापति लामाले मनास्लुले दिनभर देखाएको प्रस्तुतिहरू नै संस्थाको परिचय भएको उल्लेख गरे। कलेजले आफ्ना विद्यार्थीलाई राष्ट्रिय स्तरको कार्यक्रम गरिने ठाउँमा ल्याएर कार्यक्रम गर्दा उनीहरूले धेरै कुरा सिक्ने र राष्ट्रिय कलाकार ल्याउँदा कलाकारको पेसागत वृत्ति तथा सम्मान हुने भएकाले पनि कार्यक्रम यसरी गरिएको उनको भनाइ थियो । त्यस बाहेक भावी पुस्ताको नेतृत्व जन्माउने कलेजको उद्देश्य पूरा गर्नमा यस किसिमका कार्यक्रमले सहयोग गर्ने उनको धारणा थियो । लामाले कार्यक्रमलाई राष्ट्रिय स्तरको झल्को दिने गरी सम्पन्न गर्न आ-आफ्नो ठाउँ बाट भूमिका खेल्ने आयोजक सहित उपस्थित सबैलाई एकमुस्ट आभार प्रकट गर्दै कार्यक्रम अन्त्य गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड