काठमाडौँ- बौद्ध टुसाल स्थित कुमारी आवासीय माध्यमिक विद्यालय (केब्स) कलेजको स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ। बुधवार नेपाल पुलिस क्लबको सभाहलमा आयोजित एक भव्य कार्यक्रमका बिच कलेजले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन गरेको हो।
केब्स कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डकी सहसचिव जयन्ती सत्याल प्रमुख अतिथिका रूपमा रहेकी थिइन्। बौद्धनाथ क्षेत्र विकास कोषका कार्यकारी निर्देशक मोहन तामाङ विशेष अतिथि रहेको कार्यक्रममा केब्सका प्रबन्ध निर्देशक राजन श्रेष्ठ, कार्यकारी निर्देशक कुमार मोक्तान लगायत सञ्चालक समिति सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा चर्चित गायिका एलिना चौहानको विशेष प्रस्तुति रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका आमन्त्रित अतिथिहरू सहित केब्सका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो।
‘फर्की आऊ शान्ति तिमी’ बोलको गीतमा गरिएको अर्थपूर्ण नृत्य बाट औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो। जेन्जी आन्दोलन र त्यसपछि देशको समसामयिक अवस्था देखाउँदै नृत्यले शान्त नेपालका लागि अपिल गरेको थियो। नृत्य मार्फत जेन्जी सहिद प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै केब्सका शैक्षिक निर्देशक शशि केसीले केब्स कलेजलाई मनास्लु वर्ल्ड कलेजले आफ्नो स्वामित्वमा लिएको दुई महिनामै भव्य कार्यक्रम गरिएको बताए। मनास्लुको अर्को नयाँ यात्रा केब्स भएको भन्दै उनले आफूहरूको प्राथमिकतामा शैक्षिक सँगै अन्य गतिविधि पनि पर्ने उल्लेख गरे। प्रतिभाहरू उजागर गर्नका लागि मिस्टर एण्ड मिस केब्स जस्ता प्रतियोगिता राखिएको उल्लेख गर्दै उनले अब केब्सका विद्यार्थीको सर्वपक्षीय विकासका लागि काम गरिने बताए।
कार्यक्रममा आफ्नो भनाई राख्दै कक्षा ११ मा अध्ययनरत विद्यार्थी स्वीकृति दाहालले कार्यक्रममा सबैलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताइन्। अतिथिहरूको उपस्थितिले आफू जस्ता विद्यार्थीलाई प्रेरणा मिलेको उल्लेख गरेकी उनले कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिइन् ।
केब्सका प्रबन्ध निर्देशक श्रेष्ठले कोभिडको कठिन समयमा सुरु गरिएको मनास्लुले दोस्रो संस्थाको रूपमा केब्स लिएको बताए। भोलिको नेतृत्वकर्ता उत्पादन गर्ने लक्ष्य सहित सुरु भएको मनास्लुले आफ्ना सबै प्रतिबद्धता पुरा गरेकै कारण आज केब्स पनि लिन सकेको उनको भनाई थियो। अहिलेसम्मको यात्रामा साथ दिने सबैलाई धन्यवाद दिँदै उनले केब्सलई पनि उत्कृष्ट बनाउन त्यस्तै सहयोगको अपेक्षा रहेको बताए। श्रेष्ठले कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए।
कार्यक्रममा मिस्टर एण्ड मिस केब्स २०८२, केब्स आइडल २०८२, केब्स डान्सिङ स्टार २०८२ जस्ता प्रतियोगिताहरूको ‘ग्रान्ड फिनाले’ गरिएको थियो। त्यस्तै उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, सर्वोत्कृष्ट शिक्षक, कर्मचारीहरूलाई सम्मान गरिएको थियो। गायिका चौहानको प्रस्तुति, विश्व दोङ एण्ड ल्हासो ब्याण्ड, मनास्लु ब्यान्ड सहित विभिन्न ब्यान्डको प्रस्तुति र केब्स कलेजका विद्यार्थीका प्रतिभाले भरपुर विविध सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रम अर्थपूर्ण बनेको थियो।
कार्यक्रमकी प्रमुख अतिथि सत्यालले मनास्लुमा सफल भएर आएको व्यवस्थापनले नै केब्स चलाउन लागेको भन्दै बधाई दिइन् । शैक्षिक व्यवस्थापन गर्न सजिलो नहुने भन्दै उनले कलेजमा संलग्न सबैलाई उच्च सम्मान रहेको उल्लेख गरिन्। एउटा शैक्षिक संस्थामा शिक्षक, शिक्षिका, कर्मचारी सबैको भूमिका महत्त्वपूर्ण हुने बताएकी उनले उनीहरूलाई सम्मानित गरेकोमा कलेजलाई धन्यवाद दिइन्। परीक्षाले मात्रै विद्यार्थीको मुल्यांकन हुन सक्दैन भन्नेलाई शिक्षा क्षेत्रमा हुने यस्ता विविध गतिविधिहरूले जवाफ दिने उनको भनाई थियो । सत्यालले विदेश भन्दा देशमै केन्द्रित हुन सुझाव दिइन्। विदेश गए पनि ज्ञान, सिप, दक्षता लिएर स्वदेश फर्कनुपर्ने उनले बताइन्।
कार्यक्रमका सभापति लामाले कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे। मनास्लु टिम अफ इन्टरप्रेनर मार्फत आफूहरूले यसअघि नै स्कुल र कलेज चलाइरहेको, पर्यटनको क्षेत्रमा सहित अन्य क्षेत्रका परियोजनाहरूमा समेत काम गरिरहेको उल्लेख गर्दै उनले त्यसैको निरन्तरता स्वरूप केब्सको व्यवस्थापकीय जिम्मेवारी लिएको बताए। केब्सलाई पनि मनास्लु जस्तै उत्कृष्ट शैक्षिक संस्था बनाउने उनको प्रतिबद्धता थियो।