काठमाडौँ- रिलायन्स इन्टरनेसनल एजुकेसन नेटवर्कको १०० औँ पुस्तक समीक्षा उत्सव कार्यक्रम सम्पन्न भएको छ। कोभिड-१९ महामारीको समयमा सुरु गरिएको पाक्षिक पुस्तक समीक्षा कार्यक्रमको १०० औँ शृङ्खला पुरा भए सँगै एक औपचारिक कार्यक्रम आयोजना गरेर उत्सव मनाइएको हो। शुक्रवार रिलायन्स पब्लिक स्कुलको सभाहलमा आयोजित कार्यक्रममा आज सम्म पुस्तक समीक्षा तथा टिप्पणी गर्नेहरूलाई सम्मान गरिएको हो।
रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार प्रा डा पुरुषोत्तम दाहाल प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा रिलायन्सका सञ्चालक समिति सदस्यहरू, नेटवर्क अन्तर्गत विद्यालयका शिक्षक शिक्षिकाहरू तथा पुस्तक समीक्षा कार्यक्रमको १०० भाग सम्मका समीक्षाकार र टिप्पणीकारहरूको उपस्थिति रहेको थियो।
रिलायन्स संस्कृति विभागका प्रमुख दामोदर निरौलाले दुई मिनेट ध्यान गराएर सुरु गरेको कार्यक्रममा रिलायन्सका सञ्चालक समिति सदस्य राजु कुमार शिवाकोटीले स्वागत मन्तव्य राखेका थिए। उनले पुस्तक समीक्षा कार्यक्रमको महत्त्व, आत्म अध्ययनले दिने फाइदा र पठन संस्कृतिको महत्त्व बारे चर्चा गरे।
कार्यक्रममा १०० औँ पुस्तक समीक्षा अन्तर्गत डा भगवान कोइरालाको हृदय पुस्तक माथि समीक्षा गरिएको थियो। एल्जिना राईले गरेको अर्थपूर्ण समीक्षामा बिरबल राईले टिप्पणी गरेका थिए। लगत्तै उपस्थित दर्शकहरू बाट जिज्ञासा तथा सुझाव लिने काम गरिएको थियो।
रिलायन्सको पुस्तक समीक्षा कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानित समेत कार्यक्रममा गरिएको थियो। कार्यक्रमका सभापति तथा प्रमुख अतिथिले यस किसिमका कार्यक्रमको महत्त्व माथि चर्चा गरेका थिए।