काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स कलेजले विविध कार्यक्रम गर्दै कलेज दिवस मनाएको छ। शुक्रवार सरस्वतिनगर चाबहिलको एवान पार्टी प्यालेसमा आयोजित एक औपचारिक कार्यक्रमका बिच कलेजले आफ्नो स्थापना दिवस मनाएको हो। कार्यक्रममा सेन्ट लरेन्समा अध्ययन गरेर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट शिक्षक तथा कर्मचारीहरू समेत सम्मानित भएका थिए। त्यस्तै अनौपचारिक सत्रमा विविध प्रस्तुतिहरू देखाइएको थियो।
सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन महेन्द्र महर्जन उपस्थित थिए। त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन प्रा.डा शशिधर राम जोशी, नेपाल आइडल सिजन ६ विजेता गंगा सोनाम, प्याब्सन पाँचथरका सदस्य सन्तोष सेलिङ लगायत विशेष अतिथि रहेको कार्यक्रममा कलेजका प्राचार्य पुरुषोत्तम महर्जन, प्रधानाध्यापक तारा प्रसाद सुवेदी सहित अन्य प्रशासकहरू, शिक्षक शिक्षिकाहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधानाध्यापक सुवेदीले सेन्ट लरेन्सको आज सम्मको यात्रा र उपलब्धिहरू बारे चर्चा गरे। कलेजको प्रत्येक ब्याचका विद्यार्थीले शैक्षिक र अतिरिक्त दुवै क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको उनले उल्लेख गरे। कार्यक्रम मार्फत त्यस्तै उपलब्धिहरूलाई प्रोत्साहित गर्न लागिएको उनको भनाइ थियो। सुवेदीले राष्ट्रिय कलाकारको समेत उपस्थिति रहेकाले कार्यक्रम स्मरणीय हुने बताए।

कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कक्षा तथा संकायमा उत्कृष्ट नतिजा प्राप्त गर्ने, वर्षभरिका विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। अझै विशेष त कलेजले नेपाल आइडल विजेता सोनामलाई नगद बिस हजार रुपैयाँ सहित सम्मान गरेको थियो।

कार्यक्रममा छोटो शुभकामना मन्तव्य दिएका विशेष अतिथि प्रा डा जोशीले सम्मानित हुनेहरूलाई बधाई दिए । मानिस जन्मेपछि नै सिकाइ सुरु हुने र जीवनभर त्यो जारी रहने उल्लेख गरेका उनले शिक्षाको महत्वको चर्चा गरे। उनले सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिए।

कलेजका प्राचार्य महर्जनले कार्यक्रम स्वागत तथा बिदाइको मिश्रित भावना हुने समय भएको बताए। कलेजमा उपलब्ध शैक्षिक कार्यक्रमहरूको जानकारी दिएका उनले सेन्ट लरेन्स उच्च शिक्षा सहित स्कुल र फाइनान्स सम्म भएको ठुलो परिवार भएको बताए। खेलकुद तथा अतिरिक्त क्रियाकलाप सबैमा भाग लिनेलाई धन्यवाद दिएका उनले अबको शिक्षाले दिमागमा ज्ञान र हातमा दिनुपर्ने र कलेजले त्यही गर्दै आएको बताए। आजको परिवर्तनशील समय सँग समायोजन हुनसक्ने जनशक्ति उत्पादन गर्ने आफूहरू विद्यार्थीको प्रगतिको सारथि भएको उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि महर्जनले कार्यक्रममा पुरस्कृत तथा सम्मानित हुने सबैलाई बधाई दिए । यो वर्ष सेन्ट लरेन्स बाट त्रिभुवन विश्वविद्यालयमा प्रवेश गर्दै गरेका सबै विद्यार्थीलाई स्वागत गरेका उनले विद्यार्थीको आगामी ४ वर्ष राम्रो होस् भन्ने कामना गरे। त्रिविले ४ वर्षका लागि विद्यार्थी भर्ना लिएको हुँदा त्यो भन्दा बढी नराख्ने उनको भनाई थियो । ४ वर्षमै नतिजा दिएर कार्यक्षेत्र तिर फर्काउने काम गर्ने र त्यसका लागि विश्वविद्यालयले शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका उनले विद्यार्थीको सफलतामा कलेजको सफलता देखिन्छ भन्ने बुझेर काम गर्न कलेजलाई सुझाए।

औपचारिक सत्र समापन गर्दै कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष दंगालले भर्खरै भर्ना भएकालाई स्वागत र सन् २०२० मा भर्ना भएकालाई दीक्षित गरिएको बताए । सम्मानित भएकालाई बधाई दिएका उनले जाँदै गरेका विद्यार्थीलाई कलेजले सधैँ सम्झने बताए। सबै विद्यार्थीको उत्तरोत्तर प्रगतिको कामना गरेका उनले हरेक वर्ष सेन्ट लरेन्समा भर्ना हुने विद्यार्थी बढ्दै गरेको तथ्यांक सुनाए। उनले कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै पहिलो सत्र समापन गरे।

कार्यक्रमको दोस्रो सत्रमा नेपाल आइडल सोनामको सांगीतिक प्रस्तुति सहित सेन्ट लरेन्सका विद्यार्थीका प्रतिभाले भरपुर विभिन्न प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो।
