काठमाडौँ- चाबहिल स्थित टेक्सास एजुकेसन नेटवर्कले एनुअल इसिए तथा स्पोर्ट्स मिट सम्पन्न गरेको छ। नेटवर्कले हरेक वर्ष एक हप्ता सम्म विविध गतिविधिहरू गर्दै सञ्चालन गर्ने एनुअल स्पोर्ट्स मिटको यो वर्षको संस्करण सम्पन्न भएको हो। गत पुस २७ गते उद्घाटन भए पश्चात् सुरु भएको प्रतियोगितात्मक कार्यक्रम हिजो बुधवार कलेज परिसरमा आयोजित एक औपचारिक कार्यक्रम बाट समापन भएको हो। समापन कार्यक्रममा प्रतियोगितात्मक गायन तथा नृत्य प्रतियोगिता पनि राखिएको थियो।
टेक्सास इन्टरनेसनल कलेजका अध्यक्ष भेष राज पोखरेलको सभापतित्व तथा राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेशकी अध्यक्ष जयन्ती सत्यालको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा टेक्सासका एकेडेमिक चिफ प्रा.डा गोविन्द प्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ सहित विभिन्न तहमा कार्यरत प्रशासक तथा शिक्षक कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संगीत तथा नृत्य दुनियाँका चर्चित हस्तिहरू आनन्द कार्की, नारायण रिजाल, सारिका घिमिरे, समान अधिकारीले अतिथि र निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा साता भर सञ्चालन भएका विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुदका प्रतियोगिताहरूका विजयी र उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत पनि गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै टेक्सास इन्टरनेसनल स्कुल/कलेजका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले विद्यार्थीहरूको चौतर्फी विकासका लागि कार्यक्रम आयोजना गरिएको र सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिए। उनले मन्टेश्वरी देखि स्नातकोत्तर तह सम्मका विद्यार्थीहरूले उत्साहजनक रूपमा उल्लेख्य सहभागिता जनाउँदै विभिन्न प्रतियोगिताहरूमा भाग लिएको बताए। टेक्सास इन्टरनेसनलले सधैँ आधुनिक शिक्षा सँगै संस्कार र अध्यात्मवादको संयोजन गर्ने गरेको भन्दै उनले योग, ध्यान र खेलकुद मानव जीवनको अभिन्न अंग भएको उल्लेख गरे। यस किसिमका खेलकुद प्रतियोगिताहरूले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न तयार पार्ने उनको भनाई थियो।
कार्यक्रमकी प्रमुख अतिथि सत्यालले शिक्षा देशको समृद्धिको सूचक भएको र त्यसमा विद्यालयहरूको अहम भूमिका रहेको बताइन्। शिक्षामा प्रभावकारिता ल्याउन सजिलो नभएको बताएकी उनले टेक्सास थुप्रै उतारचढाव पार गरेर यहाँ सम्म आएको उल्लेख गरिन्। शिक्षा सँगै प्रतिभा पहिचान र विकासका टेक्सासले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले आगामी दिनमा अझै बढी सफलता मिलोस् भन्ने शुभकामना दिइन्।
यो पटक एनुअल इसिए तथा स्पोर्ट्स मिटमा विभिन्न १८ वटा प्रतियोगिताहरूमा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। खेलकुदका चर्चित प्रतियोगिताहरू क्रिकेट, फुटसल, ब्याडमिन्टन, टेबल टेनिस लगायत थुप्रै खेलहरूले यो वर्ष पनि निरन्तरता पाउँदा कविता वाचन, फोटोग्राफी, भिडियोग्राफी, सहित गायन र नृत्य प्रतियोगिता, निबन्ध लेखन लगायतका सिर्जनात्मक विधामा पनि प्रतिस्पर्धा गराइएको थियो। पछिल्लो पुस्ताले अत्यधिक रुचाएको इस्पोर्ट्समा समेत टेक्सासले प्रतियोगिताहरू सञ्चालन गरेको थियो। समापन कार्यक्रममा गायन तथा नृत्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा गराइएको थियो भने सबै प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत समेत गरिएको थियो।
समापन कार्यक्रमलाई टेक्सास कलेजका एकेडेमिक कोअर्डिनेटर अग्नि लुइँटेलले कुशलता पूर्वक सञ्चालन गरेका थिए।
