काठमाडौँ — एनएमबि बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौँमा कार्यक्रम सम्पन्न भएको हो। बैंकका सञ्चालक समिति अध्यक्ष, सञ्चालकहरू तथा सेयर धनीहरूको उपस्थितिमा सभा आयोजना गरिएको थियो।
बैंकका सञ्चालक समिति अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न साधारण सभामा सहभागी सेयर धनीहरूले बैंकको समग्र अवस्था, उपलब्धि तथा भावी योजनाबारे आफ्ना मन्तव्य राख्दै विविध विषयमा छलफल गरेका थिए।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयर धनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरिएको छ।
वित्तीय विवरणअनुसार बैंकले हालसम्म २८३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गर्दै २४३ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले देशभर २०२ शाखा, १८४ एटिएम तथा ९ वटा एक्सटेन्सन काउन्टरमार्फत ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।