काठमाडौँ- चुच्चेपाटी चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजमा फुड फेस्टिभल २०२५ भव्य रूपमा सम्पन्न भएको छ। बुधवार मनास्लु हस्पिटालिटि क्लब सँगको सहकार्यमा कलेजले आयोजना गरेको कार्यक्रम आगन्तुकहरूको उत्साहजनक सहभागितामा सम्पन्न भएको हो। प्लस टु तहमा ‘होटेल म्यानेजमेन्ट’ पढिरहेका विद्यार्थीलाई व्यवहारिक र प्रयोगात्मक ज्ञान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्व तथा नेपाली पाँच तारे होटेलको इतिहासमै पहिलो सेफ (गोरखा दक्षिण बाहु पदक विजेता समेत) गोविन्द नरसिंह केसीको प्रमुख आतिथ्यमा आयोजित एक औपचारिक कार्यक्रमका बिच फुड फेस्टिभलको उद्घाटन गरिएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा सेफ्स एसोसिएसन नेपालका अध्यक्ष रेशम कुमार लामा, पूर्व अध्यक्ष रत्न बहादुर थापा सहित यस क्षेत्रका अन्य विशिष्ट व्यक्तित्वहरू रहेका थिए। उद्घाटन कार्यक्रममा मनास्लुका क्याम्पस प्रमुख राजन श्रेष्ठ, कार्यकारी निर्देशक कुमार मोक्तान सहित सञ्चालक समिति सदस्यहरू तथा अध्यापक र विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मनास्लुका क्याम्पस प्रमुख श्रेष्ठले विद्यार्थीको रुचिलाई व्यवसायमा बदल्नका लागि कार्यक्रम आयोजना गरिएको बताए। “हाम्रा विद्यार्थीको प्यासनलाई प्रोफेसनमा बदल्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो”। उनले भने, “नेपाल विश्वकै धेरै खाद्य परिकार विविधता भएको मुलुक हो। हामीले हाम्रो खाद्य संस्कृतिलाई जोगाउँदै विश्वभर ब्राण्डिङ गर्नुपर्ने छ भने यसमा रहेको अपार सम्भावनालाई पनि पहिल्याउनु छ। यो कार्यक्रम त्यसैको सुरुवात हो। भोलिका दिनमा मनास्लुका यी सबै विद्यार्थीहरू उद्यमी बनेको देख्न पाइयोस्।”
फेस्टिभलमा विद्यार्थीहरूले आफैँ तयार पारेका नेपाली स्थानीय परिकार, नेवारी खानाका विशेष व्यञ्जनका साथै विभिन्न सांस्कृतिक पृष्ठभूमिका परिकारहरू राखिएका थिए। त्यसैगरी, तारे होटेल स्तरका मेनु र इटालियन व्यञ्जनहरू पनि समावेश गरिएको थियो जसले आगन्तुकहरूलाई विविध स्वादको अनुभव गराउन सफल भयो। प्रत्येक स्टलमा विद्यार्थीहरूले खाना मात्र नभई, सजावट, प्रस्तुति र आतिथ्य सेवामा पनि उत्कृष्टता देखाएका थिए।
कार्यक्रममा करिब १०० वटा विद्यालयका विद्यार्थीहरू र उनीहरूको अभिभावकहरूलाई विशेष आमन्त्रण गरिएको थियो। कार्यक्रमको आकर्षणका कारण करिब १०,००० भन्दा बढी आगन्तुकहरूले फेस्टिभलको अवलोकन गरेका थिए। आयोजकका अनुसार, यो फेस्टिभलले विद्यार्थीहरूको पाक कला, सृजनशीलता, व्यावसायिक क्षमता र ग्राहक सेवा कौशल प्रदर्शित गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका अध्यक्ष लामाले हरेक क्षेत्रको नेतृत्वकर्ता जन्माउने कलेजको उद्देश्य अनुरूप कार्यक्रम आयोजना गरिएको बताए। कक्षाकोठाको ४ भित्ता बाहिर पनि सिकाई हुन्छ भन्ने मनास्लुको मान्यता रहेको र प्रयोगात्मक शिक्षालाई सधैँ जोड दिँदै आएको हुँदा त्यसैको निरन्तरता स्वरूप कार्यक्रम आयोजित भएको उनको भनाई थियो। लामाले उच्च शिक्षाको जग बसाउँदै गरेका विद्यार्थीलाई ‘हस्पिटालिटि इन्डस्ट्री’ मा भविष्य खोज्न प्रेरित गर्न पनि कार्यक्रम फलदायी हुने धारणा राखे। विद्यार्थीले विभिन्न परिकार बारे खोजी गर्ने, आफैँ तयार गर्ने र बेच्ने काम गर्ने हुँदा यो कार्यक्रमले उनीहरूलाई सिकाई सँगै व्यवसाय तिर पनि आकर्षित गर्ने उनको भनाई थियो।
कार्यक्रममा बोल्ने अतिथिहरूले मनास्लुले राम्रो कार्यक्रमको सुरुवात गरेको भन्दै सफलताको शुभकामना दिए।
कार्यक्रम पश्चात् मात्र एजुकेसनलाई प्रतिक्रिया दिँदै मनास्लु हस्पिटालिटि क्लबका अध्यक्ष अनिश अधिकारीले पहिलो सिजनमै सबै तिर बाट भव्य साथ पाएको भन्दै खुसी व्यक्त गरे। १४ वटै स्टलमा रहेका विद्यार्थीहरूको मुल्यांकन गरिएको र यो कार्यक्रममा राम्रो गर्नेहरू बाट छानेर भविष्यमा विभिन्न अवसरहरू र छात्रवृत्ति प्रदान गर्ने तयारी गरिएको उनले बताए।
आयोजकले फेस्टिभलको सफलतामा विद्यार्थी, शिक्षक, सहकार्य गर्ने संस्थाहरू र आगन्तुक सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता गतिविधिहरू निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
